काठमाडौं- निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ६८ प्रतिशत पुगेको छ। आयोजनाअनुसार हालसम्म वित्तीय प्रगति भने ५८ प्रतिशत रहेको छ।
पाँच वर्षको निर्माण अवधि (६० महिना) निर्धारण गरिएको उक्त आयोजना ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (ईपीसी) मोडलमा अघि बढाइएको छ। यस मोडलअन्तर्गत डिजाइन, स्वीकृति र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायीकै रहने व्यवस्था गरिएको छ।
आयोजना सम्पन्न भएपछि आगामी पाँच वर्षसम्म सम्बन्धित ठेकेदार कaम्पनीले नै सञ्चालन, मर्मतसम्भार तथा सुरक्षाको जिम्मा लिनेछ। त्यसपछि थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डीएलपी) लागु हुने आयोजनाले जनाएको छ।
आयोजनाका प्रमुख राजेश पौडेल का अनुसार आगामी सेप्टेम्बरसम्म सुरुङमार्गमार्फत सवारी सञ्चालनमा ल्याउने लक्ष्यसहित काम तीव्र पारिएको छ।
उनका अनुसार प्रारम्भिक चरणमा केही कानूनी तथा प्राविधिक जटिलताका कारण आयोजनाको गति प्रभावित भएको थियो। नेपालमा ईपीसी मोडलको नयाँ अभ्यास भएकाले डकुमेन्टेसन, रुख कटान अनुमतिमा ढिलाइ तथा बजेट व्यवस्थापनसम्बन्धी समस्याले असर पारेको उनले बताए।
हाल ती समस्याहरू समाधानको क्रममा रहेको तथा म्याद थप (ईओटी) र माइलस्टोन समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। पौडेलले भने, 'हामी अहिले चौथो वर्षको निर्माण अवधिमा छौँ। आउँदो सेप्टेम्बरसम्म इलेक्ट्रो-मेकानिकल जडान तथा सुरक्षाका सम्पूर्ण उपाय सुनिश्चित गरी सुरुङबाट सवारी साधन सञ्चालन गर्ने लक्ष्य छ।'
सुरुङमार्गसँगै एप्रोच सडक (मेन रोड १ र २) मा ‘रिजिड पेभमेन्ट’ गर्ने कार्यको स्वीकृति समेत प्राप्त भइसकेको छ। सुरुङभित्रबाट यातायात सञ्चालन भएपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ तथा ‘स्लोप प्रोटेक्शन’ (भीर संरक्षण) का काम गरिनेछ।
पैदल यात्रुका लागि रकसेडभित्रको बाटो प्रयोगमा ल्याइने तथा बाहिरी भागबाट खानेपानी व्यवस्थापन गरिने योजना रहेको आयोजनाले जनाएको छ। आयोजनाको प्रारम्भिक लागत अनुमान करिब १० अर्ब रुपैयाँ भए पनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब ७ अर्ब रुपैयाँमा सम्झौता भएको थियो।
सिद्धार्थ राजमार्गअन्तर्गतको यो खण्ड अत्यन्त जोखिमयुक्त मानिन्छ। त्यसैले यात्राको दूरी घटाउनु भन्दा पनि पहिरोजन्य जोखिमबाट जनधनको क्षति रोक्नु र सुरक्षित यात्रा सुनिश्चित गर्नु नै सुरुङमार्गको मुख्य उद्देश्य रहेको आयोजनाले स्पष्ट पारेको छ।