काठमाडौं- नेपाल विद्युत प्राधिकरणको वित्तीय सूचकहरूमा आम्दानी वृद्धि भए पनि नाफामा गिरावट देखिएको छ। एकै आर्थिक वर्षमा प्राधिकरणको कुल आम्दानी करिब १ खर्ब ४० अर्ब रुपैयाँ पुगेको भए पनि खुद नाफा भने १५ प्रतिशतले घटेको छ।
आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) मा प्राधिकरणको वित्तीय सूचकांक मिश्रित देखिएको छ। उक्त वर्ष कुल सञ्चालन आम्दानी करिब १ खर्ब ३९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ११ प्रतिशत वृद्धि हो। कन्सोलिडेटेड आधारमा कुल आम्दानी करिब १ खर्ब ४० अर्ब ७ करोड रुपैयाँ पुगेको छ।
राजस्व वृद्धिको मुख्य आधार आन्तरिक विद्युत खपत मानिकएको र यो करिब १० प्रतिशत वृद्धि भएको छ। तर विद्युत निर्यातबाट हुने आम्दानी भने करिब ३ प्रतिशतमात्र वृद्धि भएको छ।
आम्दानी बढेपनि खुद नाफा भने घटेको छ। स्ट्यान्डअलोन आधारमा प्राधिकरणले करिब ८ अर्ब ९१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको करिब १० अर्ब ५३ करोड रुपैयाँभन्दा करिब १५ प्रतिशत कम हो। कन्सोलिडेटेड आधारमा नाफा करिब ८ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष यो करिब ८ अर्ब ५९ करोड रुपैयाँ थियो।
प्राधिकरणको पुँजी संरचनामा विस्तार देखिएको छ। सन् २०२५ मध्यसम्म यसको इक्विटी पुँजी करिब २१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ भने नेट वर्थ करिब २५ अर्ब ८० करोड रुपैयाँ रहेको छ।
ऋण दायित्व पनि क्रमशः बढ्दै गएको देखिएको छ। स्ट्यान्डअलोन आधारमा कुल ऋण करिब २२ अर्ब ६० करोड रुपैयाँ पुगेको छ, जसले नेट वर्थको तुलनामा १.०७ गुणा ऋण-नेट वर्थ अनुपात देखाउँछ। कन्सोलिडेटेड आधारमा यो अनुपात १.०९ गुणासम्म पुगेको छ। यो अघिल्ला वर्षहरूमा करिब ०.९३ र ०.९५ मात्र थियो।
त्यस्तै कुल बाह्य दायित्व र नेट वर्थ अनुपात पनि स्ट्यान्डअलोन आधारमा १.४३ गुणाबाट बढेर १.७० गुणासम्म पुगेको छ भने कन्सोलिडेटेड आधारमा १.७५ बाट बढेर १.९५ गुणासम्म पुगेको छ। जसले दायित्व संरचना विस्तार भइरहेको देखाउँछ।
सञ्चालन दक्षता मापन गर्ने ओपीबीआईटिडीए अनुपात स्ट्यान्डअलोन आधारमा २१ प्रतिशतबाट बढेर २५ प्रतिशतसम्म पुगेको छ भने कन्सोलिडेटेड आधारमा करिब २५ प्रतिशत रहेको छ, जसले सञ्चालन स्तर स्थिर रहेको संकेत गर्छ।
तर ऋण-ओपीबीआईटिडीए अनुपात भने अझै उच्च छ। कन्सोलिडेटेड आधारमा यो करिब ९.८६ गुणासम्म पुगेको छ। यसले ऋण भार उच्च रहेको देखाउँछ।
ब्याज तिर्ने क्षमता मापन गर्ने ब्याज कभरेज अनुपात स्ट्यान्डअलोन आधारमा ४.०६ गुणाबाट बढेर ५.२१ गुणासम्म पुगेको छ, जुन सकारात्मक संकेत हो। तर कन्सोलिडेटेड आधारमा भने यो अनुपात ४.३७ बाट घटेर ३.९६ गुणामा झरेको छ। यसले प्राधिकरणको समूहगत वित्तीय दबाब देखाउँछ।
कार्यशील पुँजीको अवस्था पनि कमजोर बन्दै गएको छ। स्ट्यान्डअलोन आधारमा नेट वर्किङ क्यापिटल सञ्चालन आम्दानीको ५२ प्रतिशतबाट घटेर २६ प्रतिशतमा पुगेको छ भने कन्सोलिडेटेड आधारमा ४७ प्रतिशतबाट घटेर २३ प्रतिशतमा सीमित भएको छ।
एए प्लस रेटिङलाई पुनः कायम
इक्रा नेपालले नेपाल विद्युत प्राधिकरणलाई प्रदान गर्दै आएको एए प्लस रेटिङलाई पुनः कायम राखेको हो। यो रेटिङले प्राधिकरणको वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमता रहेको र अत्यन्त न्यून क्रेडिट जोखिम भएको संकेत गर्छ।
इक्राका अनुसार एए प्लस श्रेणीका संस्थाहरू उच्च सुरक्षित र वित्तीय रूपमा मजबुत मानिन्छन्। रेटिङसँग जोडिएको ‘प्लस’ चिन्हले सोही श्रेणीभित्र तुलनात्मक रूपमा माथिल्लो स्थितिलाई जनाउने उल्लेख छ।
सन् १९८५ अगस्ट १६ मा स्थापना भएको नेपाल विद्युत प्राधिकरण पूर्ण सरकारी स्वामित्वको संस्था हो। यसले नेपाल विद्युत प्राधिकरण ऐन, १९८४ अन्तर्गत देशभर विद्युत उत्पादन, प्रसारण, वितरण तथा विद्युत व्यापार गर्दै आएको छ। नेपालमा प्रसारण, वितरण तथा सीमापार विद्युत व्यापार गर्ने अधिकार प्राप्त एकमात्र संस्था पनि यही हो।
समग्रमा इक्रा नेपालले नेपाल विद्युत प्राधिकरणको ‘एए प्लस’ रेटिङ पुनः पुष्टि गर्नुको आधार सरकारी स्वामित्व, ऊर्जा क्षेत्रमा एकाधिकार स्थिति, आन्तरिक विद्युत मागको स्थिर वृद्धि र रणनीतिक महत्वलाई मानिएको छ। यद्यपि नाफामा गिरावट, बढ्दो ऋण दायित्व र कमजोर हुँदै गएको कार्यशील पुँजी अनुपात दीर्घकालीन वित्तीय व्यवस्थापनका लागि चुनौतीका रूपमा देखिएको छ।