काठमाडौं- सामाजिक सुरक्षा कोषले घर किन्न दिने ऋणको सीमा बढाएको छ।
सुरक्षा कोषले 'योगदानकर्ता सापटी निर्देशिका २०७९' को दोस्रो संशोधन गर्दै घर निर्माण तथा घर खरिदसँगै जग्गा खरिदमा समेत ऋण दिने व्यवस्था गरेको छ।
लगानी कार्यविधिबमोजिम कोषले योगदानकर्तालाई नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्न ऋण दिने व्यवस्थामा संशोधन गरेको छ।
अब कोषले घडेरी खरिद गर्नसमेत ऋण दिने व्यवस्था गरेको छ। कोषले घर सापटीको सीमा ७५ लाख रुपैयाँबाट बढाएर १ करोड ५० लाख रुपैयाँ बनाएको छ तर त्यसका लागि भने धितो आवश्यक पर्ने छ।
कोषले घर/घडेरी खरिदको ऋणको सीमा ७५ बाट १ करोड ५० लाख बनाए पनि मासिक १.५ लाख आम्दानी हुने योगदानकर्ताले मात्र ऋणको पूरा सीमा उपभोग गर्न सक्ने छन्।
कुल ऋणको सीमा योगदानकर्ताको धितोको गुणस्तर र तिर्ने क्षमताको आधारमा हुने कोषले जनाएको छ।
घर सापटीको संशोधित व्यवस्थाअनुसार योगदानकर्ताको १५ वर्षको अनुमानित तलब, योगदानकर्ता ६० वर्ष पुग्न बाँकी कार्य अवधीको तलब हेरिने जनाइएको छ। तर ऋण भुक्तानीको मासिक किस्ता योगदानकर्ताको तलब, दम्पतीको तलब र अन्य करकट्टी भएका आम्दानीको ६० प्रतिशतभन्दा बढी हुने गरी कायम नहुने जनाइएको छ।
साथै धितोमा लिइले सम्पत्ति सम्बन्धित धनीको नाममा प्राप्त भइ कोषको नाममा दृष्टिबन्धक भएको हुनु पर्ने जनाइएको छ।
घर र घडेरी खरिदमा प्रचलित कानूनको उजुरबाजुरको अवधी नलाग्ने साथै कोषले तोकेबमोजिम बैनाबट्टा, थैलिको आधारमा ऋण, बेच्ने पक्षका सम्पतिमा हक स्थापित हुने पक्षको मञ्जुरी आवश्यक हुने छ।
कोषले धितो मूल्यांकनमा पनि पहिलाभन्दा केही सहजता हुने जनाएको छ। बाटोको मापदण्डमा एकरुपता तर स्वविवेकको निर्णय हुने उल्लेख गरिएको छ। पहिलो पटकको मूल्यांकनको लागि पाँच हजार रुपैयाँ र त्यसपछिको प्रत्येक पटकको मूल्यांकनको लागि १५ सय रुपैयाँ हुने जनाइएको छ।
