काठमाडौं- फागुन महिनामा घटेको घरजग्गा कारोबार चैतमा उल्लेख्य रूपमा उकालो लागेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार चैत महिनामा देशभर ५५ हजार ५३१ लिखत पारित भएका छन्, जुन फागुनको तुलनामा करिब ५२ प्रतिशतले बढी हो।
गत फागुनमा ३६ हजार ४७१ लिखत पारित भएका थिए। फागुन महिनामा १४ दिन सार्वजनिक बिदा परेका कारण कारोबार प्रभावित भएको विभागको विश्लेषण छ।
चैतमा सबैभन्दा बढी कारोबार मोरङको बेलबारी मालपोत कार्यालयबाट भएको छ, जहाँ १ हजार ८६३ लिखत पारित भएका छन्। काठमाडौं उपत्यकाभित्र भने भक्तपुर मालपोत कार्यालय अग्रस्थानमा देखिएको छ, जहाँ १ हजार ४११ लिखत पारित भएका छन्। त्यस्तै लगनखेल मालपोतबाट ९९५ र कलंकी मालपोतबाट ८६७ लिखत पारित भएको तथ्यांक छ।
घरजग्गा कारोबार बढेसँगै राजस्व संकलन पनि उल्लेख्य रूपमा वृद्धि भएको छ। विभागका अनुसार चैत महिनामा मात्रै ६ अर्ब १६ करोड ५७ लाख ५० हजार रुपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो वर्षको सोही महिनामा ४ अर्ब ३९ करोड ४७ लाख ४९ हजार ६४८ रुपैयाँ राजस्व उठेको थियो।
फागुन महिनामा भने घरजग्गा कारोबारबाट ४ अर्ब १४ करोड ९५ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन भएको थियो, जुन माघको तुलनामा घटेको थियो। माघ महिनामा करिब ५ अर्ब रुपैयाँ राजस्व उठेको थियो।
सरकारले घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर तथा पुँजीगत लाभकरमार्फत राजस्व संकलन गर्दै आएको छ। तीमध्ये रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकर प्रमुख स्रोतका रूपमा रहेका छन्।
