शनिबार, जेठ २३ गते २०८३    
शनिबार, जेठ २३ २०८३

पार्टीले गर्ने निर्णय पालना गर्नेछु, अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु : गृहमन्त्री सुधन गुरुङ

सोमबार, वैशाख ७ २०८३
पार्टीले गर्ने निर्णय पालना गर्नेछु, अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु : गृहमन्त्री सुधन गुरुङ

'त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन। त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन्। के ती सबै साझेदार वा दोषी हुन् त?'

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले पछिल्लो समय आफ्ना विषयमा उठेका प्रश्नमा जवाफ दिँदै पार्टीको निर्णय मान्ने र अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएका छन्।

विवादित व्यावसायिक समूहले लाइसेन्स लिएर सञ्चालनमा ल्याएका कम्पनीमा गृहमन्त्री गुरुङको सेयर रहेको देखिएपछि प्रश्न उठिरहेका छन्। जुन समूहमाथि सरकारले अनुसन्धान गरिरहेको छ त्यही समूहको प्रबर्द्धनमा खुलेका कम्पनीमा गृहमन्त्रीकै संस्थापक सेयर रहेको पाइएपछि त्यसले सार्वजनिक प्रश्न उठाएको हो।

त्यसमा जवाफ दिँदै गुरुङले त्यसमा हल्ला धेरै भएको र तथ्य के हो भन्ने बुझ्न जरुरी रहेको बताएका छन्। 'मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर दुई करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो' उनले भनेका छन्।

सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो? भन्ने प्रश्न गर्दै उनले भनेका छन्, 'सम्पूर्ण कारोबार बैँकिङ च्यानलमार्फत भएको छ। बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने? कहाँ लुकाउने?'

आफूले लगानी गरेको रकम ऋणमार्फत जुटाइएको उनले जनाएका छन्। त्यसको लिखित तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको र सोही रकम लगानीमा प्रयोग गरिएको उनले बताएका छन्। 

एउटै कम्पनीमा सयौँ सेयरहोल्डर हुने भन्दै उनले सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु नभएको जनाएका छन्। 'त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन। त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन्। के ती सबै साझेदार वा दोषी हुन् त?' उनले प्रश्न गरेका छन्। 

यस विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय नभइ अर्थ मन्त्रालयअन्तर्गत रहेको सम्पत्ति शुद्धिकरण विभाग भएको र सोही निकायले प्रक्रियाअनुसार विषय हेरिरहेको गृहमन्त्री गुरुङको भनाइ छ। 

'यदि मैले कुनै हस्तक्षेप गरेको भए यस्तो छानबिन प्रक्रिया नै अघि बढ्ने थिएन। यसको अर्थ स्पष्ट छ, प्रक्रिया चलिरहेको छ, प्रभाव होइन' उनले भनेका छन्।

व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रूपमा व्याख्या गर्नु उचित नभएको भन्दै उनले भनेका छन्, 'लगानी गर्नु र बिचौलियापन गर्नु फरक कुरा हुन्, यसलाई मिसाएर राजनीति गर्न सजिलो छ तर सत्य त्यति सरल हुँदैन।' 

निर्णय भावनाले होइन प्रमाणका आधारमा हुनुपर्ने बताउँदै उनले यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्णरूपमा पालना गर्ने र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्। 

जुन समूहमाथि सरकारको अनुसन्धान त्यसमै जोडिए गृहमन्त्री, अनुसन्धान प्रभावित हुनसक्ने डर जुन समूहमाथि सरकारको अनुसन्धान त्यसमै जोडिए गृहमन्त्री, अनुसन्धान प्रभावित हुनसक्ने डर


प्रकाशित : सोमबार, वैशाख ७ २०८३१३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend