शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

ज्यागुअर आईपेस ईभीको अवैध आयात : करकब गेयर्सको एजेन्सी अवधि सकियो, ‘किर्ते प्रयास' असफल

अवैध कामको जालो खुल्दै, आईपेस जाँचपास हुन कठिन

बुधबार, चैत १८ २०८२
ज्यागुअर आईपेस ईभीको अवैध आयात : करकब गेयर्सको एजेन्सी अवधि सकियो, ‘किर्ते प्रयास' असफल

वाणिज्य विभागमा २६४१ दर्ता नम्बर भएको करबरको एजेन्सी म्याद २०२६ मार्च २९ मा (२०८२ चैत १५)मा समाप्त भएको छ। एजेन्सी कानूनअनुसार एजेन्सी दर्ताको म्याद सकिने १५ दिनअघि वाणिज्य विभागमा नवीकरणका लागि आवेदन दिनुपर्ने व्यवस्था रहेको छ।

काठमाडौं- ज्यागुअर ल्यान्ड रोभर ब्रान्डको आधिकारिक बिक्रेतासम्बन्धी करकब गेयर्स प्रालि नामक एजेन्सीको म्याद सकिएको पाइएको छ। एजेन्सी नवीकरण हुन नसक्दा करकब गेयरले अवैधरुपमा आयात गरेको ज्यागुअरको आईपेस ईभी जाँचपास हुन नपाएको हो। 

करकबले बेल्जियममा रहेको क्वाड्रिगाबाट आयात गरेको ज्यागुअरको आईपेस विद्युतीय कार बेलायतमा दर्ता भएको नम्बर प्लेटसहित चोभार भन्सार आइपुगेको थियो। बेलायतमा आम उपभोगक्ताले प्रयोग गर्ने नम्बरसहित करकबले ल्याएको सेकेन्ड ह्यान्ड कार कम्पनीले भने ‘एक्सपोर्ट नम्बर प्लेट’ भएको जिकिर गरेको छ। तर अटोमोबाइल इतिहासमा अहिलेसम्म कुनैपनि देशबाट सवारी निर्यात वा आयात गर्दा एक्सपोर्ट नम्बर प्लेट अस्तित्वमा रहेको पाइँदैन। 

उत्पादक कम्पनी ज्यागुअर ल्यान्ड ओभर (जेएलआर)सँग नभइ करकब गेयर्सले जेएलआरको साइनो सम्पर्कमै नभएको कम्पनीसँग आधिकारिक बिक्रेताको कागज बनाएर वाणिज्य विभागबाट एजेन्सी लिएको देखिन्छ। 

करकबले बेल्जियममा दर्ता भएको क्वाड्रिगा नामक कम्पनीसँग आधिकारिक बिक्रेता लिएको एजेन्सी दर्ता प्रमाणपत्रमा उल्लेख छ। तर प्रज्ञापनपत्रमा ज्यागुअर आईपेस जाँचपास गर्दा निर्यातकर्ता कम्पनीको नाम क्वाड्रिगा कार रेन्टल एनभी लेखिएको छ। यहाँ कम्पनीको नाममै स्पष्ट एकरुपता नदेखिनुले यो किर्ते कागजात बनाएर अवैध आयात गरेको प्रष्ट हुन्छ। 

वाणिज्य विभागमा २६४१ दर्ता नम्बर भएको करबरको एजेन्सी म्याद २०२६ मार्च २९ मा (२०८२ चैत १५)मा समाप्त भएको छ। एजेन्सी कानूनअनुसार एजेन्सी दर्ताको म्याद सकिने १५ दिनअघि वाणिज्य विभागमा नवीकरणका लागि आवेदन दिनुपर्ने व्यवस्था रहेको छ। तर करकब गेयर्स प्रालिले उक्त म्याद गुज्रिएपछि मात्र एजेन्सी नवीकरणका लागि आवेदन दिएको थियो। 

करकब गेयर्सको किर्ते प्रयास बिफल

करकब गेयर्स प्रालिले २०८१ चैत १७ गते ज्यागुअर ल्यान्ड रोभरका विभिन्न मोडलका कारको आधिकारिक बिक्रेता भएको एजेन्सी प्रमाणपत्र वाणिज्य विभागबाट लिएको थियो। एक वर्ष अवधि रहेको उक्त एजेन्सीको म्याद २०८२ चैत १५ सम्मका लागि थियो। यो म्याद सकिनुअघि कम्पनीले वाणिज्यमा १५ दिनअघि नैं एजेन्सी नवीकरणको आवेदन दिनुपर्ने कानूनी व्यवस्था छ। तर करकबले त्यो म्याद सकिएपछि वाणिज्य विभागमा नवीकरणको निवेदन दिएको थियो। 

करकबका कर्मचारी आएर ‘पुरानो सेटिङ’मै नवीकरणको प्रयास गरेको थियो। करकबले अवैध रुपमा ज्यागुअरको कार आयात गरेकोबारे वाणिज्य विभाग पूर्णतः जानकार थियो। यो विषय महानिर्देशकसम्मको निगरानीमा रहेकाले करकबले नवीकरणका लागि दिएको निवेदन अध्ययन गर्दा शंकास्पद देखिएपछि अहिले करकबको एजेन्सी नवीकरण भएको छैन। 

‘धेरै विषय शंकास्पद देखिएपछि वाणिज्य विभागले करकबको एजेन्सी नवीकरण गरेको छैन,’ वाणिज्य विभाग स्रोतले भन्यो, ‘उनीहरुले मिलाएर गरौँ भन्दै नवीकरण गराउन दबाब दिएका थिए। त्यसमा हाम्रा कर्मचारी साथीहरुले अध्ययन गर्दा नवीकरणको निवेदनमै पनि खोट देखिएपछि त्यो प्रक्रिया रोकिएको छ।’

कर्मचारीबाट पार नलागेपछि किशोरचन्द्र बादे श्रेष्ठ आफैँ वाणिज्य विभाग पुगेका थिए। 

पुरानो सेटिङको चक्र बिग्रिएकाले श्रेष्ठले भन्दा पनि वाणिज्य विभागबाट एजेन्सी नवीकरण नभएपछि उनी महानिर्देशक गुहार्दै पुगेका थिए। महानिर्देशकले त्यसबारेमा कानूनअनुसारमात्र हुने बताएपछि किशोरचन्द्र बादे श्रेष्ठले एजेन्सी नै नयाँ दर्ता गर्ने प्रयास गरेका थिए।

विभाग प्रशासनले करकब गेयर्स र ल्यान्ड रोभरका कार आयात नै शंकास्पद र किर्ते कागजातबाट काम गइरहेको आशंकासँगै वाणिज्य विभागले श्रेष्ठलाई आयात भएर आइसकेको कार छुटाउनकै लागि फेरि अर्को एजेन्सी दर्ता गरिदन अस्वीकार गरिदिएको हो। 

कसरी ल्याएको हो करकबले ज्यागुअरको कार?

ज्यागुअरको आईपेस कार अष्ट्रियामा उत्पादन भएको हो। भन्सारको दर्ता तथ्यांकमा उक्त कार अष्ट्रियाबाट आएको भनिएको छ भने करकब गेयरले फागुन ४ मा चोभार भन्सारलाई पेस गरेको प्रष्टीकरणमा कार बेलायतबाट निर्यात भएको उल्लेख छ। उत्पादक कम्पनीले एजेन्सीमार्फ निर्यात गर्ने कार कुनै पनि देशमा दर्ता गर्दैन। तर करकबले भने अष्ट्रियामा उत्पादन भएर नियमित प्रक्रियामा बेलायतमा दर्ता गरेको दाबी गरेको छ। 

अन्तर्राष्ट्रिय मान्यताअनुसार नै अन्य देशमा निर्यात गरिने कार उत्पादन भएको वा अन्य देशमा नम्बर प्लेट पाउने गरी दर्ता गरिँदैन। यसका दुई कारण छन्। पहिलो, कुनै देशमा दर्ता भएको गाडी स्वतः रिकन्डिसनमा परिणत हुन्छ। दोस्रो, एजेन्सीमार्फत निर्यात हुने सवारी दर्ता गरेर उत्पादक कम्पनीले अतिरिक्त खर्च गर्दैन।

बेलायतमा उपभोक्ता नम्बर प्लेट भएको कार दर्ता भएको हो र दर्ता भएको कार नेपाल ल्याउनु भनेको सेकेन्ड ह्यान्ड कार ल्याउनु हो। करकब गेयर्सले ज्यागुअरका ६ वटा आईपेस विद्युतीय कार आयात गरेर चोभार भन्सारमा ल्याएको छ भने एउटा कार जनवरी १३ तारिखमा जाँचपास गराएको छ। करकबले वीरगञ्ज भन्सारमा जाँचपास नगराइ चोभार भन्सारमा ल्याउनुले पनि शंका उब्जाएको छ। 

ज्यागुअर ल्यान्ड रोभरका कार नेपाली बजारमा अर्काे कम्पनी काइरोस इन्टरनेसलन प्रालिले पनि आयात गर्दै आएको छ। उक्त कम्पनीले वीरगञ्जबाट जाँचपास गराउँदै आएको छ। यसैले करकबले पनि सोही कम्पनीको कार आधिकारिक बिक्रेता भन्दै ल्याउँदा वीरगञ्ज भन्सारले प्रश्न गर्न सक्ने भएकाले उक्त प्रश्नबाट बच्न र आफ्नो कर्तुत नखुलोस् भन्न चोभार भन्सार रोजेको प्रष्ट हुन्छ। 

अस्ट्रियामा उत्पादन भएर बेलायत ल्याइएको ज्यागुअरको आईपेस ईभी करकब गेयर्सले बेल्जियममा दर्ता भएको क्याड्रिगाले आधिकारिक बिक्रेता तोकेर नेपाल आयात भएको हो। यसरी घुमाउरो बाटोबाट ल्याउनुपनि गम्भीर शंकाको विषय हो। ज्यागुअर ल्यान्ड रोभरले नेपालमा २०१६ देखि नै आफ्नो आधिकारिक बिक्रेता नभएको स्पष्ट पारिसकेको छ।

यस्तो अवस्थामा ज्यागुअर ल्यान्ड रोभरका कार दुई कम्पनी काइरोस इन्टरनेसनल प्रालि र करकब गेयर्स प्रालिले आफू नै आधिकारिक बिक्रेता दाबी गर्दै आयात गरिरहेका छन्। तर यी दुवै कम्पनीले उत्पादक कम्पनी वा उत्पादक कम्पनीले निर्यात अनुमति दिएर तोकेको आधिकारिक बिक्रेताबाट ल्याएका छैनन्। 

करकब गेयरको अवैध धन्दा : उत्पादन अष्ट्रियामा, दर्ता बेलायतमा, बेच्ने कम्पनी बेल्जियमको, रिकन्डिसन कार रेड च्यानलबाट सरासर पास करकब गेयरको अवैध धन्दा : उत्पादन अष्ट्रियामा, दर्ता बेलायतमा, बेच्ने कम्पनी बेल्जियमको, रिकन्डिसन कार रेड च्यानलबाट सरासर पास

ज्यागुअरको आईपेस बेलायती नम्बर प्लेटसहित चोभारमा, कसरी गरियो सेकेन्ड ह्यान्ड गाडी आयात? ज्यागुअरको आईपेस बेलायती नम्बर प्लेटसहित चोभारमा, कसरी गरियो सेकेन्ड ह्यान्ड गाडी आयात?

ज्यागुअर आईपेसमा अन्डर इन्भोइस : सीआईएफ भ्यालु ३४९०७.८० पाउन्ड, अष्ट्रियाबाट आयात ज्यागुअर आईपेसमा अन्डर इन्भोइस : सीआईएफ भ्यालु ३४९०७.८० पाउन्ड, अष्ट्रियाबाट आयात

 

२०२४ मै उत्पादन बन्द भएको ज्यागुअर ब्रान्डको आधिकारिक बिक्रेता र ईभी कसरी आयो नेपाल? २०२४ मै उत्पादन बन्द भएको ज्यागुअर ब्रान्डको आधिकारिक बिक्रेता र ईभी कसरी आयो नेपाल?

मौलाउँदो अवैध आयात : कारक्याब गेयरले ल्यायो ज्यागुअरको विद्युतीय कार आईपेस मौलाउँदो अवैध आयात : कारक्याब गेयरले ल्यायो ज्यागुअरको विद्युतीय कार आईपेस

ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन


प्रकाशित : बुधबार, चैत १८ २०८२१८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend