शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

करकब गेयरको अवैध धन्दा : उत्पादन अष्ट्रियामा, दर्ता बेलायतमा, बेच्ने कम्पनी बेल्जियमको, रिकन्डिसन कार रेड च्यानलबाट सरासर पास

एजेन्सी दर्तामा आधिकारिक बिक्रेता दिने क्वाड्रिगा, प्रज्ञापनपत्रमा क्वाड्रिगा कार रेन्टल एनभी

मंगलबार, फागुन ५ २०८२
करकब गेयरको अवैध धन्दा : उत्पादन अष्ट्रियामा, दर्ता बेलायतमा, बेच्ने कम्पनी बेल्जियमको, रिकन्डिसन कार रेड च्यानलबाट सरासर पास

चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनवरी १३ मा जाँचपास गरेको ज्यागुअर आईपेस विद्युतीय कार रेड च्यानलबाट जाँचपास भएको छ।

काठमाडौं- करकब गेयर प्रालिले ज्यागुअर ब्रान्डका विद्युतीय कार आयात गर्न विभिन्न तिकडम गरेको कम्पनीले पेस गरेको कागजातबाट प्रष्ट हुन्छ। उत्पादक कम्पनी ज्यागुअर ल्यान्ड ओभर (जेएलआर) सँग नभइ करकब गेयरले जेएलआरको साइनो सम्पर्कमै नभएको कम्पनीसँग आधिकारिक बिक्रेताको कागज बनाएर वाणिज्य विभागबाट एजेन्सी लिएको देखिन्छ। 

करकबले बेल्जियममा दर्ता भएको क्वाड्रिगा नामक कम्पनीसँग आधिकारिक बिक्रेता लिएको एजेन्सी दर्ता प्रमाणपत्रमा उल्लेख छ। तर प्रज्ञापन पत्रमा ज्यागुअर आईपेस जाँचपास गर्दा निर्यातकर्ता कम्पनीको नाम क्वाड्रिगा कार रेन्टल एनभी लेखिएको छ। यहाँ कम्पनीको नाममै स्पष्ट एकरुपता देखिँदैन। 

ज्यागुअरको आईपेस कार अष्ट्रियामा उत्पादन भएको हो। भन्सारको दर्ता तथ्यांकमा उक्त कार अष्ट्रियाबाट आएको भनिएको छ भने करकब गेयरले फागुन ४ मा चोभार भन्सारलाई पेस गरेको प्रष्टीकरणमा कार बेलायतबाट निर्यात भएको उल्लेख छ। उत्पादक कम्पनीले एजेन्सीमार्फ निर्यात गर्ने कार कुनै पनि देशमा दर्ता गर्दैन। तर करकबले भने अष्ट्रियामा उत्पादन भएर नियमित प्रक्रियामा बेलायतमा दर्ता गरेको दाबी गरेको छ। 

अन्तर्राष्ट्रिय मान्यताअनुसार नै अन्य देशमा निर्यात गरिने कार उत्पादन भएको वा अन्य देशमा नम्बर प्लेट पाउने गरी दर्ता गरिँदैन। यसका दुई कारण छन्। पहिलो, कुनै देशमा दर्ता भएको गाडी स्वतः रिकन्डिसनमा परिणत हुन्छ। दोस्रो त एजेन्सीमार्फत निर्यात हुने सवारी दर्ता गरेर उत्पादक कम्पनीले अतिरिक्त खर्च गर्दैन।

सवारी दर्ताका लागि हरेक देशमा निश्चित शुल्क लाग्छ। अझ सयौँ देशले त दर्ता गर्दा नै त्यो कारको वार्षिक रोड ट्याक्स सुरुमै लिने गरेका छन्। त्यसैले उपभोक्ता नम्बर प्लेट भएको कार दर्ता भएको हो र दर्ता भएको कार नेपाल ल्याउनु भनेको सेकेन्ड ह्यान्ड कार ल्याउनु हो। 

करकब गेयरले ज्यागुअरका ६ वटा आईपेस विद्युतीय कार आयात गरेर चोभार भन्सारमा ल्याएको छ भने एउटा कार जनवरी १३ तारिखमा जाँचपास गराएको छ। करकबले वीरगञ्ज भन्सारमा जाँचपास नगराइ चोभार भन्सारमा ल्याउनुले पनि शंका उब्जाएको छ। सामान्यत: जुनसुकै भन्सारबाट पनि जाँचपास गराउन सकिन्छ तर यहाँ करकबले चोभार ल्याउनु र उसको अन्य गलत गतिविधिले शंकालाई मलजल गरेको छ। 

ज्यागुअर ल्यान्ड रोभरका कार नेपाली बजारमा अर्को कम्पनी काइरोस इन्टरनेसलन प्रालिले पनि आयात गर्दै आएको छ। उक्त कम्पनीले वीरगञ्जबाट जाँचपास गराउँदै आएको छ। यसैले करकबले पनि सोही कम्पनीको कार आधिकारिक बिक्रेता भन्दै ल्याउँदा वीरगञ्ज भन्सारले प्रश्न गर्न सक्ने भएकाले उक्त प्रश्नबाट बच्न र आफ्नो कर्तुत नखुलोस् भन्न चोभार भन्सार रोजेको प्रष्ट हुन्छ। 

चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनवरी १३ मा जाँचपास गरेको ज्यागुअर आईपेस विद्युतीय कार रेड च्यानलबाट जाँचपास भएको छ। प्रज्ञापन पत्रमा स्पष्टरुपमा करकबले ल्याएको आईपेस रेड च्यानलबाट जाँचपास भएको उल्लेख छ। रेड च्यानलबाट जाँचपास हुनु भनेको उक्त मालवस्तु पूर्णतः शंकास्पद वा जोखिमपूर्ण रहेको बुझिन्छ। 

भन्सार विभागले नै आयात हुने मालवस्तुको वर्गीकरण गरेर ग्रिन, एल्लो तथा रेड च्यानलमा जाँचपास हुने व्यवस्था गरेको छ। जसअनुसार कुनै पनि जोखिम नभएको मालवस्तु ग्रिन च्यालनबाट पास हुन्छ। करमा गडबड नहुने र यसअघि कुनै पनि खराब काम नगरेको कम्पनीले ल्याउने मालवस्तुलाई ग्रिन च्यानलबाट जाँचपास गराइन्छ। ग्रिनबाट पास हुने वस्तु सामान्यत: थप सोधीखोजी नगरी कागजातका आधारमा पास गरिन्छ। 

त्यस्तै केही शंकास्पद र जोखिम देखिएका वस्तुहरु एल्लो च्यानलबाट जाँचपास गरिन्छ। यसमा कम्पनीप्रति र मालवस्तुप्रति केही शंका गरिन्छ र कागजात तथा सामानको विवरण बुझेर पास गरिँदै आएको छ। 

अर्को च्यानल हो रेड। रेड च्यानलबाट जाँचपास हुने मालवस्तु भनेको पूर्ण शंकास्पद र जोखिमयुक्त हो। यस्ता वस्तु आयात गर्ने कम्पनी तथा आयात भएका वस्तुमाथि गम्भीर निगरानी गरेर काजगात तथा मालवस्तुको सबै विवरण एकएक गरेर जाँच गरेपछिमात्र जाँचपास गरिन्छ। 

भन्सारको यस्तो नियम तथा अभ्यासबीच करकबले आयात गरेको ज्यागुअरको आईपेस विद्युतीय कारमा बेलायतको दर्ता नम्बर प्लेट हुँदा सामान्य सोधखोज नै नगरी रेड च्यानलबाट सरासर जाँचपास गरिनु गम्भीर विषय हो।

करकबले असम्भव मूल्य जम्मा ३४ हजार ९ सय पाउन्डमा ज्यागुअरको विद्युतीय कार ल्याएको देखिन्छ। त्यो पनि २०२४ मै उत्पादन बन्द भएको मोडलका कार ल्याएको छ। यसमा चोभार भन्सार कार्यालय र भन्सार विभागले गम्भीर छानबिन गर्नु आवश्यक छ। 

करकब गेयरले भनेजस्तो ज्यागुअर आईपेस ब्रान्ड नयाँ कार होइन। कम्पनीले आफूले ल्याएको ज्यागुअर ल्यान्ड रोभरको लास्ट ब्याचको कार भएको र उक्त कार अष्ट्रियामा बनेर बेलायतबाट निर्यात भएकाले ‘एस्क्पोर्ट प्लेट’ राखिएको जिकिर गरेको छ। तर सामान्यरुपमा हेर्दा पनि ज्यागुअर आईपेसमा टाँसेर ल्याइएको नम्बर प्लेट बेलायतको हो। उक्त नम्बर प्लेटमा भएको नम्बर त्यहाँ आमरुपमा दर्ता हुने नम्बर प्लेट भएको प्रष्ट हुन्छ।

ज्यागुअरको आईपेस बेलायती नम्बर प्लेटसहित चोभारमा, कसरी गरियो सेकेन्ड ह्यान्ड गाडी आयात? ज्यागुअरको आईपेस बेलायती नम्बर प्लेटसहित चोभारमा, कसरी गरियो सेकेन्ड ह्यान्ड गाडी आयात?

ज्यागुअर आईपेसमा अन्डर इन्भोइस : सीआईएफ भ्यालु ३४९०७.८० पाउन्ड, अष्ट्रियाबाट आयात ज्यागुअर आईपेसमा अन्डर इन्भोइस : सीआईएफ भ्यालु ३४९०७.८० पाउन्ड, अष्ट्रियाबाट आयात

 

२०२४ मै उत्पादन बन्द भएको ज्यागुअर ब्रान्डको आधिकारिक बिक्रेता र ईभी कसरी आयो नेपाल? २०२४ मै उत्पादन बन्द भएको ज्यागुअर ब्रान्डको आधिकारिक बिक्रेता र ईभी कसरी आयो नेपाल?

मौलाउँदो अवैध आयात : कारक्याब गेयरले ल्यायो ज्यागुअरको विद्युतीय कार आईपेस मौलाउँदो अवैध आयात : कारक्याब गेयरले ल्यायो ज्यागुअरको विद्युतीय कार आईपेस

ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन


प्रकाशित : मंगलबार, फागुन ५ २०८२१६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend