शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

अर्थशास्त्री स्वर्णिम वाग्ले अर्थमन्त्री : घरेलु नीति निर्माणमा दशकको अनुभव, अन्तर्राष्ट्रिय सम्बन्धमा अब्बल

शुक्रबार, चैत १३ २०८२
अर्थशास्त्री स्वर्णिम वाग्ले अर्थमन्त्री : घरेलु नीति निर्माणमा दशकको अनुभव, अन्तर्राष्ट्रिय सम्बन्धमा अब्बल

प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थादेखि स्वदेशी थिंकट्यांकसम्ममा काम गरेर आफूलाई खरो उतारेका वाग्लेलाई शासकीय नेतृत्वमा गएर डेलिभरी दिन सकिन्छ भन्ने गहिरो आत्मविश्वास छ। आर्थिक सुधारको नेतृत्व गर्ने उनमा तीव्र हुटहुटी पनि छ।

काठमाडौं- करियर अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसपभातिसमेत रहेका वाग्ले बालेन शाह नेतृत्वको सरकारका अर्थमन्त्री बनेका हुन्। 

विदेशी विश्वविद्यालयको शिक्षा, अन्तर्राष्ट्रिय संस्थाबाट विश्वव्यापी अनुभव र पहिचान बनाउन सफल भएका वाग्ले पछिल्लो एक दशकदेखि भने घरेलु नीति निर्माणमा जोडिँदै आएका छन्। २०७१ सालमा राष्ट्रिय योजना आयोगको सदस्य बनेका वाग्ले २०७४ सालमा आयोगको उपाध्यक्ष बनेका थिए। 

पछिल्लो एक दशकदेखि नेपाली राजनीतिको नीति निर्माणको नेतृत्व तहमा पुग्ने वाग्लेको सपना पूरा भएको छ। दोस्रोपटक प्रतिनिधिसभामा तनहुँ १ बाट उनी निर्वाचित भएका हुन्। 

लण्डन स्कुल अफ इकनमिक्स (बेलायत) बाट अर्थशास्त्रमा स्नातक, अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अष्ट्रेलियन राष्ट्रिय विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका वाग्ले अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो अनुभव पाइसकेका व्यक्ति हुन्।

विश्व बैंक तथा यूएनडीपीमा वरिष्ठ अर्थशास्त्रीका रुपमा काम गरेका वाग्ले राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को न्यूयोर्कस्थित मुख्यालयमा ३६ वटा देश हेर्ने एसिया-प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार रहिसकेका छन्। सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आइआइडीएस) को एक दशक अध्यक्ष भएका उनले उक्त संस्थालाई पुर्नजागरण गराएका थिए। 

प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थादेखि स्वदेशी थिंकट्यांकसम्ममा काम गरेर आफूलाई खरो उतारेका वाग्लेलाई शासकीय नेतृत्वमा गएर डेलिभरी दिन सकिन्छ भन्ने गहिरो आत्मविश्वास छ। आर्थिक सुधारको नेतृत्व गर्ने उनमा तीव्र हुटहुटी पनि छ। 

उदार अर्थतन्त्रका हिमायती वाग्ले लोककल्याणसहितको विकासका पक्षधर हुन्। आफूले अन्तर्राष्ट्रिय क्षेत्रमा सिकेको ज्ञानलाई स्वदेशमा उपयोग गर्ने उनको तीव्र आकांक्षा छ। योजना आयोगमा रहँदा ऐन कानूनले दिएको भूमिकामाथि रहेर सक्दो काम गरेका वाग्लेले भूकम्पपछिको क्षति मूल्यांकन तथा अन्तर्राष्ट्रिय सहायता जुटाउन पनि उल्लेखनीय भूमिका खेलेका थिए। गएको प्रतिनिधिसभाको सदस्य हुँदा उनले संसद तथा समितिमा अर्थतन्त्रका संरचनागत विषयमा प्रश्न उठाएका थिए। 

दातृ निकायहरूले पनि निकै विश्वास गर्नेमध्येमा वाग्ले पर्छन्। यही सम्बन्ध र छबी कायम रहँदै नीति निर्माण तहमा पुग्ने उनको सपना पूरा भएको छ। सरकारमै पुगेर मन्त्रीका रुपमा काम गर्ने उनको आकांक्षा पूरा भएको छ। 

लोकतन्त्रमा गहिरो विश्वास रहेका वाग्ले सामूहिक प्रयत्न र प्रणाली सुधारबाटमात्र डेलिभरी दिन सकिन्छ भन्ने विश्वास गर्छन्। लोकतन्त्रमा एउटा व्यक्तिले चमत्कार गर्न सम्भव नहुने सामूहिक प्रयत्नबाट प्रणाली सुधार गर्न सकिन्छ भन्नेमा उनको विश्वास छ। 

रास्वापको वाचापत्र लेखनको नेतृत्व गरेका वाग्ले आर्थिक सुधारको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्। पछिल्लो समय सुशासन नभइ विकास हुँदैन भन्नेमा उनको दृढता बढी देखिन्थ्यो। कुशासनमा प्रहार गरेरमात्र डेलिभरी र विकास गर्न सकिन्छ भन्ने उनका सार्वजनिक अभिव्यक्ति रहेका छन्। 

पुराना संरचना, नयाँ बालेन : नतिजासहितको शासनको आश पुराना संरचना, नयाँ बालेन : नतिजासहितको शासनको आश

 


प्रकाशित : शुक्रबार, चैत १३ २०८२१३:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend