काठमाडौं- परम्परागतभन्दा बेग्लै ढंगले अघि बढ्ने शैलीले नेपाली राजनीतिमा बालेन्द्र शाह (बालेन) ले छिटो फट्को मारेका छन्। नेपाली नेताको पुरानो शैलीलाई पंगु तुल्याएर अघि बढेका बालेनका लागि अबको बाटो त्यही 'नयाँपन'मा मात्र सम्भव छैन। योजनाबद्ध सोच र कार्यशैलीले नै उनको आगामी दिशा तय हुनेछ।
बालेनप्रतिको अपेक्षा असामान्य रूपमा उच्च छ। युवाहरूले उनलाई परिवर्तनको प्रतिनिधि मानेका छन् भने आम नागरिकले दैनिक जीवनमा देखिने सुधार खोजिरहेका छन्। तर शासन परिवर्तन तत्काल परिणाम दिने प्रक्रिया होइन। जोखिम यहीँ नै छ। यदि अपेक्षा र उपलब्धिबीच दूरी बढ्यो भने समर्थन छिट्टै असन्तोषमा बदलिन सक्छ।
भ्रष्टाचार र बेथितिविरुद्ध युवा पुस्ताको आन्दोलनले नेपालको राजनीतिमा आएको यो मोड सामान्य सत्ता परिवर्तनमात्र होइन। नयाँ उदयले राजनीतिक असन्तोषलाई संस्थागत रूप दिएको छ। अहिलेको मत केवल पार्टीका लागि होइन; केवल बालेनका लागि होइन; व्यवस्थाप्रतिको असन्तुष्टिको अभिव्यक्तिसमेत बनेको छ।
वर्षौँदेखि दोहोरिँदै आएको राजनीतिक अस्थिरता, कमजोर सेवा प्रवाह र भ्रष्टाचारका कारण बढेको निराशाले मतदातालाई वैकल्पिक शक्ति खोज्न बाध्य बनायो। अब बालेनले के गर्ने? भन्ने प्रश्नमा दर्जनौँ सुझावहरू जति दिए पनि एउटै मुख्य विषय पहिलेकाले बिगार्दै आएका कुरा उनले अब दोहोर्याउनु हुँदैन।
काठमाडौं महानगरको नेतृत्व गर्दा देखाएको सक्रियता र प्रत्यक्ष हस्तक्षेपकारी शैलीले उनलाई फरक बनायो। तर राष्ट्रियस्तरको शासन स्थानीय तहमा भन्दा गुणात्मक रूपमा फरक हुन्छ। जहाँ निर्णय केवल इच्छाशक्तिले होइन संस्थागत सहमति र प्रक्रियाले निर्धारण गर्छ। यहाँबाट नै सुरु हुन्छ उनको वास्तविक परीक्षा।
नेपालको संघीय संरचना र दलीय व्यवस्था यस्तो छ जहाँ स्पष्ट बहुमत भए पनि राजनीतिक सहकार्य अपरिहार्य हुन्छ। नीति निर्माणदेखि कार्यान्वयनसम्म हरेक चरणमा संवाद र सम्झौता आवश्यक पर्छ। नयाँ नेतृत्वको सबैभन्दा ठूलो चुनौती सत्ता लिनु होइन सत्ता चलाउनका लागि नागरिकसँग आवश्यक सहमति बनाउनु हो। जुन सहमति परिणामसहितको कामले बन्नेछ।
यहाँ प्रशासनिक संरचना जटिल छ। कर्मचारीतन्त्रको आफ्नै गति छ, राजनीतिक प्रभावको आफ्नै सीमा। बालेनले चाहेमा छिटो निर्णय गर्न सक्छन् तर कार्यान्वयनका लागि त्यही प्रणालीमा निर्भर रहनुपर्छ, जसलाई परिवर्तन गर्ने वाचा गरिएको छ। यसैले उनले हतार नगरी क्रमिक सुधारको बाटो अपनाउनु नै दीर्घकालीन हुने देखिन्छ।
यदि बालेनले अपेक्षालाई यथार्थसँग सन्तुलन गर्न सके, सहमति निर्माण गर्न सके र प्रारम्भिक परिणाम देखाउन सके भने यो केवल नयाँ सरकार होइन राजनीतिक संस्कारमै परिवर्तनको सुरुवात हुन सक्छ। तर यदि असफल भए यो जनादेश अर्को निराशामा परिणत हुन सक्छ।
काठमाडौं महानगरपालिकाको प्रमुखका रूपमा बालेनको समयलाई जसरी भिन्न कोणबाट व्याख्या गरिन्छ, जसरी तारिफ र आलोचना गरिन्छ, त्योभन्दा बाहिर निस्किएर उनी सबैको प्रधानमन्त्री बन्नुपर्ने छ। पुराना संरचनामा अहिलेको नयाँ सत्ता बालेनका लागि अवसर जति हो असन्तोष सम्बोधनको चुनौती पनि उत्ति नै। जनादेशले जन्माएको आशामा चुक्ने छुट उनलाई छैन।
काठमाडौं महानगरको प्रमुख हुँदा 'बेसमेन्ट' तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराउँदा उनको तारिफ र आलोचना सँगसँगै भयो। सार्वजनिक जमिन मिचिएका संरचनाहरू भत्काउँदा पनि त्यस्तै भयो। सडकपेटीमा हुने व्यापार हटाएर पैदलयात्रीलाई सहज हुनेगरी खाली गराउने काममा पनि त्यस्तै अवस्था थियो।
व्यवस्थापनको विकल्प नखोजी ती साना व्यापारीको गरिखाने मेलो खोसिएको भन्दै बालेनको आलोचना भएको थियो। त्यसको व्यवस्थापनका लागि महानगरसँग जग्गा नभएको र सरकारले साथ नदिएको बालेनको गुनासो थियो। ती सबैमा बालेनसँगको आशा उनले कानून हेरेर काम गरेका थिए भन्नेमा हो। अब प्रधानमन्त्रीका रूपमा पनि उनले कानूनको पालना आफ्नो र अर्को नभनी गर्नुपर्ने छ।
एक्ला बालेनले कसरी काम गर्लान् भन्ने प्रश्नको उत्तर उनले महानगरमा गरेका विभिन्न कामले देखाएका हुन्। त्यसले नै सामाजिक सञ्जालदेखि सडकसम्म उनको समर्थनका आवाजहरू बढायो। अहिले त उनी एक्ला छैनन्। बहुमत सांसदसँगै आम नागरिकको साथ उनीसँग छ। कसैले साथ दिएन भनेर दोष दिने छुट उनीसँग हुने छैन।
'आफूले पाएको अभिभारा पूरा गर्न भावनात्मकमात्रै भएर हुँदैन। फुटपाथको आधारभूत निर्माण नै पैदलयात्रुका लागि हो। सहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुला हुन जरुरी हुन्छ। महानगरले पहिले फुटपाथका व्यापारीहरूलाई अन्यत्र राखेर खुला गर्ने कोसिस गरेको थियो, जुन पूर्णरूपमा असफल भएको थियो। दिएको ठाउँ पनि भरिने र पुन: फुटपाथमा नयाँ व्यापारी आइपुग्ने क्रम देश नै समृद्ध नहुञ्जेल भइरहने कुरा हो।'
महानगर प्रमुखका रूपमा फुटपाथ खाली गराउँदा भएका आलोचनामा बालेनले दिएको जवाफ हो यो। फुटपाथ व्यापारको उक्त चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यही गरेको उनको तर्क थियो।
त्यतिबेला उनले भनेका थिए, 'यदि हामी महानगरमा नभएर संघीय सरकारमा भइदिएको भए प्रयास फरक हुन सक्थ्यो। योभन्दा अलग किसिमले राष्ट्रियस्तरमा नै यसको समाधान गर्न खोजिन्थ्यो होला, हामीले वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नुपर्थ्यो, त्यही गर्यौँ।'
यो एउटा उदाहरणमात्र हो। अब उनी संघीय सरकारका प्रमुख हुँदा त्यस्ता धेरै विषयमा गरिएका वाचा, देखाइएका आशा पूरा गर्नुपर्ने छ। वर्षौँदेखि भएर पनि नआएको नियम-कानून बालेनले ल्याउनुपर्ने छ। कानूनको परिपालना हुँदै आउनु देश बन्ने पहिलो सूत्र हो। कानून सबैका लागि बराबर हुँदै जाँदा नै देश बन्दै जान्छ।
बालेनले काठमाडौं महानगरमा गरेका कामको प्रभाव देशभरका स्थानीय तहहरूमा देखिन थालेका थिए। चाहे सार्वजनिक शौचालयका विषयमा होस् या संरचनाहरूको गैरकानूनी प्रयोग र सडकपेटी कब्जाको विषय होस्, जुन कुरा जे प्रयोजनका लागि हो त्यसैमा प्रयोग हुनुपर्छ भन्ने पाठ सबैतिर फैलिएको थियो। गैरकानूनी कामबाट कमिसन लिने र बालुवा गिट्टी तस्करी गर्नेमात्र होइन, स्थानीय सरकारले गर्नुपर्ने काम के-के रहेछन् भनेर धेरैले थाहा पाएका थिए।
अब त उनले दिनसक्ने सन्देश अझ वृहत हुनुपर्ने छ। महानगरमा कुहिने नकुहिने फोहोर छुट्याएर व्यवस्थापनमा भनेजस्तो काम गर्न नसक्दा उनले बनाएका 'बहाना' अब नागरिकले पत्याउने छैनन्। मेयरमा निर्वाचित भएलगत्तै फोहोरको वैज्ञानिक व्यवस्थापनको दीर्घकालीन समाधानको खुड्किला पार नगरी खादामाला नलगाउने घोषणा गरेका उनी त्यसमा पूर्णरूपमा सफल नहुँदै महानगरबाट बाहिरिए। उनका केही असफलतामा सत्ता राजनीति पक्कै मिसिएको अनुभव सबैले गरेका हुन्। अब त्यो राजनीतिक अवरोध प्रधानमन्त्रीका रूपमा उनले पन्छाउने नै छन्।
बालेनले भनेको विश्वास गर्ने हो भने 'काम गर्न नदिएको आक्रोश'मा सिंहदरबार जलाइदिन्छुदेखि चोर सरकारसम्मका गलत अभिव्यक्तिबाट उनले पाठ सिक्ने छन् भन्ने अपेक्षा नागरिकले गरेका छन्। उनले कुन काम कसरी गर्नुपर्थ्यो भन्ने विषय अब आफ्ना कामले देखाउनु पर्ने छ। उपत्यकाको फुटपाथ र पार्किङ व्यवस्थापन, संस्थागत विद्यालयहरूमा छात्रवृत्तिको पहल, बेरोजगार युवालाई लक्षित गरी बर्सेनि गरिएको सीप मेला, ढल व्यवस्थापन, सहरी सौन्दर्यकरण, पाटीपौवाको पुनर्निर्माण, भूमिगत तार व्यवस्थापनका प्रयास, खाद्य तथा खानेपानी अनुगमनजस्ता महानगरमा काम देखिएका उदाहरणबाट उनी देश बनाउने वृहत अभियानमा लाग्नुपर्छ।
नेपाल अहिले असामान्य राजनीतिक क्षणमा छ। जनताले नयाँ नेतृत्वलाई अवसर दिएका छन् तर त्यो अवसर सशर्त छ। बालेनका लागि अब सबैभन्दा ठूलो परीक्षा लोकप्रियता होइन विश्वसनीयता कायम राख्नु हो। जसमा बहुसंख्यकको उत्सवका रूपमा होइन सीमान्तकृतलाई पनि आड भरोसा दिनेगरी शासनसत्ता चलाउनुपर्ने छ।
कानूनले अरूलाई हेरोस्, मलाई छाडोस् भन्ने सोच त्यागेर कानूनको पालनामा सबैले ध्यान दिए देश पक्कै सुध्रने छ। त्यसमा सबैलाई बाँध्ने काम बालेनले गर्नुपर्छ। बालेनले काम गरेनन् भने फेरि भोट त नागरिकले नै हाल्ने हो! त्यसबेला र्यापर बालेनको जस्तै मतदाताले पनि देखाउने छन्- आफ्नै 'फ्री स्टाइल'।