शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

स्पेस एक्स र एक्स एआई मर्जर : विश्वकै सबैभन्दा मूल्यवान कम्पनी

बिहीबार , माघ २२ २०८२
स्पेस एक्स र एक्स एआई मर्जर : विश्वकै सबैभन्दा मूल्यवान कम्पनी

काठमाडौं- एलन मस्कले आफ्नो व्यावसायिक जीवनमा अर्को साहसिक निर्णय गर्दै स्पेस एक्स र एक्स एआईलाई गाभेर विश्वकै सबैभन्दा मूल्यवान निजी कम्पनी निर्माण गरेका छन्। 

गएको सोमबार सम्पन्न १.२५ ट्रिलियन डलरबराबरको यो मर्जरले स्पेस एक्स, घाटामा चलिरहेको एआई स्टार्टप एक्स एआई र सामाजिक सञ्जाल एक्सलाई एउटै छातामुनि ल्याएको छ।

अन्तरिक्षमा डाटा सेन्टर स्थापना गर्न, चन्द्रमामा उद्योग निर्माण गर्न र अन्ततः मंगल ग्रहमा मानव बस्ती बसाल्ने दीर्घकालीन लक्ष्यसँग यो कदम जोडिएको मस्कले उल्लेख गरेका छन्। यसलाई पुनः प्रयोग गर्न मिल्ने रकेट, स्टारलिंक सञ्जाल, एक्सबाट प्राप्त हुने विशाल डाटा र एक्स एआईका मोडेलहरूको रणनीतिक संयोजनका रूपमा व्याख्या गरिएको छ।

यसलाई विश्व वित्तीय अवस्थाको पछिल्लो उदाहरणका रुपमा पनि व्याख्या गरिएको छ। मस्कले आफ्नो व्यक्तिगत ब्रान्ड र स्पेस एक्सको शक्ति प्रयोग गरी महिनामा करिब एक अर्ब डलर नगद खर्च गरिरहेको एक्स एआईलाई टिकाउन यो मर्जर गरेको भन्दै आलोचना पनि भइरहेका छन्। 

केही समयअघि स्पेस एक्सले एक्स एआईमा दुई अर्ब डलर लगानी गरेपछि मर्जरको चर्चा सुरु भएको थियो। फाइनान्सियल टाइम्सका अनुसार गतसाता औपचारिक खबर बाहिरिँदा धेरै सेयरधनीहरू बेखबर नै थिए। स्पेस एक्सका वित्त प्रमुख ब्रेट जोन्सन र एक्स एआईका जारेड बिर्चलले द्रुत गतिमा यसबारे लगानीकर्तालाई जानकारी दिएका थिए। 

सम्झौताअनुसार स्पेस एक्सले एक्स एआई २५० अर्ब डलरमा किन्नेछ। एक्स एआईका सेयरहरू करिब ७:१ को अनुपातमा स्पेस एक्सका सेयरमा रूपान्तरण हुनेछन्। संयुक्त कम्पनीको सेयर मूल्य ५२७ डलर तोकिएको जनाइएको छ।

मस्कले स्पेस एक्सको मूल्यांकन एक ट्रिलियन डलर पुर्‍याएका छन्। उनले स्टारलिंक ब्रोडब्यान्ड सेवाबाट बढ्दो आम्दानीलाई यसको आधार बताएका छन्। जुन गत डिसेम्बरको सेकेन्डरी सेयर बिक्रीको मूल्यांकनभन्दा दुई सय अर्ब डलर बढी हो।

यसमा पूरा सम्झौता मार्च १६ मा सम्पन्न हुने बताइएको छ। मस्क नै संयुक्त कम्पनीका प्रमुख कार्यकारी हुनेछन्। लगानीकर्ताले एक्स एआईको सेयर स्पेस एक्ससँग साट्ने वा नगद लिएर बाहिरिने विकल्प पाउने छन्।

स्पेस एक्सले आउने जुन महिनामा प्रारम्भिक सार्वजनिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने लक्ष्य राखेको जनाएको छ। यो आईपीओ बाट ५० अर्ब डलरसम्म उठ्न सक्ने अनुमान छ। जसले सन् २०१९ मा साउदी अराम्कोले उठाएको २९ अर्ब डलरको कीर्तिमान तोड्नेछ। लगानीकर्ताहरूका अनुसार मस्क ओपन एआई र एन्थ्रोपिकभन्दा अघि सार्वजनिक बजारमा पुग्न चाहन्छन्।

अहिलेको मर्जरपछि टेस्लासँग पनि भविष्यमा गाभिन सक्ने अनुमान सुरु भएका छन्। टेस्लाले हालै एक्स एआईमा दुई अर्ब डलर लगानी गर्दै एआई र मानवरूपी रोबोटतर्फ रणनीति मोडेको छ।

मस्क यसअघि पनि जटिल कर्पोरेट निर्णयका लागि चिनिएका छन्। सन् २०१६ मा उनले टेस्लाको सेयर प्रयोग गरी कठिन अवस्थाबाट गुज्रिरहेको सोलार सिटी खरिद गरेका थिए। जसले वर्षौँ लामो कानूनी विवाद जन्मायो।

मस्कका अनुसार भविष्यको एआई विकास पृथ्वीमै सीमित रहन सक्दैन। विशाल डाटा सेन्टर, तीव्र ऊर्जा खपत र उच्च कम्प्युटिङ क्षमताका कारण एआईको अर्को चरण अन्तरिक्षसँग गाँसिनुपर्ने उनको तर्क छ। स्पेस एक्सका पुनः प्रयोग गर्न मिल्ने रकेट, स्टारलिंक उपग्रह सञ्जाल र सौर्य ऊर्जासँग एक्स एआईका एआई मोडेल र एक्सबाट प्राप्त हुने विशाल डाटा जोड्दा नयाँ किसिमको प्रविधिक संरचना बन्ने मस्कको दाबी छ।

के गर्दै छन् एलन मस्क? विश्वकै पहिलो ट्रिलिनियर बन्दै के गर्दै छन् एलन मस्क? विश्वकै पहिलो ट्रिलिनियर बन्दै


प्रकाशित : बिहीबार , माघ २२ २०८२१६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend