काठमाडौं- एलन मस्क सन् २०२६ मा विश्वकै पहिलो ट्रिलिनियर बन्ने सम्भावना देखिएको छ। मस्क आफैले अहिलेको अवस्थाबारे प्रश्न उठाइरहँदा उनी धनाढ्य सूचीमा अझ माथि चढ्दै छन्।
मस्कका लागि यो नयाँ भने होइन। मानिसहरू कम्प्युटर सिमुलेसनभित्र बाँचिरहेका हुन सक्छन् भन्ने सम्भावनाबारे गएको एक दशकदेखि मस्कले सार्वजनिक रूपमा बोल्दै आएका छन्। २०२५ मा उनले भोगेका घटनाहरूले त्यो सोचलाई झन् बल दिएजस्तो देखिन्छ।
वास्तविक संसार, घटना वा प्रणालीलाई कम्प्युटर, गणितीय मोडेल वा कृत्रिम वातावरणमा अनुकरण गरेर देखाउने प्रक्रिया नै सिमुलेसन हो। त्यसलाई बुझ्न, परीक्षण गर्न, अनुमान गर्न वा निर्णय लिन सजिलो होस् भनेर यसमा वास्तविक जस्तै अवस्था सिर्जना गरिन्छ।
राजनीति, व्यवसाय, प्रविधि र व्यक्तिगत सम्पत्तिको विस्तारलगायत सबै क्षेत्रमा मस्कले देखाएको असाधारण गति हेर्दा विश्वकै सबैभन्दा धनी व्यक्तिले अझ के-के गर्न सक्लान् भन्ने प्रश्न उठ्छ। एक पोडकास्टमा उनले भनेका थिए 'सबैभन्दा रोचक परिणाम नै सबैभन्दा सम्भावित हुन्छ।'
मस्कको तर्क छ, यदि हामी कुनै ‘नेटफ्लिक्स सिरिज’ हौँ भने त्यो सिरिजको रेटिङ राम्रो हुनैपर्छ। नत्र त शो नै बन्द हुन सक्छ। त्यसैले मानवीय जीवनका कथा पनि रोचक हुनुपर्छ। उतारचढाव, द्वन्द्व र पुनरुत्थानसहित।
२०२५ को सुरुवातमा मस्क राजनीतिक शक्तिको शिखरमा देखिए। ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको छेउमा उनी शक्तिशाली व्यक्तिका रूपमा चिनिन थाले। संघीय खर्च घटाउने नाममा उनले ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसिएन्सी’ मार्फत आक्रामक हस्तक्षेप गरे।
ट्रम्पसँगकै त्यो सम्बन्ध लामो समय भने टिकेन। वर्षको मध्यतिर पुग्दा मस्क र ट्रम्पबीचको सम्बन्ध नाटकीय रूपमा बिग्रियो। आलोचना, आरोप र दूरी बढ्दै गयो।
विस्तारै मस्कले ट्रम्पसँगको सम्बन्ध पुन: सुधार्ने संकेत दिए। अहिले सम्बन्ध सुधारिएको पनि देखिन्छ। भेनेजुएलामाथि अमेरिकाले गरेको कामलाई मस्कले ठूलो समर्थन गरिरहेका छन्। अहिले उनी रिपब्लिकनहरूलाई थप आर्थिक सहयोग गर्ने सम्भावनामा पुगिसकेका छन्।
मस्कले राजनीतिमा मात्र होइन व्यवसायमा पनि नयाँ मोडहरू देखाइरहेका छन्। गएको वर्ष नै टेस्लाको बजार मूल्य नयाँ उचाइमा पुग्यो तर विशेषगरी युरोपमा विद्युतीय सवारी साधनको डेलिभरी भने लगातार दोस्रो वर्ष घट्यो।
यस्तोमा पनि लगानीकर्ताको विश्वास भने डगमगाएन। वासिङ्टनबाट मस्क बाहिरिएपछि उनीहरू झन् उत्साहित भए र इतिहासकै सबैभन्दा ठूलो पारिश्रमिकका लागि प्याकेज स्वीकृत गरे। यदि मस्कले साहसी लक्ष्यहरू पूरा गरे भने उक्त प्याकेजबाट उनलाई एक ट्रिलियन डलरसम्म भुक्तानी हुन सक्छ।
टेस्लालाई साधारण कार कम्पनीबाट पूर्ण रोबोटिक्स र एआई कम्पनीमा रूपान्तरण गर्न यी सबै विषयले मस्कलाई सहयोग नै पुग्ने देखिन्छ।
मस्कको अर्को साम्राज्य स्पेस एक्स अझै ठूलो खेलको तयारीमा छ। कम्पनी यसै वर्ष सार्वजनिक सेयर निष्कासनमा जान सक्ने चर्चा छ। यदि १.५ ट्रिलियन डलर मूल्यांकनमा आईपीओ आयो भने मस्कको सम्पत्ति ट्रिलियन डलर पुग्न कठिन हुने छैन।
अन्तरिक्षमै एआई डेटा सेन्टर खोल्ने, चन्द्रमामा कारखाना बनाउने र स्टारसिपलाई पूर्ण पुनः प्रयोगयोग्य बनाउने उनका योजना कथाजस्तै सुनिन्छन्। तर त्यसमा उनले मेहनतसाथ काम पनि गरिरहेका छन्।
मस्कको सामाजिक सञ्जाल कम्पनी एक्समा एआई च्याटबोट ‘ग्रोक’ बाट आएको यहूदीविरोधी पोस्टले ठूलो विवाद पनि जन्मायो। च्याटबोटले आफूलाई 'हिटलर' भनेको घटनाले अरू कुनै स्टार्टपलाई डुबाउन पनि सक्थ्यो। तर मस्कका लागि यो अर्को मोड मात्र बन्यो। विवाद छिट्टै ओझेलमा पर्यो र उनी एक्स एआई लागि थप अर्बौँ डलर जुटाउने अभियानतर्फ अघि बढे। ओपन एआई र गुगलसँग अहिले उनी प्रत्यक्ष प्रतिस्पर्धा गर्ने लक्ष्यसहित लागिरहेका छन्।
फोर्ब्सका अनुसार सन् २०२५ को अन्त्यसम्ममा मस्कको कुल सम्पत्ति करिब ७२६ अर्ब डलर पुगेको छ। जुन एकै वर्षमा दोबरभन्दा बढीले वृद्धि भएको जनाइएको छ। स्पेसएक्सले ८०० अर्ब डलरको मूल्यांकन खोजिरहेको दोस्रो चरणको सेयर बिक्री र डेलावेयर सुप्रिम कोर्टले उल्ट्याएको २०१८ को पारिश्रमिक विवाद (हालको मूल्य १३९ अर्ब डलर) ले उनको सम्पत्तिमा थप उचाइ थपेको छ। यदि स्पेस एक्स सार्वजनिक भएमा मस्क विश्वकै पहिलो ट्रिलियनर बन्ने बाटोमा छन्।
मस्कको यति ठूलो व्यक्तिगत सम्पत्ति कल्पनै गर्न नसकिने देखिएको छ। उनले भनेजस्तै साँच्चै कुनै सिमुलेसनमा रहेजस्तै। उनको सिमुलेसन तर्क आधुनिक जीवनमा प्रविधिको तीव्र विकासबाट नै आएको हो। दुई पुस्ताभित्रै ‘पोंग’ जस्ता साधारण खेलबाट आजका यथार्थपरक थ्रीडी खेलसम्म आइपुगेका छौँ। जहाँ लाखौँ खेलाडी एकैसाथ प्रतिस्पर्धा गर्छन्।
(ब्लुमबर्ग, फोर्ब्स, दि न्यू योर्क टाइम्सका सामग्रीमा आधारित भएर यो समाचार तयार पारिएको हो।)