काठमाडौं- नेपालका बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जाको गुणस्तरबारे बारम्बार प्रश्न उठ्ने गरेको छ। पहिले अध्ययनबिना कर्जा प्रवाह गर्ने र कर्जा उठ्ने नदेखेपछि 'एभरग्रिनिङ' गरेर वित्तीय विवरणमा कृत्रिम सजावट गर्ने काम प्राय बैंकहरूले गर्दै आएका छन्।
कर्जा एभरग्रिनिङ अर्थात टपअप गरेर वित्तीय विवरण वास्तविकभन्दा राम्रो देखाउने र नगद लाभांश दिने काममा पछिल्लो समय सिद्धार्थ बैंक अग्रपंक्तिमा देखिन्छ। यस्तोमा नियामक नेपाल राष्ट्र बैंक भने मौन छ। राष्ट्र बैंकले समेत बैंक तथा वित्तीय संस्थाहरूलाई नगद लाभांशमा नै जोड दिएकाले गलत वितरण पेश गरेरै भएपनि नगद लाभांश वितरणमा सिद्धार्थ बैंकको मनोबल उच्च भएको छ।
कोभिड १९ पछि अर्थतन्त्रमा देखिएको शिथिलता र गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले कर्जा विस्तार नभइरहेको समयमा सिद्धार्थ बैंकले सामान्य समयझैँ गरी करिब ८० करोड नगद लाभांश वितरण गरेको छ। जसको सिधा असर बैंकको प्राथमिक पुँजीकोषमा परिसकेको छ।
पुँजीकोषमा असर पर्ने देखेर नै सिद्धार्थ बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशनविपरीत गएर वासेल तयार पारी नगद लाभांश दिएको छ। अर्कोतर्फ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा चमत्कारिक ढंगबाट खराब कर्जा घटाएर वितरणयोग्य नाफा बढाएको छ। जुन सान्दर्भिक देखिँदैन।
गत आर्थिक वर्षको अधिकांश समयमा ४ प्रतिशतभन्दा माथि खराब कर्जा रहेको सिद्धार्थ बैंकले वार्षिक प्रतिवेदन तयार पार्दा करिब शतप्रतिशतले खराब कर्जा घटाएको देखाएको छ। जसले बैंकको वित्तीय विवरणको पारदर्शितामाथि शंका उब्जाएको हो।
गतवर्ष वर्षभर नै २० अर्ब कर्जा लगानी गरेको सिद्धार्थ बैंकले अन्तिम त्रैमासमा आएर एक तिहाइभन्दा बढी कर्जा लगानी गर्नुले पनि खराब कर्जा घटाउनका लागि ऋणीहरूलाई ठूलो मात्रामा टपअप सुविधा दिएको प्रस्ट हुन्छ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थ बैंकको खराब कर्जा बढेर ४.०४ प्रतिशत पुगेको थियो। उक्त आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको खराब कर्जा क्रमश: ३.९१ प्रतिशत र ४.५० प्रतिशत रहेको तथ्यांकमा समेत देखिन्छ। तर उक्त आर्थिक वर्षको चौथो त्रैमासमा भने बैंकको खराब कर्जा घटेर २.६२ प्रतिशतमा आएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा २.६२ प्रतिशतमा सीमित भएको खराब कर्जा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फेरि बढेर ३.८ प्रतिशतमा आएको छ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ पनि बैंकले यस्तै वित्तीय विवरण प्रस्तुत गरेको थियो। उक्त आर्थिक वर्षको पहिलो त्रैमासमा खराब कर्जा ३.४४ प्रतिशत रहेको थियो। यस्तै उक्त वर्षको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा २.५६ प्रतिशत, तेस्रो त्रैमासमा २.५७ प्रतिशत र अन्तिम त्रैमासमा आएर २.२२ प्रतिशतमा सीमित भएको थियो।
नगद लाभांश घोषणा गर्दा वासेल रिपोर्टमा असर पर्ने तथ्यलाई विचार गरेर सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वितरणयोग्य घाटा लुकाएको छ। उक्त घाटा लुकाउँदा बैंकको प्राथमिक पुँजीकोषमा दबाब नदेखिने र बढी नगद लाभांश दिन पाइने नियत प्रस्ट हुन्छ।
'क्यापिटल एड्युक्वेसी फ्रेमवर्क, २०१५' मा प्राथमिक पुँजी (टायरवान क्यापिटल) अन्तर्गत चालु आर्थिक वर्षको अपरिष्कृत खुद नाफा देखाउँदा राष्ट्र बैंकले व्यवस्था गरेका सम्पूर्ण नियामकीय कोषहरू (साधारण जगेडाकोष, एक्सचेन्ज फलक्चुयसन फण्ड, स्टाफ बोनस, नियामकीय समायोजन) हरू कटाएर मात्रै देखाउनुपर्ने व्यवस्था छ। यदि यस्ता कोषहरू समायोजन भएका छैनन् भने यस्तो अपरिष्कृत खुद नाफा प्राथमिक पुँजीकोषको अंग नहुने प्रस्ट व्यवस्था रहेको छ। तर सिद्धार्थ बैंकले यस्ता कोषहरूमा रकम जम्मा नगरी गलत अपरिष्कृत खुद नाफा देखाउँदै आएको छ।
अर्कोतर्फ सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवतरणमा यस त्रैमासको खुद नोक्सानी २२ करोड १६ लाख रुपैयाँ समायोजन गरेर वितरणयोग्य खुद नाफा १ अर्ब ६१ करोड रुपैयाँ देखाएको छ। जुन तथ्यपरक नै देखिन्छ तर वासेल रिपोर्टमा सोही नाफालाई लगेर सञ्चित नाफाको रुपमा देखाउनुपर्ने भएपनि बैंकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफा १ अर्ब ८३ करोड रुपैयाँ र २२ करोड २१ लाख रुपैयाँ सञ्चित नोक्सानीको सट्टा ११ करोड ८१ लाख रुपैयाँ चालु आर्थिक वर्षको अपरिष्कृत नाफाको रुपमा देखाएको छ। जुन राष्ट्र बैंकको क्यापिटल एड्युकेसी फ्रेमवर्कको प्राथमिक पुँजीकोषसम्बन्धी बुँदा नम्बर ५ को गम्भीर उल्लंघन हो।
क्यापिटल चार्जको उच्च जोखिम
चालु आर्थिक वर्षको पहिलो त्रैमास रहेको २२ करोड २१ लाख रुपैयाँ वितरणयोग्य घाटा समायोजन नगरी गत आर्थिक वर्ष कायम भएको १ अर्ब ८३ करोड रुपैयाँ र उल्टै ११ करोड ८१ लाख रुपैयाँ वितरणयोग्य नाफा देखाएर तयार पारिएको वासेल रिपोर्टमा ठूलो समायोजन देखिने भएको छ।
गत आर्थिक वर्षको नाफाबाट बैंकले वितरण गरेको करिब ७८ करोड रुपैयाँ नगद लाभांश समायोजन हुँदा बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.२८ प्रतिशत हाराहारीमा आउने देखिन्छ।
कर्जा लगानीका लागि त्यति ठूलो स्पेस नभएको सिद्धार्थ बैंकले दिएको नगद लाभांशले प्राथमिक पुँजीकोषमा थप असर गर्ने देखिन्छ। यद्यपी बैंकले पुसमा परिपक्व हुन लागेको २ अर्ब १६ करोड रुपैयाँबराबरको डिबेन्चर भुक्तानी गरेर नाफा बढाउने रणनीति लिएको देखिन्छ। यसले बैंकको वितरणयोग्य नाफा बढेको देखाएपनि प्राथमिक पुँजीकोष अनुपातमा भने खासै ठूलो असर पार्ने देखिँदैन।
डिबेन्चर परिपक्व हुनुभन्दा अगाडिको प्रोभिजनिङबापतको रकम बैंकले वितरणयोग्य नाफामा राइट ब्याक गर्न पाएपनि त्यति नै बराबर प्राथमिक पुँजीकोष अंगको रुपमा रहने क्यापिटल रिडेम्सन रिजर्भ घट्ने भएकाले बैंकको प्राथमिक पुँजीकोष अनुपातमा तात्विक असर पार्ने देखिँदैन।
बरु चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा समेत अर्थतन्त्रले गति लिन नसकेमा बैंकको खराब कर्जा थप बढ्ने र खुद नाफामा संकुचन आउने देखिन्छ। जसले गर्दा बैंकलाई थप कर्जा विस्तारमा समस्या आउने निश्चित छ।
खराब कर्जा वृद्धि भएर नाफामा संकुचन आउने अवस्था भएमा सिद्धार्थ बैंकको प्राथमिक पुँजीकोष थप संकुचित हुने देखिन्छ। पुँजी अपुग भएका कारण बैंकले थप कर्जा लगानी गर्न नसक्ने अवस्था भएमा बैंकमाथिको दबाब थप चुलिने देखिन्छ।
अर्कोतर्फ पुसमा परिपक्व हुन लागेको डिबेन्चरबाट बैंकले नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। उक्त रकम आगामी आर्थिक वर्ष बोनस सेयरको रुपमा वितरण गर्नुपर्ने नियामकीय प्रबन्ध रहेको छ।
उक्त डिबेन्चर परिपक्व भएसँगै पूरक पुँजी पुर्याउन बैंकले २ अर्ब ५० करोडबराबरको नयाँ डिबेन्चर जारी गरिसकेकाले उक्त डिबेन्चरका लागि पनि निश्चित रकम रिडम्सन अन डिबेन्चरमा राख्नुपर्ने भएकाले सिद्धार्थ बैंक पुँजीकोष अनुपात अर्थात क्यापिटल चार्जको उच्च जोखिममा देखिन्छ।
प्राथमिक पुँजीकोष अनुपात ८.५ प्रतिशत र पूरक पुँजीकोष अनुपात २.५ प्रतिशत गरी पुँजीकोष पर्याप्तता अनुपात ११ प्रतिशत कायम गर्नुपर्ने नियामकीय व्यवस्था रहेको छ। अर्थतन्त्रमा देखिएको संकुचन र कर्जा लगानीमा देखिएको शिथिलताले काउन्टरसाइक्लिकल बफर नलाग्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
बैंकले ८.५ प्रतिशत प्राथमिक पुँजीकोष अनुपात पूरा गर्न नसकेमा उक्त नगद लाभांश वितरण गर्न नपाउनुका साथै थप कर्जा लगानी गर्न नपाउने व्यवस्था रहेको छ। साथै बैंकले कर्जा लगानीको सट्टा असुलीमा जोड दिनुपर्ने वा पुँजी वृद्धिका उपायहरू अवलम्बन गर्नुपर्ने नियामकीय प्रावधान छ।
यसरी सिद्धार्थ बैंकले आफ्ना मुख्य मालिकहरूलाई नगद लाभांशमार्फत खुसी बनाउन खोज्दा बैंकको वित्तीय अवस्था भने बिग्रिँदै गएको छ। जनताको खर्बौँ बचत बोकेको बैंकले गलत नीति लिँदा बैंकसँगै निक्षेपकर्ताको बचतसमेत जोखिममा पर्नसक्नेतर्फ नियामक राष्ट्र बैंक सचेत हुन आवश्यक देखिन्छ।
सिद्धार्थ बैंकको खराब कर्जा शंकास्पद, चौथो त्रैमासमा बढी कर्जा प्रवाह हुनुले 'कर्जा एभरग्रिनिङ'को आशंका
वासेल रिपोर्टमै छेडखानी गरेर सिद्धार्थ बैंकको नगद लाभांश वितरण, राष्ट्र बैंकको सुपरिवेक्षकीय भूमिकामा गम्भीर प्रश्न

.jpeg)