काठमाडौं- सिद्धार्थ बैंकले प्रत्येक वर्षको अन्तिम त्रैमासमा उठ्न नसक्ने कर्जाहरूमा टपअप सुविधा (ऋण तिर्नका लागि नयाँ सापटी) दिएर आफ्नो वित्तीय विवरण तयार पार्ने गरेको पाइएको छ।
राष्ट्र बैंकलाई यस विषयमा सम्पूर्ण जानकारी भएपनि फितलो सुपरिवेक्षणका कारण सिद्धार्थ बैंकले विगत तीन वर्षयता व्यापकरुपमा कर्जा एभरग्रिनिङ गर्दै आएको छ।
गत आर्थिक वर्ष २०८१/८२ को अन्तिम त्रैमासमा आएर १०० प्रतिशतभन्दा बढीले खराब कर्जा घटाएको छ। उक्त खराब कर्जामा आएको सुधार ऋणीले ऋण तिरेर नभइ बैंकले दिएको टपअप सुविधा र राष्ट्र बैंकको नजरअन्दाजका कारण भएको देखिन्छ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थ बैंकको खराब कर्जा बढेर ४.०४ प्रतिशत पुगेको थियो। उक्त आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा बैंकको खराब कर्जा क्रमश: ३.९१ प्रतिशत र ४.५० प्रतिशत रहेको तथ्यांकमा समेत देखिन्छ। तर उक्त आर्थिक वर्षको चौथो त्रैमासमा भने बैंकको खराब कर्जा घटेर २.६२ प्रतिशतमा आएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा २.६२ प्रतिशतमा सीमित भएको खराब कर्जा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फेरि बढेर ३.८ प्रतिशतमा आएको छ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ पनि बैंकले यस्तै वित्तीय विवरण प्रस्तुत गरेको थियो। उक्त आर्थिक वर्षको पहिलो त्रैमासमा खराब कर्जा ३.४४ प्रतिशत रहेको थियो। यस्तै उक्त वर्षको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा २.५६ प्रतिशत र तेस्रो त्रैमासमा २.५७ प्रतिशत र अन्तिम त्रैमासमा आएर २.२२ प्रतिशतमा सीमित भएको थियो।
बैंकहरुले अन्तिम त्रैमासमा आएर टपअप गरेर कर्जा मिलाउने विषय सामान्य भइसकेको एक सीईओ बताउँछन। तर अन्तिम त्रैमासमा नयाँ कर्जा लगानी गर्दा एक प्रतिशत अतिरिक्त प्रोभिजनिङ गर्नुपर्ने भएकाले नयाँ कर्जा लगानी नहुने उनको भनाइ छ।
'चौथो त्रैमासमा समान्यत: कर्जा लगानी गर्दैनन्। पुरानै कर्जा उठाउनमा बैंकहरुको जोड हुन्छ। नयाँ कर्जा जारी गर्दा राष्ट्र बैंकको प्रावधानअनुसार थप एक प्रतिशत प्रोभिजनिङ गर्नुपर्छ। यसले बैंक खराब कर्जा थप बढ्छ। तर पछिल्लो समय बैंकहरुले टपअप गरेर वित्तीय विवरण मिलाउने विषय सामान्य भइसकेको छ। सबैले गर्ने नै यही नै हो', ती सीईओले भने। वर्षको अन्त्यमा राष्ट्र बैंकले तोकेको प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा प्रवाह अपुग भएमा पनि बैंकले अन्य बैंकबाट लोन स्वाप गर्ने गरेकोसमेत उनको भनाइ छ।
विगत तीन वर्षमा सिद्धार्थ बैंकको कर्जा प्रवाहको तथ्यांक हेर्ने हो भने चौथो त्रैमासमा आएर कुल कर्जा प्रवाहको एक तिहाइ लगानी भएको देखिन्छ। जब कि अन्तिम त्रैमासमा बैंकहरूले नयाँ कर्जा लगानी खासै स्वीकृत गर्दैनन्। बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो हिसाबकिताब मिलान गर्न असुलीमा तीब्रता दिने गर्छन्। अन्तिम त्रैमासमा बैंकले कर्जा असुली बढाउने र नयाँ आर्थिक वर्षमा नयाँ ब्याजदरमा थप लगानी विस्तार गर्ने गर्दछन्।
विगत तीन आर्थिक वर्षमा सिद्धार्थ बैंकले चौथो त्रैमासमा आएर कुल लगानीकै एक तिहाइ कर्जा लगानी गरेकाले बैंकले ठूलै मात्रामा कर्जा एभरग्रिनिङ गरिरहेको प्रस्ट हुन्छ। गत आर्थिक वर्ष सिद्धार्थ बैंकले करिब २० अर्ब कर्जा प्रवाह गरेकोमा पहिलो त्रैमासमा ५ अर्ब ५० करोड रुपैयाँ, दोस्रो त्रैमासमा ४ अर्ब ३६ करोड रुपैयाँ, तेस्रो त्रैमासमा २ अर्ब ७ करोड र अन्तिम त्रैमासमा सबैभन्दा धेरै ६ अर्ब ६० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आएर करिब ३ अर्ब ५४ करोड रुपैयाँ थप कर्जा लगानी गरेको छ। आर्थिक वर्ष २०८०/८१ पनि बैंकले चौथो त्रैमासमा नै आएर बढी कर्जा लगानी गरेको देखिन्छ। उक्त आर्थिक वर्ष कुल १० अर्ब कर्जा लगानी गरेकोमा चौथो त्रैमासमा २ अर्बभन्दा बढी लगानी गरेको छ।
सिद्धार्थ बैंकले खराब कर्जा मिलान गरेर बढी नाफा देखाउनका लागि टपअपको सुविधा उपयोग गर्ने गरेको छ। खराब कर्जा मिलानका लागि टपअपको सुविधा प्रयोग गर्दा बैंकको नाफा बढी देखाउन मद्दत गर्छ।
कर्जा एभरग्रिनिङलाई गलत बैंकिङ अभ्यास भन्दै यसमा बन्देज लगाइएको छ। कर्जा एभरग्रिनिङ रोक्न राष्ट्र बैंकले सर्कुलर नै जारी गरेको छ। यस्तो गतिविधिमा संलग्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले नियामकीय कारबाही गर्दै आएको भएपनि सिद्धार्थ बैंकलाई खुला छोड्नुले राष्ट्र बैंकको सुपरिवेक्षकीय भूमिकामा समेत प्रश्न उठेको छ।
लगानीकर्तालाई बोनस सेयरभन्दा नगद लाभांशले बढी सन्तुष्टि दिने भन्दै सिद्धार्थ बैंकले बढी नाफा देखाएर नगद लाभांशमा नै जोड गरिरहेको छ। गत आर्थिक वर्ष एक तिहाइभन्दा बढी कर्जा चौथो त्रैमासमा थपेर बैंकले करिब ७८ करोड ५.५ प्रतिशत नगद लाभांश वितरण गरेको छ।
नगद लाभांश वितरणले बैंकको प्राथमिक पुँजीकोषमा दबाब सृजना नहोस् भन्ने उद्देश्यसहित पहिलो त्रैमासको वासेल रिपोर्टमा बैंकले छेडखानी गर्दै आएको छ।
गत आर्थिक वर्ष पनि बैंकले क्यापिटल एड्युकेसी फ्रेमवर्कविपरित गएर वासेल रिपोर्ट तयार पारेको थियो। यस वर्षको पहिलो त्रैमासमा पनि बैंकले वास्तविकताभन्दा बढी वितरणयोग्य नाफा देखाएर वासेल रिपोर्ट तयार पारेको छ। करिब २२ करोड वितरणयोग्य घाटामा रहेको सिद्धार्थ बैंकले उल्टै ११ करोड वितरणयोग्य नाफा देखाएको छ।
गत वर्षको वितरणयोग्य नाफामा यस वर्षको पहिलो त्रैमासको वितरणयोग्य घाटा समायोजन गरेर करिब १ अर्ब ६० करोड वितरणयोग्य नाफा रहेको आफ्नो नाफानोक्सान बाँडफाँट खातामा उल्लेख गरेपनि बैंकले तयार पारेको वासेल रिपोर्टमा भने फरक तथ्य प्रस्तुत गरेको छ। जुन क्यापिटल एड्युकेसी फ्रेमवर्कविपरित रहेको देखिन्छ।
वासेल रिपोर्टमै छेडखानी गरेर सिद्धार्थ बैंकको नगद लाभांश वितरण, राष्ट्र बैंकको सुपरिवेक्षकीय भूमिकामा गम्भीर प्रश्न
सिद्धार्थ बैंकको शंकास्पद लाभांश घोषणा, क्षमताभन्दा २० करोड बढी बाँड्न खोज्दा राष्ट्र बैंक मुकदर्शक
सिद्धार्थ बैंक भन्छ - 'डिबेन्चर भुक्तानीका लागि नियामकीय कोषमा पैसा छुट्याउँदा घट्यो वितरणयोग्य नाफा'

.jpeg)