आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

वासेल रिपोर्टमै छेडखानी गरेर सिद्धार्थ बैंकको नगद लाभांश वितरण, राष्ट्र बैंकको सुपरिवेक्षकीय भूमिकामा गम्भीर प्रश्न

मंगलबार, मंसिर २ २०८२
वासेल रिपोर्टमै छेडखानी गरेर सिद्धार्थ बैंकको नगद लाभांश वितरण, राष्ट्र बैंकको सुपरिवेक्षकीय भूमिकामा गम्भीर प्रश्न

गत वर्षको यस्तै प्रवृत्तिलाई बैंकले यस वर्ष पनि निरन्तरता दिएको छ। नगद लाभांश वितरणले पुँजीकोषमा पर्नसक्ने दबाबलाई आँकलन गरी बैंकले नियामकीय प्रावधानभन्दा बाहिर गएर प्राथमिक पुँजीकोष अनुपात देखाएको छ।

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले गत वर्षको नाफाबाट १०.५३ प्रतिशत लाभांश घोषणा गर्नैका लागि राष्ट्र बैंकको नियम उल्लंघन गर्दै वासेल रिपोर्ट तयार पारेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड १६ लाख रुपैयाँ सञ्चित नोक्सानी भएपनि सिद्धार्थ बैंकले ११ करोड १८ लाख रुपैयाँ सञ्चित नाफा देखाउँदै प्राथमिक पुँजीकोष अनुपातमा गम्भीर छेडखानी गरेको छ।

गत वर्षको पहिलो र दोस्रो त्रैमासमा पनि सिद्धार्थ बैंकले वासेल प्रतिवेदनमा यस्तै प्रकारले छेडखानी गरेको थियो। नगद लाभांश वितरण गर्दा बैंकको प्राथमिक पुँजीकोष अपुग भएमा आगामी वर्ष लाभांश वितरण गर्न नपाइने र कर्जा लगानीभन्दा असुलीतर्फ जानुपर्ने भएकाले बैंकले प्राथमिक पुँजीकोषलाई एभरग्रिनिङ गर्दै आएको छ। 

नियामकीय निकाय राष्ट्र बैंकको सुपरिवेक्षण विभागले प्राथमिक पुँजीकोष अनुपातको अवस्थाको विश्लेषण नगरी नगद लाभांश स्वीकृत गरेको छ। कोभिड १९ र त्यसपछिको सृजित परिस्थिति तथा पछिल्लो जेनजी आन्दोलनले अर्थतन्त्रमा पारेको असर र भविष्यमा आउनसक्ने आर्थिक संकटलाई विचार नगरी सञ्चित नाफा रित्तो हुनेगरी नगद लाभांश वितरणको अनुमति दिनु नियामकीय त्रुटी भएको प्रस्ट हुन्छ।

बैंकले गलत वासेल रिपोर्ट तयार पार्दासमेत राष्ट्र बैंकको सुपरिवेक्षकीय भूमिका कमजोर देखिएको छ। क्यापिटल एड्युक्वेसी फ्रेमवर्क, २०१५ मा प्रथामिक पुँजी (टायरवान क्यापिटल) अन्तर्गत चालु आर्थिक वर्षको अपरिष्कृत खुद नाफा देखाउँदा राष्ट्र बैंकले व्यवस्था गरेका सम्पूर्ण नियामकीय कोषहरु (साधारण जगेडाकोष, एक्सचेन्ज फलक्चुयसन फण्ड, स्टाफ बोनस, नियामकीय समायोजन) हरु कटाएर मात्रै देखाउनुपर्ने व्यवस्था छ। यदि यस्ता कोषहरु समायोजन भएका छैनन् भने यस्तो अपरिष्कृत खुद नाफा प्राथमिक पुँजीकोषको अंग नहुने प्रस्ट व्यवस्था रहेको छ। तर सिद्धार्थ बैंकले यस्ता कोषहरुमा रकम जम्मा नगरी गलत अपरिष्कृत खुद नाफा देखाउँदै आएको छ।

अर्कोतर्फ सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवतरणमा यस त्रैमासको खुद नोक्सानी २२ करोड १६ लाख रुपैयाँ समायोजन गरेर वितरणयोग्य खुद नाफा १ अर्ब ६१ करोड रुपैयाँ देखाएको छ। जुन तथ्यपरक नै देखिन्छ तर वासेल रिपोर्टमा सोही नाफालाई लगेर सञ्चित नाफाको रुपमा देखाउनुपर्ने भएपनि बैंकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफा १ अर्ब ८३ करोड रुपैयाँ र २२ करोड २१ लाख रुपैयाँ सञ्चित नोक्सानीको सट्टा ११ करोड ८१ लाख रुपैयाँ चालु आर्थिक वर्षको अपरिष्कृत नाफाको रुपमा देखाएको छ। जुन राष्ट्र बैंकको क्यापिटल एड्युकेसी फ्रेमवर्कको प्राथमिक पुँजीकोष सम्बन्धी बुँदा नम्बर ५ को गम्भीर उल्लंघन हो। 

सिद्धार्थ बैंकका सीईओ सुन्दरप्रसाद कँडेलको बुझाइ फरक रहेको छ। राष्ट्र बैंकको फ्रेमवर्कविपरित गएर पनि अपरिष्कृत सञ्चित नाफा देखाउन पाउने उनको बुझाइ रहँदै आएको छ। गत वर्ष यस विषयमा कुरा राख्दा बैंकले नियामकीय कोषहरु समायोजन नगरी नाफा देखाएको उनले बताएका थिए। पुँजीकोषको अंगका रुपमा रहने साधारण जगेडाकोष, रिडेम्बसन अन डिबेन्चर लगायतका शीर्षकमा रकम खुद नाफा समायोजन गर्नुभन्दा अगाडिको नाफा वासेल रिपोर्टमा देखाइएको उनको दाबी थियो।

गत वर्षको यस्तै प्रवृत्तिलाई बैंकले यस वर्ष पनि निरन्तरता दिएको छ। नगद लाभांश वितरणले पुँजीकोषमा पर्नसक्ने दबाबलाई आँकलन गरी बैंकले नियामकीय प्रावधानभन्दा बाहिर गएर प्राथमिक पुँजीकोष अनुपात देखाएको छ।

बैंकले आफ्नो पहिलो त्रैमासमा तयार पारेको सञ्चित नाफालाई वासेल रिपोर्टमा देखाएको भए प्राथमिक पुँजीकोष २६ अर्ब ४७ करोड रुपैयाँको सट्टा २६ अर्ब १२ करोड रुपैयाँ आउने देखिन्छ। जसको असरस्वरुप बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.६७ प्रतिशतको सट्टा ९.६४ प्रतिशत आउने देखिन्छ। तर नियामकीय प्रावधानविपरित गएर बैंकले पुँजीकोष पर्याप्तता अनुपात १२.२१ प्रतिशत देखाएको छ।  वास्तविकरुपमा हेर्ने हो भने पहिलो त्रैमासमा बैंकको पुँजीकोष पर्याप्तता अनुपात १२.०८ प्रतिशत हुने देखिन्छ। 

लाभांश वितरण गरेपछि यसमा थप समायोजन हुने देखिन्छ। करिब ७८ करोड रुपैयाँ नगद लाभांश वितरणपश्चात बैंकको प्राथमिक पुँजीकोष २५ अर्ब ३९ करोडमा सीमित भएको छ। यसलाई बैंकले नै तयार पारेको कुल जोखिम भारित सम्पत्ति २ खर्ब ७३ अर्ब ७६ करोडले भाग गर्ने हो भने प्राथमिक पुँजीकोष अनुपात ९.२७ प्रतिशतमा आउने देखिन्छ। 

५ प्रतिशत बोनस सेयर वितरण गरेकाले बैंकको प्राथमिक पुँजीकोषमा थप घट्नबाट जोगाएको छ। अर्कोतर्फ राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लोन लस प्रोजिभिजनलाई पूरक पुँजीकोषमा गणना गर्न दिएकाले बैंकले २.५४ प्रतिशत पूरक पुँजीकोष पुर्‍याएको छ। बैंकको पूरक पुँजीकोष ६ अर्ब ९५ करोड रुपैयाँ रहेकोमा जेनेरल लोन लस प्रोभिजन ३ अर्ब ७ करोड रहेको छ। 

राष्ट्र बैंकले दिएको सुविधाको आडमा सिद्धार्थ बैंकले नगद लाभांश दिएको छ। यसले बैंकलाई पुँजीकोषमा थप दबाब दिने निश्चित छ।

यस्तै लाभांश वितरणपश्चात पुँजीकोष पर्याप्तता अनुपात ११.८१ प्रतिशतमा आउने देखिन्छ। यसले बैंकको थप कर्जा विस्तारमा असर पर्ने निश्चित छ।  

आफ्नो अपरिष्कृत वित्तीय विवरणमा १ अर्ब ८६ करोड रुपैयाँ वितरणयोग्य नाफा देखाएपनि अन्तिम लेखापरिक्षणका क्रममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८३ करोड रुपैयाँमा खुम्चिएको थियो। 

कार्तिक ३० गते वार्षिक साधारणसभा गर्दै सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस सेयर र करसहित ५.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। नगद लाभांश वितरणसँगै बैंकको सञ्चित नाफामा करिब १ अर्ब ४१ करोड रुपैयाँले घट्ने छ। बोनसबापतको करिब ७० करोड रुपैयाँ बैंकको पुँजीमा जोडिनेछ भने ७७ करोड ९१ लाख रुपैयाँबराबरको नगद लाभांश भने सिधै सेयर लगानीकर्ताको खातामा जम्मा हुने छ। त्यसले बैंकको प्राथमिक पुँजीकोषमा प्रत्यक्ष असर देखिएको छ। 

सिद्धार्थ बैंकको शंकास्पद लाभांश घोषणा, क्षमताभन्दा २० करोड बढी बाँड्न खोज्दा राष्ट्र बैंक मुकदर्शक सिद्धार्थ बैंकको शंकास्पद लाभांश घोषणा, क्षमताभन्दा २० करोड बढी बाँड्न खोज्दा राष्ट्र बैंक मुकदर्शक सिद्धार्थ बैंक भन्छ - 'डिबेन्चर भुक्तानीका लागि नियामकीय कोषमा पैसा छुट्याउँदा घट्यो वितरणयोग्य नाफा' सिद्धार्थ बैंक भन्छ - 'डिबेन्चर भुक्तानीका लागि नियामकीय कोषमा पैसा छुट्याउँदा घट्यो वितरणयोग्य नाफा'


प्रकाशित : मंगलबार, मंसिर २ २०८२१३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend