काठमाडौं- सिद्धार्थ बैंकले डिबेन्चर भुक्तानीका लागि १ अर्ब ४६ करोड रुपैयाँ नियामकीय कोषमा नाफा छुट्याउँदै वितरणयोग्य नाफा घटेको बताएको छ। ३६ करोड वितरणयोग्य नाफा देखाएर ५६ करोड रुपैयाँ बाँड्न लागेको समाचार बिजनेस न्युजमा प्रकाशित भएपछि बैंकले विज्ञप्ति जारी गर्दै वितरणयोग्य नाफा घट्नुको कारण प्रस्ट्याएको हो।
आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा अपरिस्कृत वित्तीय विवरणको आधारमा २.६० प्रतिशतको लाभांश क्षमता देखिएपनि नेपाल राष्ट्र बैंकबाट जारी निर्देशिन २०८०/८१ को हकमा आर्थिक वर्ष समाप्त भएको मितिले १ महिनाभित्र असुली भएको ब्याज रकमलाई समेत अघिल्लो आर्थिक वर्षको वित्तीय विवरणमा समायोजन गर्न पाउने विशेष व्यवस्था गरेबमोजिम सो अवधिमा असुली भएको ब्याज रकमलाई समेत समावेश गरि तयार गरिएको वित्तीय विवरणको आधारमा लाभांश क्षमतामा केही सुधार भइ ४.१२ प्रतिशत कायम भएको बैंकको दाबी छ।
बैंकले तयार पारेको वित्तीय विवरणमा बाह्य लेखापरीक्षण भइ नेपाल राष्ट्र बैंकको स्वीकृतपश्चात् ४ प्रतिशतको नगद लाभांश प्रस्ताव गरेको बैंकले बताएको छ।
'बैंकको वित्तीय विवरण तथा बाह्य लेखा परीक्षण र नेपाल राष्ट्र बैंकको सुक्ष्म अध्ययन तथा लेखापरीक्षणपश्चात मात्र स्वीकृति प्रदान गरिने हुँदा देशमा विद्यमान विषम परिस्थितिका बाबजुद बैंकले लाभांश क्षमतामा केही सुधार गरी सेयरधनी महानुभावहरूलाई ४ प्रतिशतको लाभांश प्रस्ताव पेश गरेको छ', बैंकले जारी गरेको विज्ञप्तिमा भनेको छ।
आव २०८०/८१ मा ३ अर्ब १ करोड खुद मुनाफा आर्जन गरेता पनि बैंकले जारी गरेको ऋणपत्रको भुक्तानीको लागि नियामकीय व्यवस्था अनुरुप ऋणपत्र भुक्तानी कोषको रुपमा १ अर्ब ४६ करोड रकमको विनियोजन गर्न परेको कारण बैंकको करिब १४.५ प्रतिशत वास्तविक लाभांश क्षमता हुँदाहुँदै उक्त विनियोजित रकमको कारणबाट बैंकको वितरणयोग्य मुनाफामा भारि संकुचन आएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
ऋणपत्रका लागि कोषमा रकम छुट्याएकाले यस वर्ष वितरणयोग्य नाफामा कमी आएपनि आगामी आर्थिक वर्षबाट लाभांश क्षमता बढ्ने बैंकको दाबी छ।
'तत्कालीन रुपमा झट्ट हेर्दा बैंकको लाभांश क्षमता केही प्रभावित देखिए तापनि ऋणपत्र भुक्तानी कोषमा विनियोजित रकमसमेत भोलिका दिनहरूमा जारी ऋणपत्रहरू परिपक्व हुँदै गएपछि सेयरधनी महानुभावहरूलाई नै बोनस सेयरको रुपमा लाभांश प्रदान हुने भएकाले यसरी जारी ऋणपत्रहरू आव २०८२/८३ मा २.१६ अर्ब, आव २०८३/८४ मा २.५ अर्ब र आव २०८४/८५ मा ३ अर्ब कमशः परिपक्व हुँदै जाने भएकाले बैंकको लाभांश क्षमतामा उल्लेख्य वृद्धि हुने देखिन्छ। तसर्थ देशमा विद्यमान प्रतिकूल परिस्थितिका बीचमा सिद्धार्थ बैंकको समग्र वित्तीय अवस्थालाई सबल र सन्तुलित मान्न सकिन्छ', विज्ञप्तिमा बैंकले भनेको छ।
सिद्धार्थ बैंकको शंकास्पद लाभांश घोषणा, क्षमताभन्दा २० करोड बढी बाँड्न खोज्दा राष्ट्र बैंक मुकदर्शक