बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

नेपालमा पहिलोपटक हरित हाइड्रोजनमा विदेशी लगानी, कोरियन कम्पनीसँग सम्झौता हुने

बिहीबार , भदौ १२ २०८२
नेपालमा पहिलोपटक हरित हाइड्रोजनमा विदेशी लगानी, कोरियन कम्पनीसँग सम्झौता हुने

यसअघि काठमाडौं विश्वविद्यालयले हाइड्रोजन कार परीक्षण गर्दै नेपालमै पहिलो रिफिलिङ स्टेसन सञ्चालन गरेर प्राविधिक सम्भाव्यता देखाइसकेको छ।

काठमाडौं- नेपालमा पहिलोपटक हरित हाइड्रोजन उत्पादनका लागि विदेशी लगानी आउने भएको छ। दक्षिण कोरियाली कम्पनी जी-फिलोस कोअपरेटिभ लिमिटेडले नेपालमा ग्रीन हाइड्रोजन उत्पादन र फ्युल सेल प्लान्ट स्थापना गर्ने प्रस्ताव अघि बढाएसँगै बिहीबार लगानी बोर्ड नेपाल र कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर हुने भएको हो।

बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार कम्पनीले प्रारम्भिक चरणमै करिब ५० करोड अमेरिकी डलर अर्थात् सात अर्ब रूपैयाँभन्दा बढीको लगानी गर्ने प्रस्ताव गरेको छ। पाइलट परियोजनाको रुपमा २० मेगावाट क्षमताबाट हाइड्रोजन उत्पादन सुरु गर्ने योजना रहेको उनले जानकारी दिए। तर प्लान्ट कहाँ स्थापना गर्ने भन्नेबारे भने अझै टुंगो लागेको छैन।

यसअघि गत बैशाख १५ गते कम्पनीले लगानी बोर्डमा पूर्व-सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनका आधारमा जेठ १३ गते बसेको लगानी बोर्डको ६३औँ बैठकले विस्तृत सम्भाव्यता अध्ययन अघि बढाउने स्वीकृति दिइसकेको छ। विस्तृत प्रतिवेदन आएपछि परियोजना स्वीस च्यालेन्ज प्रक्रियाबाट अगाडि बढाउने वा नगर्ने विषयमा मूल्यांकन गर्न प्राविधिक सहसचिवको संयोजकत्वमा समिति पनि गठन भइसकेको छ।

कम्पनीले प्रस्तुत गरेको प्रस्तावअनुसार पहिलो चरणमा करिब २० अर्ब रूपैयाँ बराबरको लगानी हुनेछ भने पाइलट परियोजना सफल भएमा भविष्यमा चरणबद्धरूपमा विस्तार गर्दै करिब एक खर्ब रूपैयाँसम्म लगानी गर्ने योजना रहेको छ। जलविद्युत उत्पादन उच्च हुने वर्षायाममा बगेर जाने अतिरिक्त विद्युत प्रयोग गरी इलेक्ट्रोलाइसिस प्रविधिमार्फत पानीलाई विभाजन गरी हाइड्रोजन र अक्सिजन उत्पादन गर्ने लक्ष्य कम्पनीले लिएको छ।

उत्पादित ग्रीन हाइड्रोजनलाई स्टिल उद्योग, रासायनिक मल उत्पादन, अमोनियम नाइट्रेट निर्माण र ऊर्जा भण्डारणमा प्रयोग गर्न सकिने छ। साथै भारत र चीनजस्ता छिमेकी मुलुकमा निर्यात गर्ने सम्भावनालाई पनि कम्पनीले प्राथमिकतामा राखेको छ।

विश्वव्यापीरूपमा वैकल्पिक स्वच्छ ऊर्जा स्रोतका रूपमा ग्रीन हाइड्रोजनलाई प्राथमिकतासाथ अघि बढाइँदै आएको छ। नेपालले समेत सन् २०५० भित्र शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएको सन्दर्भमा यस परियोजनाबाट त्यो लक्ष्य हासिल गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ।

यसअघि काठमाडौं विश्वविद्यालयले हाइड्रोजन कार परीक्षण गर्दै नेपालमै पहिलो रिफिलिङ स्टेसन सञ्चालन गरेर प्राविधिक सम्भाव्यता देखाइसकेको छ।

सरकारले गत वर्ष नै ग्रीन हाइड्रोजन उत्पादन, प्रयोग र विकासका लागि नीति २०८० जारी गरिसकेको छ। उक्त नीतिको पृष्ठभूमिमा आएको कोरियाली लगानी प्रस्तावलाई नेपालले ऐतिहासिक अवसरका रूपमा लिएको छ। विस्तृत सम्भाव्यता अध्ययन पूरा भएपछि मात्र यस परियोजना औपचारिकरूपमा अघि बढ्नेछ।

नेपालमा ग्रिन हाइड्रोजन उत्पादनका लागि कोरियाली कम्पनी जी फिलोसको प्रस्ताव नेपालमा ग्रिन हाइड्रोजन उत्पादनका लागि कोरियाली कम्पनी जी फिलोसको प्रस्ताव


प्रकाशित : बिहीबार , भदौ १२ २०८२१२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend