बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपालमा ग्रिन हाइड्रोजन उत्पादनका लागि कोरियाली कम्पनी जी फिलोसको प्रस्ताव

पहिलो चरणमा २० अर्ब रुपैयाँ लगानी गर्ने

सोमबार, असार ९ २०८२
नेपालमा ग्रिन हाइड्रोजन उत्पादनका लागि कोरियाली कम्पनी जी फिलोसको प्रस्ताव

हाइड्रोजन उत्पादन र प्रयोगको क्षेत्रमा विकसित मुलुकहरूले ठूलो मात्रामा लगानी गरिरहेका छन्। नेपालजस्तो जलविद्युतसम्पन्न मुलुकका लागि यो अवसरका रूपमा लिइएको छ।

काठमाडौं- ऊर्जा प्रविधिमा विशेषज्ञताप्राप्त दक्षिण कोरियाली कम्पनी जी फिलोसले नेपालमा ग्रिन हाइड्रोजन उत्पादन र फ्युल सेल प्लान्ट स्थापनाका लागि प्रस्ताव पेस गरेको छ। कम्पनीले प्रारम्भिक चरणमा २० मेगावाट क्षमताको पाइलट परियोजना स्थापना गर्ने उद्देश्यसहित लगानी बोर्डमा प्रस्ताव गरेको हो।

२०७९ साल बैशाख १५ गते कम्पनीले लगानी बोर्डमा बुझाएको प्रतिवेदनको आधारमा बोर्डले विस्तृत सम्भाव्यता अध्ययन गर्न अनुमति दिइसकेको छ।

लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार हाइड्रोजन उत्पादन र फ्युल सेल प्रविधिको परीक्षण परियोजना स्थापनाको लागि आवश्यक विस्तृत अध्ययन अघि बढाउने स्वीकृति कम्पनीलाई दिइएको हो।

पहिलो चरणमा कोरियाली कम्पनीले २० अर्ब हाराहारी लगानी गर्नेगरी प्रस्ताव पेश गरेको छ। पाइलट प्रोजेक्ट सफल भएमा एक खर्ब रुपैयाँ लगानी आवश्यक पर्नेसमेत प्रस्तावमा पेश गरेको छ।

अब कम्पनीले जलविद्युतबाट हाइड्रोजन उत्पादन गर्न पर्याप्त क्षमता छ कि छैन, सम्भावित माग, भारत र चीनजस्ता क्षेत्रीय बजारमा निर्यातको सम्भाव्यता, लगानी लागत, सामाजिक र वातावरणीय प्रभाव, नीति तथा कानूनी पाटाहरू, परियोजनाको आर्थिक व्यवहारिकतालगायत विषयमा अध्ययन गरेर प्रतिवेदन पेस गर्नेछ।

विस्तृत सम्भाव्यता प्रतिवेदन आएपछि सो परियोजनालाई स्वीस च्यालेन्ज प्रक्रियाबाट अगाडि बढाउन उपयुक्त छ वा छैन भन्ने मूल्यांकन गर्न बोर्डले प्राविधिक सहसचिवको संयोजकत्वमा एक समिति गठन गरिसकेको छ।

कम्पनीले प्रस्ताव गरेको परियोजना चरणबद्ध रूपमा विस्तार गर्नमिल्ने मोडेलमा आधारित छ। प्रारम्भमा २० मेगावाट क्षमताको पाइलट प्लान्टबाट हाइड्रोजन उत्पादन सुरु गरिने र भविष्यमा बजारको माग तथा सरकारी नीतिका आधारमा परियोजना विस्तार गरिने प्रस्तावमा उल्लेख गरिएको छ।

जलविद्युतको अतिरिक्त विद्युत प्रयोग गरेर इलेक्ट्रोलाइसिस विधिबाट पानीको अणु विभाजन गरी हाइड्रोजन र अक्सिजन उत्पादन गरिने जनाइएको छ। आवश्यक विद्युत वर्तमानमा सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत आयोजनाबाट आपूर्ति गरिने जनाइएको छ।

जी फिलोसले उत्पादन गर्ने हाइड्रोजनको उपयोग रासायनिक मल उद्योग, स्टिल उत्पादन, अमोनियम नाइट्रेट निर्माण र ऊर्जा भण्डारण प्रणालीमा गर्ने लक्ष्य लिएको छ। साथसाथै भारत र चीनजस्ता छिमेकी मुलुकहरूमा निर्यात गर्ने सम्भावनालाई पनि कम्पनीले प्राथमिकतामा राखेको छ।

विश्वमा अहिले ग्रिन हाइड्रोजनलाई वैकल्पिक स्वच्छ ऊर्जाको रूपमा प्राथमिकताका साथ अगाडि बढाइएको छ। नेपालले पनि सन् २०५० सम्म शून्य कार्बन उत्सर्जनको प्रतिबद्धता जनाइसकेको सन्दर्भमा ग्रिन हाइड्रोजन उत्पादन तथा प्रयोगले उक्त लक्ष्य हासिल गर्न टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

हाइड्रोजन उत्पादन र प्रयोगको क्षेत्रमा विकसित मुलुकहरूले ठूलो मात्रामा लगानी गरिरहेका छन्। नेपालजस्तो जलविद्युतसम्पन्न मुलुकका लागि यो अवसरका रूपमा लिइएको छ।

यसअघि काठमाडौं विश्वविद्यालयले पहिलोपटक हाइड्रोजन कार ल्याएर नेपालमै हाइड्रोजन उत्पादन र रिफिलिङ स्टेसनको सफल परीक्षण गरिसकेको छ।

विश्वविद्यालयका ग्रिन हाइड्रोजन ल्याब प्रमुख डा. विराज सिंह थापाका अनुसार आगामी १० वर्षभित्र विश्व बजारमा ग्रिन हाइड्रोजनको माग उल्लेख्य रूपमा बढ्नेछ र नेपालजस्ता मुलुकहरूले यसबाट विदेशी मुद्रा आर्जन गर्न सक्नेछन्। उनको भनाइमा ग्रिन हाइड्रोजन उत्पादन र प्रयोगमार्फत नेपालले घरेलु रासायनिक मल उत्पादन गर्न सकेमा अहिले आयातमा जाने ठूलो मात्राको विदेशी मुद्रा बचत गर्न सकिनेछ।


प्रकाशित : सोमबार, असार ९ २०८२११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend