काठमाडौं- हिमालयन बैंकको संस्थापक सेयर खरिदका लागि पाकिस्तानको हबिब बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ।
नेशनल लाइफले हबिब बैंकको नाममा रहेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर प्रतिकित्ता ११८ रुपैयाँ ८८ पैसामा खरीद गर्ने प्रस्ताव पेश गरेपछि साउन अन्तिम साता दुवै पक्षबीच सम्झौता भएको हो। यो सम्झौता बैंकको सञ्चालक समिति र नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात मात्र कार्यान्वयनमा जानेछ।
हिमालयन बैंकले गत जेठ ३० गते ३५ दिने सार्वजनिक सूचना जारी गरी संस्थापक सेयर खरीदका लागि प्रस्ताव आह्वान गरेको थियो। सूचनामा तोकिएको न्यूनतम मूल्य ११२ रुपैयाँ ८० पैसा भए पनि नेशनल लाइफले प्रतिकित्ता ६ रुपैयाँ ८ पैसा बढीमा खरिद गर्ने प्रस्ताव गरेको हो।
हाल नेशनल लाइफको हिमालयन बैंकमा १.२५ प्रतिशत हिस्सा छ । यो कारोबार पूरा भएपछि कम्पनीको स्वामित्व १४ प्रतिशतमा पुग्नेछ।
यसअघि हबिब बैंकले आफ्ना सेयर बेच्ने प्रयास दुईपटक असफल भएको थियो। ४ वर्षअघि बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी)सँग भएको सम्झौता सञ्चालकको विरोधका कारण रोकिएको थियो। त्यस्तै २०८० मंसिरमा हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई १३० रुपैयाँ प्रतिकित्तामा विक्री गर्ने सम्झौता भए पनि नेपाल राष्ट्र बैंकले अस्वीकृति दिएको थियो।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार संस्थापक सेयर विक्री गर्दा पहिलो प्राथमिकता संस्थापक समूहकै अन्य सेयरधनीलाई दिनुपर्ने व्यवस्था छ। यसपालि नेशनल लाइफले संस्थापक समूहकै हैसियतमा खरिद प्रस्ताव गरेपछि हबिबसँगको सम्झौतामा पुग्न सहज भएको बताइएको छ।
यसअघि हिमालयन रिइन्स्योरेन्स कम्पनीले खरिद गर्ने तयारी गरे पनि संस्थापक सेयरधनीको प्रस्तावले त्यसलाई निष्क्रिय बनाइदिएको छ। अब सञ्चालक समिति र राष्ट्र बैंकको स्वीकृति पाएपछि मात्र भुक्तानी र सेयर नामसारीको प्रक्रिया सुरु हुनेछ।
हिमालयन बैंकमा रहेको हबिबको संस्थापक सेयर नेशनल लाइफले खरिद गर्ने