आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

हिमालयन बैंकमा रहेको हबिबको संस्थापक सेयर नेशनल लाइफले खरिद गर्ने

मंगलबार, साउन २० २०८२
हिमालयन बैंकमा रहेको हबिबको संस्थापक सेयर नेशनल लाइफले खरिद गर्ने

काठमाडौं- पाकिस्तानको हबिब बैंक लिमिटेडले आफूसँग रहेको हिमालयन बैंक लिमिटेडको संस्थापक सेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बिक्री गर्न सहमति जनाएको छ‍।

हबिब बैंकको स्वामित्वमा रहेको २ करोड ८० लाख १२ हजार ४ सय ४७ कित्ता संस्थापक सेयर नेशनल लाइफले प्रतिकित्ता ११८ रुपैयाँ ८८ पैसाको दरमा खरिद गर्ने प्रस्ताव गरेको थियो, जुन प्रस्ताव हबिबले स्वीकार गरेको हो। अब नेपाल राष्ट्र बैंकको स्वीकृति पाएपछि मात्रै सेयर बिक्री प्रक्रिया औपचारिक रुपमा अगाडि बढ्नेछ।

हिमालयन बैंकले गत जेठ ३० गते सार्वजनिक सूचना प्रकाशित गर्दै हबिबको नाममा रहेको संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीबाट प्रस्ताव मागेको थियो। सूचनामा न्यूनतम मूल्य प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा तोकिएको भए पनि नेशनल लाइफले त्यसभन्दा ६ रुपैयाँ ८ पैसा बढी मूल्यमा प्रस्ताव गरेको थियो।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८१ अनुसार संस्थापक सेयरको बिक्रीमा पहिलो प्राथमिकता संस्थापक समूहलाई नै दिइन्छ। संस्थापक समूहबाट निवेदन नआएको अवस्थामा मात्र अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न सकिन्छ। त्यसैगरी २ प्रतिशतभन्दा बढी स्वामित्व भएको कम्पनी वा संस्थालाई सेयर बेच्न राष्ट्र बैंकको पूर्वस्वीकृति अनिवार्य छ।

अब हबिब बैंक र नेशनल लाइफबीच औपचारिक सम्झौता गरी राष्ट्र बैंकमा स्वीकृतिका लागि आवेदन दिने प्रक्रिया अघि बढ्नेछ। स्वीकृति प्राप्त भएपछि हबिबको स्वामित्वमा रहेको सबै संस्थापक सेयर नेशनल लाइफको स्वामित्वमा जानेछ। हाल हिमालयन बैंकमा नेशनल लाइफको १.२५ प्रतिशत सेयर स्वामित्व छ। 


प्रकाशित : मंगलबार, साउन २० २०८२११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend