काठमाडौं- नेपालमा भित्रिने रेमिट्यान्स आप्रवाहले फेरि नयाँ उचाइ समातेको छ। आर्थिक वर्ष २०८१/८२ मा कुल गार्हस्थ उत्पादनको तुलनामा हालसम्मकै धेरै भित्रिएको छ। २०७२ सालपछिकै उच्च बिन्दुमा रेमिट्यान्स मुलुकमा भित्रिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा जीडीपीको तुलनामा २८.३ प्रतिशत भित्रिएको छ। यसअघि २०७२ सालमा २५.५ प्रतिशत भित्रिएको थियो। त्यसयता भने निरन्तररुपमा त्यो आँकडा घट्दै गयो। जुन गतिमा जीडीपी बढ्यो त्यही अनुपातमा रेमिट्यान्सको प्रवाह बढ्न सकेन।
रेमिट्यान्सभन्दा अर्थतन्त्रको विस्तार तीव्र हुँदै जाँदा लामो समय २५ प्रतिशतको कोशेढुंगा नै उच्च बिन्दु भएको कतिपय अर्थशास्त्री तथा अधिकारीहरूले अनुमान गरेका थिए।
२०७२/७३ मा जीडीपीको २५.५ प्रतिशत आएको रेमिट्यान्स २०७८/७९ मा २० प्रतिशतमा सीमित भएको थियो। तर फेरि २०८०/८१ मा रेमिट्यान्सले २५ प्रतिशतको कोशेढुंगा भेटायो। २०८१/८२ मा २८ प्रतिशत पार गरेको छ।
२०८१/८२ मा १७ खर्ब २३ अर्ब रेमिट्यान्स भित्रिएको छ।
नयाँ उचाइतर्फ रेमिट्यान्स, मुलुकको क्षमता विकासका लागि फेरि पाएको अवसर
अर्थतन्त्रको आकारको तुलनामा उच्च रेमिट्यान्स भित्र्याउने संसारका मुलुकमा शीर्ष १० मा नेपाल पर्दै आएको छ। अर्थतन्त्रको आकारको तुलनामा रेमिट्यान्स आउने क्रम फेरि बढेर विगतको उच्च बिन्दु यही वर्ष पार गरेको छ।
एक त अर्थतन्त्रको विस्तार पछिल्लो पाँच वर्षमा सुस्त भयो, अर्कोतिर विदेश काम गर्न जाने नेपालीको संख्या वृद्धि भएको छ। रेमिट्यान्स नेपालका लागि यस्तो उपकरण हो जसको बलमा अहिले विदेशी मुद्राको सञ्चिति १९ अर्ब डलरभन्दा धेरै छ।