काठमाडौं- जर्मन विलासी कार उत्पादक कम्पनी बीएमडब्लूको पर्फमेन्स कार नेपाल आएको छ। बीएमडब्लूका पर्फमेन्स कारहरु एम सिरिज नाममा उत्पादन हुँदै आएको छ।
मोटरस्पोर्टमा रुची राख्नेहरुका लागि बीएमडब्लूको एम सिरिजका कारहरु रोजाइमा पर्ने गरेको छ। विश्वभर यस्ता स्पोर्ट पर्फमेन्स कार चलाउनेहरुको समय समयमा रेसिङसमेत हुँदै आएको छ।
बीएमडब्लूको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सले एउटा बीएमडब्लू एमटू नेपाल ल्याएको हो। मोटरस्पोर्ट मन पराउने अटो इन्थुजियास्टले मगाएकाले कम्पनीले पहिलो पटक एमटू पर्फमेन्स कार आयात गरेको हो।
बीएमडब्लू एमटूमा २ हजार ९ सय ९३ सीसीको पेट्रोल इन्जिन रहेको छ। हालै नेपाल आएको बीएमडब्लू ६४ हजार ४ सय ६० युरोमा खरिद गरेर ल्याइएको थियो। यो कारमा उच्च तहको कर लाग्छ। यो कारको मूल्य तथा खरिदकर्ताको बारेमा कम्पनीले केही खुलाएको छैन।
नेपालमा यस्ता पर्फमेन्स कार कुदाउने पर्याप्त बाटो नभएपनि फराकिला र ठूला बाटाहरु बन्ने क्रममा रहेका छन्। पोखरा, मुस्ताङ, तराईका सडकहरुमा सयमसमयमा यस्ता पर्फमेन्स कारहरु कुदाउने प्रतियोगिता वा गतिविधि गर्न सके यसले पर्यटनमा समेत टेवा पुग्नेछ। सौखका लागि आयात हुने यस्ता कारहरु आर्थिक गतिविधि बढाउन पनि प्रयोग गरिनुपर्छ।
बीएमडब्लू एमटू
बीएमडब्लूको पर्फमेन्स कार डिभिजन ‘बीएमडब्लू मोटरस्पोर्ट’, बीएमडब्लू एम जीएमबीएचले उत्पादन गरेको कार हो, एमटू। एम वान सिरिजलाई विस्तापित गरेर एमटू सिरिज बजारमा आएको हो।
एम वान कुपे तथा कन्भर्टिवल मोडल थियो भने. एमटू एम मोडलको बेसिक कन्सेप्टमा बनेको थियो। त्यसयता एमटूका विभिन्न भर्सन बजारमा आइसकेका छन्। एमटू सिरिजमा ३.० एल टर्बो र ३.० एल ट्वीन टर्बो इन्जिनमा उपलब्ध रहेको छ। यो पर्फमेन्स कारमा ६ स्पीड म्यानुअल र ७ स्पीड ए-डीसीटी डुअल क्लच गेयरबक्स रहेको छ।
एमटूको ह्वीलबेस २६ सय ९३ एमएम, लम्बाइ ४४ सय ६८ एमएम, चौडाइ १८ सय ५४ एमएम र उचाइ १४ सय १० एमएम रहेको छ। यो कारको कर्ब वेइट १४ सय ९५ किलोग्राम रहेको छ।
बीएमडब्लूको एम सिरिजअन्तर्गत एमटू, एमथ्री, एमफोर, एमफाइभ, एमएट, एक्सफोर एम, एक्सफाइभ एक्स, एक्ससिक्स एम र एक्सएम रहेका छन्। त्यस्तै बीएमडब्लूको एम पर्फमेन्स मोडलमा दर्जनभन्दा बढी कार उत्पादन तथा बिक्री भइरहेका छन्।
लक्ष्मी प्रिमियम मोटर्सले २०७७ सालमा जर्मन विलासी कार निर्माता कम्पनी बीएमडब्लूका कार आधिकारिक बिक्रेताको रुपमा भित्र्याएको हो। कम्पनीले एक्स वान, एक्सटू, एक्सफोरलगायत कार सुरुमा नेपाल ल्याएको थियो। त्यसपछि कम्पनीले सेभेन सिरिजको कार, विद्युतीय कार आईएक्स वान, आईएक्सटू तथा आईएक्स थ्री उपलब्ध गराएको छ।
केही महिनाअघि कम्पनीले एक्स सेभेनसमेत नेपाल ल्याइसकेको छ। हालै लक्ष्मी प्रिमियमले आफ्नो पोर्टफोलियोमा बीएमडब्लू एमटू पनि थपेको छ।