काठमाडौं- चिनियाँ सवारी उत्पादक कम्पनी ग्रेटवाल मोटर्स (जीडब्लूएम) को अफरोड सिरिजका दुई गाडी बिक्रीमा आउने भएको छ। जीडब्लूएमको नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्सले यही साता सकिएको नाइमा मोबिलिटी एक्स्पो २०२५ मा पनि जीडब्लूएमको ट्यांक राखेको थियो।
एडभेन्चर, इनोभेसन र प्रिमियम एसयूभीको प्रतिक दाबी गरिएको ट्यांक नेपालमा ट्यांक ५०० र ट्यांक ३०० उपलब्ध भएको छ। ट्यांक ५०० सात सिट र ट्यांक ३०० पाँच सिट क्षमताको एसयूभी हो।
नेपाल आएको ट्यांक ५०० प्लग इन हाइब्रिड प्रविधिमा आधारित छ भने ट्यांक ३०० हाइब्रिड प्रविधिमा आधारित रहेको छ। जीडब्लूएमले २०२१ को छेन्दु अटो शोमा ट्यांक ब्रान्ड सार्वजनिक भएको थियो। त्यसयता उक्त ब्रान्ड नेपालसहित थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, अस्ट्रेलिया, दक्षिण अफ्रिका लगायत मुलुकमा बिक्री हुँदै आएको छ।
यी देशहरुमा हालसम्म ४ लाखभन्दा बढी ट्यांक सिरिज बिक्री भइसकेको कम्पनीले जनाएको छ। ट्यांक गाडी मात्र नभइ यो लाइफ स्टाइलको पर्यायबाची जस्तै बनेको कम्पनीको भनाइ छ।
ट्यांकको लोगोमा टी र यू छन् यसको अर्थ टीले ट्यांक, टेक्नोलोजी, ट्रेन्ड र यूले युजर, युनाइटेडलाई बुझाउने जीडब्लूएमले जनाएको छ।
नेपालमा ट्यांक ३०० र ट्यांक ५०० दुवै २.० लिटर टर्बो पेट्रोल इन्जिन रहेको छ भने ट्यांक ३०० एचईभी र ट्यांक ५०० पीएचईभी भर्सनमा आएको छ। यी एसयूभीमा ९ स्पीड अटोमेमिक ट्रान्समिसन रहेको छ। एचईभी भर्सनले ३ सय ५१ पीएस पावर र ६ सय ४८ एनएम टर्क र पीएचईभी भर्सनले ४ सय ८ पीएस पावर र ७ सय ५० एनएम टर्क जेनेरेट गर्छ।
भीजीले ट्यांक ३०० एचईभीको मूल्य १ रोड ५९ लाख ९९ हजार रुपैयाँ र ट्यांक ५०० पीएचईभीको ३ करोड १५ लाख ९९ हजार रुपैयाँ तोकेको छ।