काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले विद्युत उत्पादनको क्षमता हेरेर प्रप्रसारणलाइन निर्माणमा लाग्नुपर्ने बताएका छन्।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको १० औँ वार्षिकोत्सवमा मंगलबार साँझ आयोजित कार्यक्रममा बोल्दै उनले विद्युत उत्पादन हुने विभिन्न नदीको उत्पादन क्षमता हेरेर प्रसारण लाईन निर्माणमा लाग्नुपर्ने बताएका हुन्।
‘कुन कोरिडोरमा कति क्षमतामा विद्युत उत्पादन हुन्छ, त्यसको एकिन गरेर विद्युत प्रसारणलाइन निर्माण गर्नुपर्छ, जसले गर्दा एउटै जग्गा र वन अधिग्रहण गरे पुग्छ’ उनले भने। साथै जलविद्युत उत्पादन गर्दैगर्दा वातावरणीय असरलाई पनि ख्याल गर्नुपर्ने उनको भनाइ छ।
ऊर्जामन्त्री खड्काले मुलुकको मुख्य आयस्रोतको मेरुदण्डको रुपमा ऊर्जा क्षेत्रलाई लिएको बताए। १० वर्षका लागि ऊर्जा विकासको खाका सरकारले अगाडि बढाएको भन्दै उक्त खाकालाई पुरा गर्न ग्रीड कम्पनीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।
साथै सबैभन्दा छिटो मुलुकको आर्थिक विकास र अर्थतन्त्र चलायमान हुने ऊर्जाक्षेत्र भएकाले निजी क्षेत्रलाई साथमा लिएर सरकार ऊर्जा विकासमा लागिरहेको मन्त्री खड्काले दाबी गरेका छन्।
‘ठूलो लगानी हुने ऊर्जा क्षेत्रलाई कसरी सहजीकरण र वित्तिय व्यवस्थापन गर्न सकिन्छ भनेर सरकार प्रष्ट खाकाका साथ अगाडि बढेको छ, हामीले ऊर्जा क्षेत्रको विकासको प्रमुख सहयात्रीका रुपमा निजी क्षेत्रलाई लिएका छौं’ उनले भने।
ऊर्जा क्षेत्रको विकासका लागि देखिएका कानूनी जटिलता र अफ्ठयारालाई सरकारले समाधान गर्दै जाने मन्त्रीले बताएका छन्। उनले ऊर्जा क्षेत्रको विकासका लागि अन्तरनिकाय समन्वय आवश्यक रहेको बताए। मन्त्री खड्काले हाम्रा दुई छिमेकी मुलुकबाट ऊर्जा क्षेत्रमार्फत फाइदा लिनुपर्ने उल्लेख गरे।
साथै विद्युतको माग दिनानुदिन बढ्दै गएको भन्दै उत्पादन बढाउन लाग्नुपर्ने उनको भनाइ छ। विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले प्रसारण प्रणालीलाई खुला पहुँच सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले प्रसारण लाइनमा ह्वीलिङ शुल्क निर्धारण गर्न नियमन आयोगले काम गरिरहेको उल्लेख गरे।
ऊर्जा सचिव एवं राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका अध्यक्ष सुरेश आचार्यले ग्रीड कम्पनीलाई देशको समग्र प्रसारण प्रणाली निर्माण, विकास, आधुनिकीकरण र सञ्चालनमा नेतृत्वदायी संस्थाका रुपमा विकास गरी देशको ऊर्जा आपूर्ति र ऊर्जा व्यापारको सशक्त सम्वाहक बनाउन जरुरी रहेको बताए।
लगानी बोर्डका कार्यकारी निर्देशक सुशील ज्ञवाली, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सागर श्रेष्ठले ग्रीड कम्पनीले आगामी १० वर्षमा प्रसारण पूर्वाधारलाई सुदृढ बनाउँदै लैजाने बताएका छन्। उक्त कम्पनीले हाल ११ प्रसारण आयोजनालाई विभिन्न चरणमा अगाडि बढाएको छ। वार्षिकोत्सवका अवसरमा मन्त्री खड्काले कम्पनीको तर्फबाट प्रकाशित ‘एक दशकको यात्रा’ पुस्तकसमेत विमोचन गरेका छन्।