बिहीबार , साउन २९ गते २०८२    
बिहीबार , साउन २९ २०८२
images
images

कैलालीको बल्चौरका वादी समुदायको घर डुबानमा, खाना पकाउन र मजदुरीमा जान समस्या

images
बुधबार, साउन २८ २०८२
images
images
कैलालीको बल्चौरका वादी समुदायको घर डुबानमा, खाना पकाउन र  मजदुरीमा जान समस्या

सो क्षेत्रमा ७१ परिवार वादीका छन्। घरमा पानी पसेपछि खाना पकाउन र शौच गर्न समस्या भइरहेको गुनासो उनीहरुको छ।

images
images

कैलाली- वर्षासँगै कैलालीको लम्की चुहा नगरपालिका-३ बल्चौरमा बसोबास गर्दै आएको वादी समुदायका घर डुबानमा पर्दा विचल्ली भएको छ। वादीका १२ घर डुबानमा पर्दा घरपरिवारका सदस्यहरु आफन्त र छिमेकीको घरमा आश्रय लिएका छन्।

images

घरमा पानी पसे पनि कतिपय परिवार आफ्नै घरमा बसेका छन्। सो क्षेत्रमा ७१ परिवार वादीका छन्। घरमा पानी पसेपछि खाना पकाउन र शौच गर्न समस्या भइरहेको गुनासो उनीहरुको छ।

images
images

काठको सानो कच्चीघरमा बस्दै आएकी ३३ वर्षीया रीमादेवी वादी डुबानकै कारण घरमा एक हप्तादेखि चुलो बाल्न नसकेको बताउँछिन्। उनले भनिन्, 'घर वरिपरिको जमेको पानीमा सर्प हिँडिरहन्छन्, छोरालाई एक्लै घरमा छोडर कतै काममा पनि जान सकेकी छैन।'

images
images
images

उनका श्रीमानको केही महिनाअघि नजिकै रहेको रानीजमरा कुलरिया सिँचाइ आयोजनको नहरमा डुबेर मृत्यु भएको थियो। श्रीमानको निधनपछि रीमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका छन्। उनले भनिन्, 'नगरमा डुबेर श्रीमानको मृत्युपछि अहिले आफू सहाराविहीन छु, तीन छोराछोरी पालेर बसेकी छु।'

वर्षा भएपछि घर डुबानमा पर्ने र छाना पनि चुहिने समस्याले थप समस्या झेल्नु परेको अर्की महिला शान्ता वादीले बताइन्। उनको घर परिसर वर्षाको पानी जम्दा भान्सा पनि पूरै पानी भरिएको छ। 'हजुर साह्रै दुःख पाइयो, न खाना पकाउने ठाउँ छ, न शौच गर्ने ठाउँ। कतिखेर साना बच्चा पानी डुब्ने हुन भन्ने चिन्ताले सताइरहन्छ', उनले भनिन्।

सरकारले बनाइदिएको कच्ची घरमा बस्दै आएका आफूहरुलाई यतिबेला घर डुबानमा पर्दा समस्या हेरिदिने कोही नपाइएको अर्की महिला गजगी वादीको गुनासो छ। 'घर निर्माण गरिदिएर सरकारले राम्रो काम गरेको छ, तर पानी निकास हुने व्यवस्था नगर्दा डुबानको समस्या झेल्नुपर्‍यो, घरभित्रको खाद्यान्न र लत्ताकपडा भिजेर क्षति पुग्ने गरेको छ।'

घर डुबानमा परेपछि विपन्न वादी समुदायका कुनै पनि व्यक्ति केही दिनदेखि दैनिक मजदुरीमा जान सकेका छैनन्। मजदुरीमा जान नपाएर आफूहरुलाई बालबच्चाको बिहान साँझको छाक टार्न समस्या भएको अर्का अर्जुन वादीले भने।

पूर्वपश्चिम राजमार्ग छेउमै रहेको यो बस्ती वर्षायामसँगै बर्सेनि डुबानमा पर्ने गरेको छ। बस्तीमा पानी निकासको व्यवस्था गरिए पनि त्यसले काम नगरेको उनीहरुको भनाइ छ। बस्तीमा रहेका रुख यसै वर्ष हटाइएपछि हावाहुरीको समयमा हुनसक्ने जोखिमको त्रासबाट मुक्ति पाइए पनि पानी निकासको व्यवस्था गरिएको छैन। उनीहरुले डुबानको समस्या समाधानका लागि सरकारलाई अनुरोध गरेका छन्।

रमा वादीले भनिन्, 'यो वर्षमा मात्र यसै बस्तीका दुई बालबालिकासहित चारजनाले नहरमा डुबेर ज्यान गएको छ, वर्षाले घर डुबानमा पर्ने र नजिकै रानीजमरा कुरिया सिँचाइ आयोजनाको नहरमा मान्छे डुबेर मर्ने, बस्तीका लागि यो जोखिम देखियो।' 

विसं २०६४ देखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट यो क्षेत्रमा बसाइँसराइ गरेका वादी समुदायका ७१ परिवारको बसोबास छ। भूमिहीन वादीका परिवारलाई सरकारले सोही क्षेत्रमा जग्गा उपलब्ध गराएर १४३ वटा सुरक्षित आवास(घर) निर्माण गरिदिएको छ। उक्त बस्तीका ३३ घरपरिवार मात्रै सुरक्षित आवास (घर) निर्माण गर्न बाँकी रहेको जनाइएको छ। रासस


प्रकाशित : बुधबार, साउन २८ २०८२१४:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend