झापा- गाईभैँसीमा लाग्ने रोग ‘लम्पी स्किन’को सङ्क्रमण कोशी प्रदेशमा बढेपछि गोठमै पुुगेर खोप लगाउने अभियानलाई तीव्र बनाइएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ।
गर्मी बढेसँगै ‘लम्पी स्किन’ रोगको सङ्क्रमण महामारीको रुपमा फैलिएपछि कोशीका १४ जिल्लामा तीन लाख ३७ हजार तीनसय एक पशुलाई निःशुल्क खोप लगाइएको निर्देशनालयका सूचना अधिकारी तथा पशु चिकित्सक विनोदकुमार साहले जानकारी दिए।
झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, ताप्लेजुङ, पाँचथर, भोजपुर र खोटाङमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण फैलिएको छ। उनका अनुसार कोशीमा हालसम्ममा २४ हजार आठसय ६१ पशु लम्पी स्किन रोगबाट सङ्क्रमित भएका छन् भने सातसय ६९ मरिसकेका छन्।
उनले गत बैशाखदेखि हालसम्म झापामा ९९ हजार ६ सय ७४, मोरङमा ६२ हजार एकसय ९९, सुनसरीमा ६४ हजार चारसय ४१, उदयपुरमा १५ हजार सातसय ३०, इलाममा ४१ हजार दुईसय ८६, खोटाङमा चार हजार दुईसय ९१ खाेप दिएकाे बताए। त्यस्तै, भोजपुरमा आठ हजार ६ सय १५, ताप्लेजुङमा पाँच हजार तीनसय ५०, धनकुटामा १२ हजार एकसय ७५ र पाँचथरमा ९ हजार सातुय ९४ पशुमा ‘लम्पी स्किन’विरुद्धको खोप दिइएको उनले बताए।
‘यो रोग लामखुट्टे, भुसुना, झिंगा, किर्ना आदिको टोकाइबाट फैलिन्छ’ उनले भने, ‘रोग नियन्त्रणका लागि पालिकामार्फत किसानका प्रत्येक गोठसम्म पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरिरहेका छौँ।’ उनले रोग देखा नपरेका ओखलढुंगा र सोलुखम्बुका तीन हजार सातसय गाई, गोरु र राँगा, भैँसीमा खोप दिइएको जानकारी दिए।
यो रोग लागेका गाईगोरुमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीमा घाउ भएर पिप र रगत बग्ने गर्दछ । यसबाट सङ्क्रमित पशु अन्त्यमा मर्ने गरेका छन्। सूचना अधिकारी साहले रोग लागेको पशुलाई अलग्गै राख्ने, जुठो नखुवाउने जस्ता सुरक्षाका विधि अबलम्बन गर्न पशुपालकहरुलाई आग्रह गरेका छन्। रासस