काठमाडौं- एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एस फाइभमा ३ लाख ५० हजारसम्मको छुट दिएको छ। जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा कम्पनीले आफ्नो सर्वाधिक रुचाइएको एसयूभी एस फाइभका लागि उक्त अफर घोषणा गरेको हो।
आकर्षक मूल्यमा सार्वजनिक भएको यो विद्युतीय कारमा अझै मूल्य घटेसँगै ग्राहकको आकर्षण एस फाइभमा थपिएको छ। नाइमा मोबिलिटी एक्स्पो र आउँदै गरेको चाडपर्वलाई लक्षितगरी थप छुटको दिएको कम्पनीले जनाएको छ।
पारामाउन्टले ल्याएको अफर भेरियन्टअनुसार फरक छ। एस फाइभको इन्ट्री भेरियन्ट कम्फर्टमा नगद १ लाख रुपैयाँ छुट दिने कम्पनीले भनाइ छ। यो भेरियन्टको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ रहेकामा अब ४२ लाख ९९ हजारमा कम्फर्ट भेरियन्ट किन्न सकिने भएको छ।
कम्फर्ट भेरियन्टमा ५१ किलोवाट आवरको ब्याट्री छ। यसमा नगद छुटसँगै एक वर्षको बीमा र ७ किलोवाटको चार्जर निःशुल्क दिने कम्पनीले जनाएको छ।
त्यस्तै सबैभन्दा धेरै उपभोक्ताको रोजाइमा रहेको लग्जरी भेरियन्टमा २ लाख ५० हजार नगद छुट दिइएको छ। यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेकोमा छुटपछि ४७ लाख ४९ हजार रुपैयाँमा खरिद गर्न सकिने छ। यसमा पनि कम्पनीले एक वर्षको बीमा र निःशुल्क ७ किलोवाटको एसी चार्जर दिने भएको छ।
साथै ६४ किलोवाट आवरको ब्याट्री प्याक भएको डिलक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ। यसमा पनि २ लाख ५० हजार नगद छुट दिने कम्पनीले जनाएको छ। नगद छुटपछि ५२ लाख ४९ हजार रुपैयाँमै ठूलो ब्याट्री भएको डिलक्स किन्न सकिन्छ।
पुरानो गाडी एक्सचेन्ज गरेर एमजी एस फाइभ डिलक्स खरिद गर्दै गर्ने ग्राहकका लागि कम्पनीले एक्सचेन्ज बोनसका रुपमा थप १ लाख रुपैयाँ दिने जनाएको छ। समग्रमा ठूलो ब्याट्री भएको एस फाइभ किन्नेले ३ लाख ५० बराबरको नगद छुट र एक वर्षको बीमा र ७ किलोवाटको एसी चार्जर पाउने भएका छन्।
एमजी एस फाइभको इन्टेरियर मिनिमल डिजाइनमा तयार भएको छ। ड्यासबोर्डमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले रहेको क्रसओभर एसयूभीमा हिटेड र भेन्टिलेटेड सिट उपलब्ध छ।
एस फाइभको ग्राउन्ड क्लियरेन्स १ सय ८० एमएम रहेको छ। कम्पनीले एस फाइभमा सीएटीएलले उत्पादन गरेको एलएफपी ब्याट्री दिएको छ। उक्त ब्याट्री अहिलेसम्मकै सबैभन्दा पातलो रहेको कम्पनीले दाबी गरेको छ।