काठमाडौं- लक्ष्मी ग्रुपअन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ।
काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको 'नाइमा मोबिलिटी एक्स्पो २०२५' मा केभान १ र केभान २ भेरियन्टका इलेक्ट्रिक भ्यान लन्च गरिएको हो। भ्यानको मूल्य क्रमशः ५८ लाख ५६ हजार र ६३ लाख ६ हजार रूपैयाँ निर्धारण गरिएको छ।
नेपालकै लागि भनेर विशेषरुपमा डिजाइन गरिएका यी भ्यान १५ र १६ सिट क्षमतामा उपलब्ध हुनेछन्। यी भ्यान व्यावसायिक तथा शैक्षिक दुवै क्षेत्रका लागि उपयोगी हुने कम्पनीले विश्वास लिएको छ।
व्यावसायिक प्रयोजनका लागि आधुनिक खैरो रंगमा 'कमर्सियल भेरियन्ट’ र स्कुल/कलेज प्रयोजनका लागि सुरक्षात्मक पहेँलो रंगमा 'स्कुल भेरियन्ट’ उपलब्ध गराइएको छ। स्कुल भेरियन्टमा बालिबालिकाको सुरक्षालाई सुनिश्चित गर्न उच्चतम सुरक्षा मापदण्ड र विशेष सुविधाहरु समावेश गरिएका छन्।
यी इलेक्ट्रिक भ्यानमा ५३ किलोवाट आवरको एलएफपी सीएटीएल ब्याट्री जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ३०० किलोमिटरभन्दा बढी रेन्ज प्रदान गर्दछ। दुवै मोडलमा स्थायी पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर (पीएमएसएम) जडान गरिएको छ, जसले १३०/२७० एनएमको रेटेडरपीक टर्क र ५०/८० किलोवाटको रेटेडरपीक पावर उत्पादन गर्दछ।
क्यारीको यी विद्युतीय भ्यानमा नेपाली सडकका लागि उपयुक्त हुनेगरी १८० एमएमको उच्चतम ग्राउन्ड क्लिरियन्स दिइएको छ। अगाडि डिस्क र पछाडि ड्रम ब्रेक जडान गरिएको यी भ्यानमा एबीएस, ईबीडी र फायर एक्सटिन्गुइसर लगायत सेफ्टी फिचर पाउन सकिन्छ।
एलएक्सजी मोटर्सका सेल्स एण्ड आफ्टर सेल्स सपोर्ट हेड सञ्जय खड्काले दिगो यातायातप्रति समूहको प्रतिबद्धतामा जोड दिए। कार्यक्रममा बोल्दै उनले भने, ‘क्यारी ईभीको सुरुवातले हरित नेपालको लागि हाम्रो दूरदृष्टिमा महत्वपूर्ण भूमिका खेल्नेछ। यी गाडीहरूले परम्परागत इन्धनमा आधारित भ्यानहरूको तुलनामा भरपर्दो, लागत-प्रभावी र वातावरणमैत्री विकल्प प्रदान गर्नेछन्। चाहे व्यावसायिक सञ्चालन होस् वा सुरक्षित स्कुल यातायात, यी गाडीहरूले उत्कृष्ट प्रदर्शन गर्नेमा हामी ढुक्क छौँ।’
क्यारी ईभी भ्यानका बारेमा थप जानकारी लिन नाइमा मोबिलिटी एक्स्पोको हल डी, स्टल डी-१२ मा आई अवलोकन गर्न कम्पनीले आग्रह गरेको छ।
एलएक्सजी मोटर्स प्रालि नेपालको अग्रणी व्यावसायिक समूह, लक्ष्मी ग्रुपको एक सहायक कम्पनी हो। कम्पनीले नेपाली बजारमा उत्कृष्ट र वातावरणमैत्री विद्युतीय सवारीसाधनहरू भित्र्याएर दिगो यातायातमा योगदान पुर्याउने लक्ष्य राखेको छ।