म्याग्दी- दुई दशकअघिसम्म यहाँको मालिका गाउँपालिका-३ खटेनकी ६५ वर्षीया पूर्णकला पटेललाई भेडाको ऊनबाट काम्लो, हरदुब्लो बुन्न भ्याइनभ्याइ हुन्थ्यो।
‘न्यानोका लागि ज्याकेट नहुँदासम्म हरदुब्लो ओड्ने गरिन्थ्यो। गलैँचाको विकल्पमा घरमा काम्लो बिछ्याउने, सिरकको विकल्पमा ओढ्ने चलन थियो’ उनले भनिन्।
सिरक, डसना, गलैँजा सहजै पाइन थालेपछि मौलिक सामग्री लोप हुन थालेका हुन्। परम्परागत राडी, पाखी, काम्लो, हरदुब्लोको प्रयोग घट्न थालेको र बजारमा बिक्री नहुँदा भेडाको ऊन कृषकले जंगलमै फाल्ने गरेका छन्।
असार र कात्तिकमा ऊनले भेडालाई गर्मी हुुने र बाह्य परजीविको सङ्क्रमण नहोस भनेर ऊन काट्ने गरिन्छ। बिक्री नहुने भएपछि घरायसी उपभोगबाहेकका ऊन जंगलमै फाल्ने गरेको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारका भेडापालक कृषक कमल पाइजाले बताए।
‘ऊन निकाल्ने आधुनिक औजारको अभावमा कैँचीको सहाराले काट्ने गरिन्छ’ उनी भन्छन्, ‘सीपयुुक्त जनशक्तिको अभावका कारण ऊनबाट कपडा बनाउने चलन हराउँदै गएपछि खपत पनि घटेको हो।’ ऊनबाट बुनेका मौलिक कपडा वातावरणमैत्री हुन्छन्।
म्याग्दीको गुर्जा, मल्कवाङ र कुइनेमंगलेमा बसोबास गर्ने अल्पसंख्यक छन्त्याल समुदायको मौलिक पोसाक ऊनबाट बनेका कपडा हुन्। आर्थिक वर्ष २०७९/८० मा १८ हजार पाँचसय ६७ भेडा रहेको म्याग्दीमा २०८०/८१ मा घटेर १७ हजार पाँचसय ६५ वटामा झरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांक छ।
अघिल्लो वर्ष ६१ हजार चारसय २४ वटा बाख्रा रहेको म्याग्दीमा २०८०/८१ मा ६० हजार चारसय २३ मा झरेको केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले बताए। ऊनको बजारीकरणमा समस्या भएको उनको गुनासो छ।
सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले ऊनबाट सामान बनाउने मौलिक सीपहरु लोप हुन नदिन समुदायस्तरमा अन्तरपुस्ता ज्ञान सीप हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको बताउँछन्।
रघुगंगा गाउँपालिका-६ ठाडाखानीका बासिन्दाले मौलिकता जोगाउन गाउँका सबैले ऊनका कपडा लगाउने गरेको वडासदस्य टेकजित छन्त्यालले बताए। रासस