काठमाडौं- अमेरिकाले भारतबाट आयात हुने वस्तुमाथिको भन्सार महसुल बढाएर ५० प्रतिशत पुर्याएको छ। हालै भएको व्यापार सम्झौताको क्रममा सहमति हुन नसकेपछि अमेरिकाले भारतमाथि दबाब बढाउन सुरुमा २५ प्रतिशत र हप्ता दिन नपुग्दै त्यसलाई बढाएर ५० प्रतिशत पुर्याएको छ।
अमेरिकी राष्ट्रपतति डोनाल्ड ट्रम्पले अमेरिकासँग व्यापार सन्धि नगर्ने मुलुकमाथि चर्को भन्सार लगाउने घोषणा यसअघि नै गरेका थिए। सोहीअनुसार ब्राजिलपछि भारतमाथि चर्को करको घोषणा गरिएको छ।
वापार सम्झौतामा सहमति हुन नसकेपछि युक्रेनमाथि रसियन आक्रमणलाई भारतले तेल खरिद गरेर सहयोग गरिरहेको आरोप लगाउँदै भन्सार महसुल बढाइदिएको छ। यसले गर्दा फैरि हुने भनिएको व्यापार सम्झौताको वार्तामा भारतलाई दबाब दिन अमेरिकाले ५० प्रतिशतको करको घोषणा गरेको हो।
अमेरिकाको नयाँ भन्सार महसुल घोषणामाथि भारतले तत्काल प्रतिक्रिया दिएपनि प्रतिकारमा कर लगाउने भने घोषणा गरेको छैन। भारतले अमेरिकी कर घोषणा अन्यायपूर्ण भएको प्रतिक्रिया दिएको छ। रसियाको इन्धन भारतभन्दा धेरै युरोपियन मुलुकले नै खरिद गरेको तर भारतमाथि निसाना साँधिएको भारतले प्रतिक्रिया दिइसकेको छ।
‘यो अन्ययापूर्ण छ भारतीय जनताको हितमा भारत सरकारले निर्णय लिन्छ र अर्थतन्त्रलाई जोगाउन सरकार सधैँ अडिग रहन्छ’ भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। भारतको विदेश मन्त्रालयले दुईवटा विज्ञप्ति प्रकाशन गरिसकेको छ।
अमेरिकाले रसियन इन्धन खरिद गरेको कुरा बाहिर उठाएपनि भित्र भने वाणिज्य वार्तामा भारतलाई गलाउनका लागि यो गरिरहेको छ। अमेरिकी कृषि वस्तु र इन्धनको खरिद भारतले गरिदियोस् भन्ने अमेरिकी एजेण्डा रहेको छ।
लामो समयदेखि भारतले अेमरिकी मकै तथा भटमासको आयातलाई अनुमति दिएको छैन। जीएम प्रविधिको भटमास भारतले आयातमा अनुमति दिएको छैन। यही खुलाउन अमेरिका चाहन्छ। त्यस्तै अमेरिका पछिल्लो समय पेट्रोलियम उत्पादनमा आक्रामक भइरहेको छ। यस्तोमा उसको इन्धन भारतले खरिद गरिदियोस् भन्ने पनि उसको अर्को एजेण्डा हो।
इन्धनमा भारत लचक भएपनि कृषि वस्तुको आयात खुला गर्ने पक्षमा भारत छैन। भारतीय किसानको न्यून उत्पादकत्व र अमेरकी किसानको तुलनामा भारतमा अनुदान पनि धेरै नभएको भन्दै भारतले विदेशी वस्तुको आयात खोल्ने पक्षमा छैन।
भियतनाम, बंगलादेश, पाकिस्तानजस्ता मुलुकले अमेरिकी सर्त मानेर सम्झौता गरिसकेका छन् तर भारत यसमा सहमत हुन सकिरहेको छैन। गत महना भएका वार्तामा सहमति जुट्न नसकेपछि फेरि वार्ता हुने भनिएको छ।
अमेरिकाको महसुल आक्रमण सुरूमा चीनप्रति आक्रामक देखिए पनि अहिले भने भारतप्रति बढी आक्रामक देखिएको छ। ब्राजिल, भारत हुँदै अमेरिकाले ब्रिक्स देशप्रतिको असन्तोष प्रकट गरेको कतिपयले बताएका छन्।
भारतले निर्यात गर्नेमा अमेरिका सबैभन्दा ठूलो बजार हो। यस्तोमा तत्काल व्यापार सम्झौता नहुने र अमेरिकी कर निरन्तर हुने हो भने भारतीय अर्थतन्त्रमा समस्या देखिनसक्ने छ। भारतीय अर्थतन्त्र सुस्त हुँदा त्यसको असर नेपालसम्म देखिन्छ। विशेषगरी भारतीय मुद्रा कमजोर हुँदा त्यसको असर नेपालको मुद्रामा पनि देखिनेछ।