काठमाडौं- अग्नि इनकर्पाेरेट प्रालिले महिन्द्राका दुई विद्युतीय कार नेपाली बजारमा सार्वजनिक गरेको छ।
बुधबारदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपोमा अग्निले महिन्द्रा एक्सईभी नाइन ई र बीई सिक्स विद्युतीय एसयूभी सार्वजनिक गरेको हो।
कम्पनीले एक्सईभी नाइन ईको ३ भेरियन्ट सार्वजनिक गरेको छ। जसमा बेस भेरियन्टको मूल्य ६७ लाख ५० हजार, प्याक २ को ७५ लाख ५० हजार र प्याक ३ टप भेरियन्टको ९३ लाख रुपैयाँ तोकिएको छ।
कम्पनीले केही महिनाअगाडि नै नेपाल ल्याएर विभिन्न परीक्षण गरेको एक्सईभी नाइन ईले भारतमा पनि निकै राम्रो प्रतिक्रिया पाइरहेको छ। अहिले महिन्द्राले भारत बाहेक नेपाल, साउथ अफ्रिका र अष्ट्रेलियामा पनि एक्सईभी नाइन ई बिक्री सुरु गर्ने तयारी गरेको छ।
एक्सईभी नाइन ईमा दुई ब्याट्री अप्सनमा आएको छ। सानो ५९ किलोवाट आवरको ब्याट्रीले ४ सय किलोमिटर र ठूलो ७९ किलोवाट आवरको ब्याट्रीले ५ सय ५० किलोमिटरभनदा बढी रेन्ज दिने कम्पनीले जनाएको छ।
नाइन ईको ड्यासबोर्डमा तीनवटा स्क्रिन दिएको छ। १२.३ इन्ज साइजका तीन स्क्रिन एक आपसमा जोडिएका छन्। १६ वटा स्पीकर, १४०० वाटको हर्मन कार्डनको साउन्ड सिस्टम, वेलकम र मेरोरी सिट, अगाडि सिट बोस मोड उपलब्ध छ। वायरलेस चार्जर, एलइडी लाइट सहितको प्यानारोमिक क्लास रुफ दिइएको छ।
यसका अलावा १९ इन्चको ह्वील, २ सय ७ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स जस्ता फिचरको कारण यसलाई कच्ची बाटोमा चलाउन सजिलो हुनेछ।
महिन्द्राले यसलाई ९९ र १९९ किलोवाट पिकपावर भएको दुई मोटर अप्सनमा ल्याएको हो। कुप्पे डिजाइनमा तयार भएको एक्सईभी नाइन ई साइजमा पनि उत्कृष्ट छ।
त्यस्तै, महिन्द्राले बीई सिक्स विद्युतीय कुप्पे एसयूभी पनि बिक्री सुरु भएको हो। बीई सिक्सको प्याक वानको मूल्य ५७ लाख, प्याक टुको मूल्य ६० लाख र प्याक थ्रीको मूल्य ६७ लाख कायम गरेको हो।
बीई सिक्सलाई ५९ किलोवाट आवरको ब्याट्री रहेको यो विद्युतीय कारमा ९९ किलोवाट पिकपावरको मोटर छ।
भारतीय सवारी उत्पादक महिन्द्राले लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्रीमा ल्याएको एसयूभीमा ९९ किलोवाट क्षमताको मोटर उपलब्ध छ यसले ३ सय ८० एनएम टर्क जेनेरेट गर्छ।
यो कारमा कम्पनीले रेन्ज, इभ्रीडे र रेस ड्राइभिङ मोड दिएको छ भने बीई सिक्सको लङ रेन्ज भर्सनले ५ सय ५० किलोमिटर डब्लूएलटीपी रेन्ज दिने बताइएको छ।