काठमाडौं- एलएस अटोको नेपालको लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चरले नयाँ मोडलका विद्युतीय कार भित्र्याएको छ। एलएस अटोले उत्पादन गरेको प्रिमियम ह्याचव्याक र अलह्वील ड्राइभका दुई मोडलहरु नेपाल आइपुगेका हुन्।
आगामी साउन २१ बाट सुरु हुने नाइमा मोबिलिटी एक्स्पोमा नेपाल भित्रिएका एलईभी०५ र एलईभी एक्स प्रदर्शन हुनेछ।
एलईभी०५ एक प्रिमियम ह्याचव्याक कार हो। यो कारमा सेग्मेन्टकै सबैभन्दा ठूलो ५६ किलोवाट अवारको व्याट्री प्याक रहेको छ। ७० किलोवाटको मोटर भएको यो कारले नेपाली बाटोमा ४ सय किलोमिटरको रेन्ज दिने कम्पनीले दाबी गरेको छ।
त्यस्तै एलईभी एक्स एक अलह्वील ड्राइभ क्रसओभर एसयूभी हो। यस अघि नेपालमा बिक्री भइरहेको एलईभी वानको अलह्वील ड्राइभ भर्सन एलईभी एक्स मा ७७ किलोवाट आवरको व्याट्री प्याक र १ सय ९८ किलोवाटको मोटर रहेको छ। यो एसयूभीले ५ सय ५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ।
सेग्मेन्टमै सबैभन्दा धेरै २ सय १० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यो एसयूभी अलह्वील ड्राइभ भएसँगै जस्तोसुकै बाटोहरुमा आरामले चलाउन सकिने भएको छ। कम्पनीका अनुसार एलईभी वानमा भन्दा अलह्वील ड्राइभ एलईभी एक्समा क्याविनका केही विशेषताहरुसमेत अपडेट भएका छन्।
यी कारको मूल्य भने नाइमा मोबिलिटी शोमा सार्वजनिक गर्ने कम्पनीले योजना बनाएको छ।