काठमाडौं- सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशका ९७ वटा हिमालमा पर्वतारोहण दस्तुर (सलामी दस्तुर/रोयल्टी) दुई वर्षका लागि पूर्णरूपमा छुट दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को यही साउन १२ गतेको बैठकले २०७२ सालदेखि खुला गरिएका ती हिमालमा चालु आर्थिक वर्ष २०८२/८३ र आगामी २०८३/८४ सम्मका लागि यो सुविधा लागु गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार अब ती दुई प्रदेशमा पर्ने हिमालहरूमा नेपाली तथा विदेशी पर्वतारोहीले कुनै पनि सलामी दस्तुर तिर्नु पर्दैन। पर्यटन ऐन, २०३५ को दफा ३६ र पर्वतारोहण नियमावली, २०५९ को नियम ३२ (ख) बमोजिम राजपत्रमा सूचना प्रकाशन गरी सलामी दस्तुरमा पूर्ण छुट दिने निर्णय गरिएको हो।
नेपालमा हाल ४ सय ७१ वटा हिमाल पर्वतारोहणका लागि खुला गरिएका छन्। तीमध्ये सगरमाथा, मनास्लु, अमादब्लमजस्ता थोरै हिमालहरूमा मात्र अधिकांश पर्वतारोहीको आकर्षण देखिँदै आएको छ। कर्णाली र सुदूरपश्चिममा खुला गरिएका अपि, साइपल, चाङ्ला, खम्पा, बुढी हिमाललगायतका हिमालहरू भने पर्वतारोहीको प्राथमिकतामा परेका छैनन्।
पर्यटन विभागका अनुसार ती प्रदेशहरूमा आरोहण प्रवर्द्धन गर्न र पर्यटकीय गतिविधि विस्तार गर्न सलामी दस्तुरमा पूर्ण छुट दिने नीति लिइएको हो। अपि, साइपलजस्ता हिमाल वर्षौंदेखि खुला गरिए पनि हालसम्म आरोहण भएको छैन। अब यो सुविधा दिएपछि पर्वतारोहणको गन्तव्य विस्तार हुने अपेक्षा गरिएको छ।
पर्वतारोहण नियमावली, २०५९ अनुसार सरकारले राजपत्रमा सूचना प्रकाशन गरी नेपाली पर्वतारोही, संयुक्त नेपाली–विदेशी समूह वा न्यून चाप भएका हिमालहरूमा पर्वतारोहीलाई आंशिक वा पूर्ण सलामी दस्तुर छुट दिन सक्ने व्यवस्था गरेको छ।
विशेषगरी एक आर्थिक वर्षमा तीनभन्दा कम आरोहण हुने, प्राविधिक रूपले सजिलो, छोटो अवधिमा आरोहण गर्न सकिने हिमालहरू वा पर्यटन प्रवर्द्धनका उद्देश्यले खुला गरिएका हिमालमा यस्तो छुट दिन सकिन्छ।
सगरमाथाबाहेकका अधिकांश हिमालहरूको सलामी दस्तुर अमेरिकी डलरमा निर्धारण गरिएको छ, जुन सदस्य संख्याका आधारमा फरक पर्छ। यसले विशेष गरी मध्यम तथा साना पर्वतारोहण समूहहरूका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमालमा रुचि बढ्ने अपेक्षा गरिएको छ।
सरकारको यो निर्णयले पर्वतारोहण पर्यटनको क्षेत्रीय विविधीकरण गर्न, गन्तव्यहरू फैलाउन र पछाडि परेका प्रदेशहरूमा वैदेशिक मुद्राको आम्दानीका साथै स्थानीय रोजगार सिर्जना गर्न मद्दत पुग्ने विश्वास पर्यटन क्षेत्रका विज्ञहरूले व्यक्त गरेका छन्।
सगरमाथाबाहेकका हिमालका लागि सलामी दस्तुर अमेरिकी डलरमा
हिमालको उचाइ |
७ जनासम्मको समूहका लागि सलामी दस्तुर |
प्रति थप सदस्य थपिने दस्तुर |
८,००० मिटरभन्दा माथि (सगरमाथाबाहेक) |
१०,००० |
१,५०० |
७,५०१ मिटरदेखि ८,००० मिटरसम्म |
४,००० |
५०० |
७,००१ मिटरदेखि ७,५०० मिटरसम्म |
३,००० |
४०० |
६,५०१ मिटरदेखि ७,००० मिटरसम्म |
२,००० |
३०० |
६,५०० मिटरभन्दा कम उचाइका हिमालचुली |
१,००० |
२०० |
स्रोत: पर्यटन विभाग