काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्ष युवराज अधिकारीले इन्जिन मर्मतमा कमिसनका लागि पुन: पुरानै गल्ती दोर्याउन लागेका छन्।
निगम कार्यकारी अध्यक्ष अधिकारीले २०२३ को सेप्टेम्बरमा न्यारोबडी जहाजको इन्जिन मर्मत तथा भाडामा लिनेगरी एउटै कम्पनीलाई जिम्मा दिएका थिए। अधिकारीले इन्जिन मर्मत गर्ने कम्पनीसँग नै इन्जिन भाडामा लिने सम्झौता गरेका कारण इन्जिन मर्मतका लापरबाही तथा ढिलासुस्ती भएको थियो।
न्यारोबडीको इन्जिन मर्मत र इन्जिन भाडामा लिनेगरी 'इजरायल एरोस्पेस इन्डस्ट्रिज' (आईएआई) सँग सम्झौता गरेको थियो। कम्पनीले जति ढिला इन्जिन मर्मत गर्यो त्यति नै फाइदा भाडाको इन्जिनबाट पाउने थियो। जसका कारण ६५ दिनमा मर्मत गर्ने प्रतिबद्धतासँगै २०२३ को सेप्टेम्बरमा मर्मतका लागि पठाइएको इन्जिन २०२४ को अप्रिलमा मात्रै मर्मत गरेर दिएको थियो।
त्यतिमात्रै नभइ कलसाइन नाइन एन एकेएक्स जहाजको इन्जिनमा २०२३ को नोभेम्बर ३० मा समस्या आउँदा थप इन्जिन दिन नसक्दा पाँच महिनासम्म ग्राउन्डेड भएको थियो।
२०२३ को नोभेम्बरमा बिग्रिएको इन्जिन मर्मत भइसक्दा पनि निगम व्यवस्थापनले ल्याउन सकेको छैन। २०२३ को सेप्टेम्बर २८ देखि भाडामा उपलब्ध गराएको इन्जिनको भाडा रकम भने गइरहेको छ।
निगम कार्यकारी अध्यक्ष अधिकारीले पनि भाडाको इन्जिनबापत कमिसन बुझिरहेका छन्। निगमले न्यारोबडी जहाजको इन्जिन मर्मत तथा भाडामा लिने खेलसँगै दुईवटा जहाज १५ महिना ग्राउन्डेड हुँदा ८ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गुमाएको थियो।
फेरि अहिले दुईवटै वाइडबडी जहाजको चारवटै इन्जिन मर्मतको समय नजिकिँदै छ। सम्भवत: २०२६ को सुरुवातमा नै वाइडबडीका चारवटै इन्जिन मर्मतमा जाने छ। एउटा इन्जिन मर्मतमै १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने छ।
चारवटा इन्जिन मर्मतमा मात्रै ६ अर्ब रुपैयाँ लाग्ने छ। साथै इन्जिन मर्मतको समयमा भाडामा इन्जिन लिँदा सरदर दैनिक २० हजार डलरसम्म लाग्छ। यस्तो संवेदनशील कामबाट कमिसन खानकै लागि अधिकारीले पुन: न्यारोबडीकै गल्ती दोहोर्याउन लागेका छन्।
इन्जिन मर्मत तथा भाडामा लिनकै लागि अबको केही दिनमा टेन्डर हुँदै छ। टेन्डर डकुमेन्ट तयार भइसकेको छ। टेन्डर आउने बेला भएसँगै अधिकारीको सिंगापुर, मलेसिया र थाइल्याण्डको भ्रमण पनि बाक्लिएको निगम स्रोतको दाबी छ।
फेरि अधिकारीको दबाबमा वाइडबडीको इन्जिन मर्मतको काम जुन कम्पनीलाई दिइन्छ त्यही कम्पनीबाट इन्जिन भाडामा लिनेगरी सबै तयारी भएको स्रोतको दाबी छ।
न्यारोबडीको इन्जिन मर्मत र भाडामा लिनेगरी एउटै कम्पनी छनोट गर्दा समस्या हुनुका साथै आम्दानीमा समेत असर पुगेको भन्दै उक्त गल्ती नदोहोर्याउन सम्बन्धित विभागका कर्मचारीले सुझाव दिएका थिए। अधिकारीले कमिसनका लागि वाइडबडीको इन्जिन मर्मत तथा इन्जिन भाडामा लिने काम एउटै कम्पनीबाट गर्नेगरी सेटिङ गरेको र सोहीअनुसार टेन्डर आउन लागेको स्रोतको दाबी छ।