संखुवासभा- ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दिपक खड्काले संखुवासभामा करिब ४ करोड ६५ लाख रुपैयाँ लागतमा निर्माण भएको मोटरेबल पुलको उद्घाटन गरेका छन्।
पुल उद्घाटन गर्दै मन्त्री खड्काले स्थानीय यातायात सहज बनाउने अर्को पुल, सडक स्तरोन्नति तथा जलविद्युत आयोजना र पर्यटकीय सम्भावनाहरूमा समेत लगानी हुने बताएका छन्।
संखुवासभाको सिलीचोङ गाउँपालिका-१ र २ लाई जोड्ने उक्त पुल संघीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा तीन वर्षको अवधिमा निर्माण सम्पन्न भएको हो।
साथै संखुवा खोलामा अर्को नयाँ पुल निर्माणका लागि चालू वर्षमै तीन करोड रुपैयाँको बजेट विनियोजन भइसकेको जानकारी दिए। उनले छिट्टै टेन्डर प्रक्रिया अघि बढ्नेसमेत बताएा छन्।
यस्तै, मानेभञ्ज्याङ-चन्दनपुर-हेलुवा बेसी सडक खण्ड कालोपत्रे गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खड्काले यो वर्षभित्रै काम सम्पन्न गर्न व्यक्तिगत रूपमा पहल गर्ने प्रतिबद्धता जनाए।
ऊर्जा पूर्वाधारको सन्दर्भमा उनले सिलिचोङ गाउँपालिका भित्रै ५ देखि ७ वटा जलविद्युत आयोजना निर्माणको चरणमा रहेको जानकारी दिए। ती आयोजनाबाट रोजगारी, आर्थिक विकास र स्थानीय पूर्वाधारमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे।
‘संखुवासभा केवल मेरो जन्मभूमि होइन, यसको समग्र विकासको जिम्मेवारी पनि मेरो काँधमा छ’ मन्त्री खड्काले भने। साथै सिलीचोङलाई सोलुखुम्बुसँग जोड्ने वैकल्पिक नाका बनाउने सम्भावना रहेकाे तथा पर्यटकीय प्रबर्द्धनमा टेवा पुर्याउनेसमेत बताएका छन्।
बुधबारेमा स्थायी प्रहरी चौकी स्थापना गर्न पहल भइरहेको र मकालु बरुण राष्ट्रिय निकुञ्जभित्र विकास कार्य गर्दा देखिने प्राविधिक ढिलाइलाई कम गर्दै व्यवस्थित सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको मन्त्री खड्काले जानकारी दिए।