शुक्रबार, साउन १६ गते २०८२    
शुक्रबार, साउन १६ २०८२
images
images

तनहुँ जलविद्युत् आयोजनामा पानीको सतहबारे सूचना दिने सेन्सर जडान

images
बिहीबार , साउन १५ २०८२
images
images
तनहुँ जलविद्युत् आयोजनामा पानीको सतहबारे सूचना दिने सेन्सर जडान

आयोजनाले बाढीका कारण नदीको बहावमा हुने वृद्धि र बाँधको गेट खोलेको पूर्वसूचना दिन १७ स्थानमा साइरन जडान गरिसकेको जनाएको छ।

images
images

दमौली- तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माणस्थलमा पानीको सतहबारे सूचना दिने सेन्सर जडान गरिएको छ।

images

आयोजनाले आपतकालीन पूर्वतयारीका रूपमा सेती नदीमा पानीको सतह मापन, अस्थायी बाँधको सुरक्षाका लागि निरन्तर निगरानी र आपतकालीन पूर्वतयारीलाई प्रभावकारी बनाउन पानीको सतह मापन गर्न सेन्सर जडान गरिएको हो।

images
images

सेन्सर जडान गर्नुको मुख्य उद्देश्य मनसुनको बाढीबाट अस्थायी बाँध भत्किन सक्ने जोखिम न्यूनीकरण गर्नु रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजनाअन्तर्गत उक्त प्रणालीले बाढीको सतहको वास्तविक समयमा निगरानी गर्न मद्दत पुग्नुका साथै सार्वजनिक तथा अन्य सरोकार भएकासँगको सञ्चारलाई थप प्रभावकारी बनाउने उनले बताए।

images
images
images

भण्डारीले भने, 'पानीको सतहसम्बन्धी जानकारीसहितको विवरण ‘मल्टिस्क्रिन डिस्प्ले’ बोर्डमा देखिन्छ, जसले महत्त्वपूर्ण सूचना समयमै र तत्कालै प्रवाह गर्न सहयोग पुग्नेछ।'

अस्थायी बाँध रहेको स्थान भौगोलिकरूपमा दुर्गम भएकाले रातिको समयमा त्यहाँ पुगेर स्थिति अवलोकन गर्न जटिल हुने भएकाले यस्तो प्रविधिले विपद् न्यूनीकरणमा सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरे।

आयोजनाले मुख्य बाँधस्थलभन्दा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सेती नदीको जलसतह सतर्कता तहभन्दा बढेमा सतर्कताको पूर्वसूचना दिन आपतकालीन अवस्थामा प्रभावकारी सञ्चार सुनिश्चित गर्न मोबाइल नम्बरमा सन्देश पठाउन सेवा प्रदायकसँग सम्झौता भइसकेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए। उनका अनुसार आयोजनाले आपतकालीन अवस्थाको पूर्वसूचना दिन तल्लो तटीय क्षेत्रभित्रका समुदायलाई एकैपटक मोबाइल फोन प्रयोगकर्तालाई सतर्कता अपनाउने सन्देश समेटिएको एसएमएस पठाउनेछ।

भण्डारीले भने, 'यसका लागि त्यस क्षेत्रका बासिन्दाको मोबाइल नम्बर संकलन गरिसकिएको छ। यस प्रणालीको उद्देश्य बाढीजस्ता आपतकालीन अवस्थामा सम्भावित जोखिममा रहेका तल्लो तटीय बस्तीलाई समयमा सूचना प्रवाह गराइ सार्वजनिक सुरक्षा र तयारी क्षमता अभिवृद्धि गर्नु हो।'

आयोजनाले बाढीका कारण नदीको बहावमा हुने वृद्धि र बाँधको गेट खोलेको पूर्वसूचना दिन १७ स्थानमा साइरन जडान गरिसकेको जनाएको छ। आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत बाँध निर्माणस्थलभन्दा तल्लो तटीय क्षेत्रमा पर्ने होक्सेटारबाट घुमाउने क्षेत्रका समुदायलाई पूर्वसूचना दिन साइरन जडान गरिएको भण्डारीले उल्लेख गरे।

उनले भने, 'सेती नदीमा निर्माण हुने १४० मिटर अग्लो बाँध र सोबाट तल्लो तटीय क्षेत्रमा पानीको सतहमा आउन सक्ने उतारचढावका विषयमा अग्रिम सूचना दिन साइरन जडान भएर सञ्चालनमा आइसकेको छ।'

साइरन जडानपश्चात् बाँधमा जम्मा भएको पानीलाई प्राविधिक कारणले एकैचोटी छाड्नुपर्दा नदीमा अकस्मात आउन सक्ने बाढीबाट मानवीय क्षति नहोस् भन्नका लागि नदीमा नुहाउने, लुगा धुने, माछा मार्ने र पौडी खेल्नेकार्य गरिरहेका सर्वसाधारणलाई पूर्वसूचना दिइने जनाइएको छ। रासस


प्रकाशित : बिहीबार , साउन १५ २०८२१३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend