काठमाडौं- लिपमोटरको नयाँ विद्युतीय एसयूभी नेपाली बजारमा सार्वजनिक भएको छ। लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले बुधबार प्रिभिउमार्फत सफ्टलन्च गरेको हो।
आकर्षक डिजाइन र अत्याधुनिक विशेषतायुक्त लिपमोटर बीटेन यही साउन २१ देखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पो २०२५ मा औपचारिक रुपमा सार्वजनिक हुनेछ। एक्स्पो सुरु हुने दिन नै बीटेनको मूल्य सार्वजनिक गरेरर बिक्री सुरु गरिने कम्पनीले जनाएको छ।
गुणस्तरीय र सुविधायुक्त विद्युतीय एसयूभी खोज्नेका लागि उपयुक्त बीटेन सेमेन्टको अब्बल विद्युतीय कारका रुपमा आएको कम्पनीले जनाएको छ। बीटेनमा ६७.१ किलोवाट आवरको ब्याट्री प्याक रहेको ट भने यो कारले १ पटकको फुल चार्जमा ४ सय ६० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ।
अर्को महत्वपूर्ण पक्ष भनेको बीटेनको मोटर पावर पनि हो। यो विद्युतीय एसयूभीमा १ सय ६० किलोवाट पिक पावर भएको मोटर जडान गरिएको छ। योभन्दा ठूला गाडी १ सय किलोवाट मोटरमा आइरहेको अवस्थामा बीटेनमा १ सय ६० किलोवाट मोटर भएकाले पनि यो विद्युतीय एसयूभी अब्बल सावित हुनेछ।
स्टेलेन्टिस समूहअन्तर्गतको ब्रान्ड लिपमोटरको सीटेन विद्युतीय एसयूभी एक वर्षभन्दा अघिदेखि नेपाली बजारमा बिक्री हुँदै आइरहेको छ। आफ्नो सेगमेन्टमा राम्रो बिक्री संख्या हासिल गरेको सीटेनमा पनि १ सय ६० किलोवाटकै मोटर रहेको छ।
डिजाइन, प्रविधि र पर्फमेन्सका हिसाबले लिपमोटर बीटेन अब्बल रहेको सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले बताए। ‘कम्पनीले ल्याएका सबै ब्रान्डहरु उत्कृष्ट रहेको सावित भइरहेको छ। स्टेलेन्टिस समूहअन्तर्गत रहेको लिपमोटरको यसअघि आएको सीटेनले पनि त्यो प्रमाणित गरिसकेको छ,’ उनले भने, ‘बीटेनमा पनि त्यस्तै उत्कृष्ट गुणस्तर र पर्फमेन्ट छ उपभोक्ताले पक्कै मन पराउनु हुनेछ।’
अहिले प्रिभिउ गरिएको र नाइमा एक्स्पोमा बीटेनको मूल्यसहित औपचारिक रुपमा बिक्री सुरु हुने उनको भनाइ छ।
गोल्छा अर्गनाइजेसनअन्तर्गतको सांग्रिला मोटर्सले युरोपेली ब्रान्ड प्युजो, सिट्रोन र लिपमोटरको बिक्री गर्दै आएको छ। नाइमा मोबिलिटी एक्स्पोमा यी तीनवटै ब्रान्डका सवारी प्रदर्शनीका लागि राखिने छन्।