काठमाडौं- अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले दक्षिण कोरियाली कम्पनीसँग ठूलो परिमाणमा ब्याट्री खरिद गर्ने भएको छ। यसका लागि टेस्लाले कोरियाली कम्पनी एलजी इनर्जी सोलुसन(एलजीईएस)सँग सम्झौता गरेको हो।
दुई कम्पनीबीच हालैमात्र सम्झौता भएको रोयटर्सले लेखेको छ। उक्त सम्झौताअनुसार टेस्लाले एलपीईएससँग ४ अर्ब ३० करोड अमेरिकी डलरबराबरको ब्याट्री खरिद गर्नेछ।
चिनियाँ उत्पादनमाथि अमेरिकाले चर्को कर लगाएको र चिनियाँ निर्भरता कम गर्न टेस्लाले कोरियाली कम्पनीसँग ब्याट्री खरिद गर्ने सम्झौता गरेको हो। एलजीईएसले उत्पादन गरेको लिथियम आइरन फोसफेट(एलएफपी) ब्याट्री टेस्लाको अमेरिकाको मिचिगनमा रहेको फ्याक्ट्रीमा सप्लाइ हुनेछ।
एलजीईएसले भने बुधबार बिहानै ४ अर्ब ३० करोड डलर बसारबरको एलएफपी ब्याट्री सप्लाइको सम्झौता भएको बताएको छ। तर कम्पनीले उक्त सम्झौता कोसँग भयो भन्ने चाहिँ खुलाएको छैन। एलजीईएसको हालसम्मको सबैभन्दा ठूला खरिदकर्ता दुई अमेरिकी कम्पनी टेस्ला र जनरल मोटर्स हुन्।
एलजीईएसले सप्लाइ गर्न लागेको एलएफपी ब्याट्री विद्युतीय कारमा प्रयोग हुने वा ऊर्जा भण्डारका लागि उपयोग हुने भन्ने खुलेको छैन। ‘दुई कम्पनीबीचको सम्झौताअनुसार नै कसका लागि ४ अर्ब ३० करोड डलरको ब्याट्री सप्लाइ गर्न लागेको हो त्यो खुलाउन मिल्दैन,’ एलजीईएसले रोयटर्ससँग भनेको छ।
हाल टेस्लाले एलएफपी ब्याट्री चीनबाट आयात गर्दै आएको छ। तर चिनियाँ सामानमा अमेरिकाले उच्च कर लगाएका कारण अब त्यसरी सहज रुपमा आयात गर्न कठीन हुनेछ।
टेस्लाका वित्त प्रमुख वैभव तनेजाले गएको अप्रिलमा कम्पनीले गैरचिनियाँ ब्याट्री सप्लायर्ससँग कुरा भइरहेको बताएका थिए। टेस्लाले इनर्जी स्टोरेजमा लगानी विस्तार गरिरहेको छ।
अमेरिकाले विभिन्न देशहरुसँग कर बढाउने निर्णयपछि दोहोरो व्यापार सम्झौता गरिरहेको छ। त्यसमा दक्षिण कोरिया पनि छ। वासिङटनले कोरियासँग सम्झौता गरेलगत्तै सामसङ इलेक्ट्रोनिक्स र टेस्लाले यही साता १६ अर्ब ५० करोड डलर बराबरको चिप आपूर्तिको सम्झौता गरेका हुन्।
अमेरिकामै पनि एलएफपी ब्याट्रीमा चिनियाँकै दबदबा रहेको छ। त्यसमध्ये चिनियाँ ब्याट्रीसँग प्रतिस्पर्धा गरिरहेको एउटा कम्पनी हो एलजीईएस। एलजीईएसले गएको मेबाट अमेरिकाको मिचिगनमा रहेको आफ्नो प्लान्टबाट ब्याट्री उत्पादन थालेको थियो। अमेरिकामा विद्युतीय कारको मागमा केही कमी आएसँगै एलजीईएसले इनर्जी स्टोरेज सिस्टमका लागि केन्द्रित गरेर ब्याट्री बनाउन थालेको जनाएको छ।
एलजीईएसका अनुसार ब्याट्री सप्लाइको सम्झौता २०२७ अगस्टदेखि २०३० जुलाईसम्मका लागि लागु हुनेछ। दुई कम्पनीबीच आपसी समझदारीमा अवधि थप गर्नेसमेत सकिने जनाइएको छ।