काठमाडौं- आगानी भदौ ३ गतेदेखि हुने नाडा अटो शो २०२५ मा भारतमा उत्पादित दुई विद्युतीय एसयूभी आउने भएका छन्। सुजुकीको 'ई भिटारा' र टाटाको 'ह्यारियर ईभी' अटो शोमा प्रदर्शनीमा राखिने निश्चित भएको छ।
अटो शोमा नयाँ नयाँ सवारी प्रदर्शनीमा राख्ने चलन रहेको छ। यो वर्ष नेपालमा पहिलोपटक दुईवटा अटो शो हुँदैछ। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ साउन २१ गतेदेखि हुँदै छ भने नाडा अटो शो २०२५ भदौ ३ गतेदेखि हुँदैछ। नाइमाको मोबिलिटी एक्स्पो पहिलोपटक हुन लागेको हो भने नाडा अटो शोको १७औँ संस्करण हुन लागेको हो।
नाडा र नाइमा शोमा दुवैमा केही ब्रान्डबाहेकले सहभागिता जनाएका छैनन्। अधिकांश ब्रान्डहरू या त नाइमामा छन् या त नाडामा छन्। नाडा अटो शोमामात्र सहभागिता जनाएका ब्रान्ड सुजुकी र टाटा मोटर्सले भारतमा बनेका प्रतिक्षित विद्युतीय एसयूभी प्रदर्शनीका लागि ल्याउँदै छन्।
भारतमा मारुती सुजुकीले बिक्री सुरु गर्नै लागेको ई भिटारालाई धेरैले चासोका साथ हेरेका छन्। त्यस्तैगरी टाटा मोटर्सले उत्पादन गरेर बिक्री सुरु गरेको ह्यारियर ईभीले भारतीय अटोमोबाइल बजारमा राम्रै चर्चा बटुलिरहेको छ।
यी दुवै विद्युतीय एसयूभी नेपाली बजारमा पनि चासोका साथ हेरिएको छ। नेपाली बजारमा निकै शक्तिशाली र आकर्षक विद्युतीय सवारी उपलब्ध छन्। चिनियाँ कम्पनीहरूले उत्पादन गरेर अब्बल विद्युतीय सवारीहरूसँग प्रतिस्पर्धा गर्ने भारतीय विद्युतीय कारहरू आउँदै छन्।
सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले ई भिटारा र टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ह्यारियर ईभी (नेपाली बजारमा एचफाइभ ईभी) का रुपमा अटो शोमा ल्याउने निश्चित भएको कम्पनी स्रोतले बताएको छ।
यसअघि आईसीई इन्जिन बनेको ह्यारियर नेपालमा एभ फाइभकै नाममा बिक्री गइरहेको छ। यी विद्युतीय एसयूभीको मूल्य, कुन भेरियन्ट आउने यकिन भइसकेको छैनन्।
सुजुकी ई भिटारा
मारुती सुजुकीले आफ्नो पहिलो विद्युतीय कार मोडल ई भिटारा गएको जनवरीमा भएको भारत मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरेको थियो। ई भिटारामा एलएफपी ब्लेड ब्याट्री प्रयोग भएको छ। यसमा ४९ किलोवाट आवर र ६१ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा आउनेछ। सुजुकी ई भिटाराले एक पटकको फुल चार्जमा ५ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।
सुजुकीले ई भिटारालाई फ्रन्ट ह्वील ड्राइभ अप्सनमा १०६, १२८ र १३५ किलोवाटको तीन मोटर अप्सनमा ल्याउने जानकारी दिएको थियो। ई अलग्रिप अप्सन भएको अल ह्वील मोटर ई भिटारामा भने अगाडि १३५ र पछाडि ४८ किलोवाटको मोटरमा आउने कम्पनीले जनाएको छ।
सुजुकीको नयाँ ईभी टेक्नोलोजी र विशेषताले भरिपूर्ण ई भिटारामा अगाडि र पछाडि नै ट्राइस्ल्यास डिजाइनको एलइडी डीआरएल दिएको छ। चार्जिङ पोर्ट भने फ्रन्टमा उपलब्ध रहेको छ। ई भिटारामा इन्टेरियरमा फ्लोटिङ ड्यूल स्क्रीन, अटोमेटीक क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामरा, टु स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, एडास सिस्टम, प्यानारोमिक सनरुफ, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, हिल डिसेन्ट कन्ट्रोल, हिटेड ओआरभीएम, वायरलेस फोन चार्जरलगायत विशेषता रहेका छन्।
मारुती सुजुकी ई भिटाराको लम्बाई ४२ सय ७५ एमएम, चौडाइ १८ सय एमएम र उचाई १६ सय ३५ एमएम रहेको छ। यो ईभी २७ सय एमएमको ह्वीलवेसमा बनेको छ। ई भिटारा अल ह्वील ड्राइभमा १९ इन्चको ह्वील छ। सिंगल ह्वील ड्राइभ भर्सनमा भने १८ इन्चको ह्वील रहेको कम्पनीले जनाएको छ।
टाटा एच फाइभ (ह्यारियर) ईभी
टाटाले ह्यारियर ईभीमा ६५ र ७५ किलोवट अवार गरी दुई ब्याट्री अप्सन उत्पादन गरेको छ। ह्यारियर ईभी रियर ह्वील ड्राइभ र क्वाड ह्वील ड्राइभ दुवै अप्सनमा उपलब्ध छ। रियर ह्वील ड्राइभ भेरियन्टहरूको २१.४९ लाखदेखि २७.४९ लाख भारतीय रुपैयाँसम्म छ। त्यस्तै अल ह्वील ड्राइभको मूल्य २८.९९ लाखदेखि ३०.२३ लाख भारतीय रुपैयाँसम्म तोकेर बिक्री सुरु भएको छ।
भारतमा बुकिङ खुला गरेको २४ घण्टामा १० हजारभन्दा धेरै ह्यारियर ईभी बुकिङ भएर रेकर्ड कायम गरेको थियो। ह्यारियर ईभीको क्वाडह्वील ड्राइभको फ्रन्टमा १ सय १६ किलोवाट र रियरमा १ सय ७५ किलोवाटको मोटर दिएको छ।
दुई मोटरले संयुक्त रूपमा ३ सय ९६ हर्सपावर र ५ सय ४ एनएमको टर्क जेनेरेट गर्छ। त्यस्तै रियर ह्वील ड्राइभमा रहेको मोटरले २ सय ३८ हर्सपावर र ३ सय १५ एनएम टर्क जेनेरेट गर्छ। बुस्ट मोड, ६ थरिको टेरेन मोड, अफरोड असिस्ट मोड जस्ता ड्राइभिङ विशेषता रहेको ह्यारियर ईभीले ६.३ सेकेन्डमै शून्यबाट १ सय किलोमिटर प्रतिघण्टाको गति तय गर्न सक्छ।
ह्यारियर ईभीलाई फरक देखाउन सिल्ड अपर ग्रिल, कर्भ ईभीको जस्तै क्रोम ट्रिम भएको एयरड्याम, १९ इन्चको ह्वील, फ्रन्ट डोर र टेलगेटमा ह्यारियर ईभीको ब्याजिङ आदि विशेषता रहेका छन्।
यसको इन्टेरियरमा ड्युल टोन ड्यासबोर्ड, टच बेसको एचभीएसी कन्ट्रोल, फ्लोटिङ टचस्क्रीन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, फोर स्पोक स्टेरिङ ह्वील आदि रहेका छन्। त्यस्तै प्यानारोमिक सनरुफ, टेरेन मोड, इलेक्ट्रिक पार्किङ ब्रेकलगायत विशेषताले ह्यारियर ईभीलाई अब्बल देखाएको छ।