बिहीबार , असार ४ गते २०८३    
बिहीबार , असार ४ २०८३

प्रोटोनको तेस्रो शोरुम पोखरामा, ईमास ७ सार्वजनिक

सोमबार, साउन १२ २०८२
प्रोटोनको तेस्रो शोरुम पोखरामा, ईमास ७ सार्वजनिक

पोखरामा शोरुम उद्घाटनको पहिलो सातासम्म ग्राहकका लागि प्रोटोन ईमास ७ खरिदमा शून्य प्रतिशत ब्याजदरको घोषणा गरिएको छ।

पोखरा- देशभर विद्युतीय सवारी (ईभी) को प्रयोगलाई तीव्र पार्ने क्रममा प्रोटोनले आफ्नो तेस्रो शोरुम सोमबारदेखि पोखरामा सञ्चालनमा ल्याएको छ। नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंबाहिर पहिलोपल्ट पोखराको बुद्धचोकमा शोरुम स्थापना गरेको हो।

शोरुममा प्रोटोनको प्रमुख विद्युतीय सवारीसाधन प्रोटोन एसयूभी ईमास ७ बिक्रीका लागि राखिएको छ। काठमाडौंको नक्साल र थापाथलीपछि यो तेस्रो शोरुम हो।

उक्त अवसरमा प्रोटोनले सम्भावित ग्राहकका लागि टेस्ट ड्राइभ दर्ता, व्यक्तिगत परामर्श, सजिलो फाइनान्स र सरकारी अनुदानका विकल्पबारे पनि सहजीकरण गरेको छ। बिक्रीपछिको सेल्स सपोर्टलाई अझ विश्वासिलो बनाउन नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहकलाई विश्वस्तरीय सेवा सुनिश्चित गर्दै पोखराभित्र तेस्रो सर्भिस सेन्टरको स्थापना गरेको हो।

जगदम्बा मोटर्सले पोखरामा शोरुम उद्घाटनको पहिलो सातासम्म ग्राहकका लागि प्रोटोन ईमास ७ खरिदमा शून्य प्रतिशत ब्याजदरको घोषणा गरेको छ।

शोरुमको उद्घाटन पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) का अध्यक्ष दीपेन्द्र कोइरालाले गरे। उनले पोखरा अटोमोबाइल्सको दोस्रो हब भएको बताउँदै प्रोटोनलाई पोखरामा स्वागत गरे।

Proton EV Showroom in Pokhara1.jpeg

जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले सन् २०२५ सम्म राष्ट्रव्यापी विद्युतीय सवारीसाधन सञ्जाल स्थापना गर्ने प्रोटोनको फराकिलो योजनाअन्तर्गत पोखरामा स्थापित शोरुम महत्त्वपूर्ण हिस्सा बन्ने बताए। ‘पोखरामा हामीले डिलर नै चलाउन खोजेको हो तर अहिलेको बजारको स्थितिलाई हेर्दा सहज नभएकोले आफै संरचना बनायौँ,’ उनले भने, ‘भविष्यमा यहीका स्थानीयले गर्छौँ भनेर आउनुभयो भने सहकार्य गर्न तयार छौँ।’

जगदम्बा मोटर्सका सहायक महाप्रबन्धक आकाशविक्रम थापाले पोखराको बजारलाई महत्त्व दिएर शोरुम स्थापना गरेको बताए। ‘यहाँको पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास लिएका छौँ,’ उनले भने, ‘काठमाडौंमा मन जित्न सफल भएका छौँ, पोखरामा पनि सफल हुनेछौँ।’

सोमबार नै कम्पनीले पोखरा इभेन्ट सेन्टरमा प्रोटोनको एसयूभी ईभी ईमास ७ सार्वजनिक गरेको छ। जगदम्बा मोटर्सले नेपाली बजारमा गत चैतदेखि ईमास ७ को आधिकारिकरुपमा लन्च गरेको थियो । जगदम्बा मोटर्स, प्रोटोन नेपालका कार्यकारी निर्देशक अखिल गुप्ताले ईमास ७ सार्वजनिक गरे।

‘प्राकृतिक सौन्दर्य र आधुनिक सोचले भरिपूर्ण सहर पोखरामा प्रोटोन ल्याउन पाउँदा हामी गर्व गर्छौँ,’ उनले भने, ‘यस विस्तारसँगै हामी पश्चिम क्षेत्रभरका व्यक्ति र परिवारका लागि सफा, स्मार्ट र सजिलो यातायात अझ पहुँचयोग्य बनाउनेछौँ। यो त केवल सुरुआत हो।’

प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध प्रोटोन ईमास ७ को मूल्य क्रमशः ५६ लाख ९९ हजार र ६७ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। प्लाटिनम सिल्भर, टक्रोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट गरी विभिन्न ६ कलर अप्सनमा यो ईभी उपलब्ध छ।

Proton EV Showroom in Pokhara2.jpeg

जगदम्बा मोटर्सले आगामी आर्थिक वर्षमा नेपालभरि आफ्नो डिलरसिप संख्या विस्तार गर्ने र बलियो सर्भिस सेन्टर नेटवर्क स्थापना गर्ने योजना बनाएको छ। साथै, प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन पूर्वाधार विकासमा पनि लगानी गर्ने बताएको छ।

प्रोटोन ईमास ७ प्रोटोनको पहिलो विद्युतीय सवारीसाधन अर्थात ईभी हो। यो ग्लोबल मोड्युलर आर्किटेक्चर (जीएमए) प्लेटफर्ममा निर्माण गरिएको छ। यसमा १२-इन-१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम रहेको छ भने नवीनतम सेल-टु-बडी (सीटीबी) ब्याट्री संरचना छ। त्यसैगरी, यसमा नयाँ पुस्ताको एजिस सर्ट-ब्लेड ब्याट्री (लिथियम आइरन फस्फेट) रहेको छ।

सुरक्षा र प्रदर्शनका लागि यसमा लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम छ भने ३६० डिग्री भ्यु क्यामेरा, फाइभ स्टार एसियन एनक्याप सेफ्टी रेटिङ, १६० किलोवाट पावर र ३२० एनएम टर्क जेनेरेट गर्ने क्षमता छ भने यसलाई शून्यदेखि १०० किलोमिटर प्रतिघण्टा पुग्न पुग्न ६.९ सेकेन्ड मात्र लाग्छ। त्यसैगरी, १०० किलोमिटर प्रतिघण्टाबाट रोक्न ३५ मिटर ब्रेकिङ दुरीमात्र चाहिन्छ।

प्राइम भेरिएन्टमा ४९.५२ किलोवाट आवरको ब्याट्री छ र यसले डब्लुएलटीपी अनुसार सिंगल चार्जमा ३४५ किलोमिटर रेन्ज दिन्छ। त्यसैगरी, प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री छ र यसले डब्लुएलटीपी अनुसार सिंगल चार्जमा ४१० किलोमिटर रेन्ज दिन्छ। यसले डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ र ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुन २० मिनेटमात्र लाग्छ। १० मिनेट चार्ज गर्दा यसलाई १३५ किलोमिटरसम्म चलाउन सकिन्छ।

यसको इन्टेरियरमा भेन्टिलेटेड सिटहरू छन् भने प्रशस्त लेगरुम रहेको छ। ३३ स्टोरेज कम्पार्टमेन्टहरू रहेको प्रोटोन ईमास ७ ईभीमा वानोस प्रविधिसहितको १६ स्पिकर साउन्ड वेभ सिस्टम छ भने २५६ रङको एम्बियन्ट लाइटिङ छ, जुन यो सेगमेन्टकै सर्वश्रेष्ठ भएको कम्पनीको भनाइ छ। यसमा २.५ के रिजोल्युन सहितको १५.४ इन्चको टचस्क्रिन डिस्प्ले रहेको छ।

प्रोटोन ईमास ७ मलेसियाली कम्पनीद्वारा उत्पादित ईभी हो। यो मलेसियाको अग्रणी राष्ट्रिय विद्युतीय सवारी र नयाँ ऊर्जा ब्रान्ड हो, जसलाई प्रो-नेटद्वारा वितरण गरिन्छ। पहिलोपटक २०२४ को जुन १२ मा सार्वजनिक गरिएको यो ईभीका लागि विस्तारित डिलर नेटवर्क, व्यापक बिक्रीपछिको सेवा र इकोसिस्टम निर्माण गरिने र यसले प्रत्येक ग्राहकलाई सहज र सन्तोषजनक अनुभव प्रदान गर्ने जगदम्बा मोटर्सले जनाएको छ।


प्रकाशित : सोमबार, साउन १२ २०८२१७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend