भरतपुर- चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको सङ्ख्या घटेको छ। गत वर्षको तुलनामा झन्डै २५ प्रतिशत पर्यटक घटेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा ७५ हजार पाँचसय आठजना निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ।
आर्थिक वर्ष २०८०/८१ मा चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख ६ हजार आठसय ३७ जना पर्यटकले निकुञ्ज घुमेका थिए। गत आर्थिक वर्ष जम्मा दुई लाख ३१ हजार तीनसय २९ जना पर्यटक निकुञ्ज प्रवेश गरेको सूचना अधिकारी थापामगरले जानकारी दिए। त्यसमध्ये एक लाख १७ हजार दुईसय ६ जना स्वदेशी थिए।
निकुञ्ज प्रवेश गर्नेमा महिलाको सङ्ख्याभन्दा पुरुषको सङ्ख्या बढी छ। यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका २४ हजार आठ सय र सार्क बाहेकका देशबाट ८९ हजार तीन सय २३ जनाले निकुञ्ज घुमको निकुञ्ज कार्यालयको तथ्यांकमा उल्लेख छ।
चितवन निकुञ्ज घुम्न कात्तिक महिनामा सबैभन्दा धेरै पर्यटक आएका छन्। यो महिनामा ३२ हजार दुईसय ५२ जना निकुञ्ज घुम्न आएका थिए। सबैभन्दा कम साउन सात हजार तीनसय नौ जनाले निकुञ्ज घुमेका छन्। सडक पूर्वाधार लगायतका कारणले गत आर्थिक वर्षमा पर्यटकको सङ्ख्यामा कमी आएको थापामगरले बताए। उनले यस आर्थिक वर्षमा पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको बताए।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष ध्रुव गिरीले चितवन निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको भन्दै यसले सौराहाको पर्यटन व्यवसायमा ठूलो असर पारेको बताए।
उनले अन्तर्राष्ट्रिय विमानस्थलमा केही समय भएको रात्रीकालिन उडान बन्द, मुख्य सहरसँग चितवन जोड्ने सडकको अवस्था नराम्रो भएका कारण यहाँ आउने पर्यटकको संख्यामा कमि आएको बताए। विमानस्थल र मुख्य राजमार्गहरू सुधार गर्न सके मात्र पर्यटकको सङ्ख्या बढाउन सकिने उनको धारणा छ।
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी, वनस्पति, जलचरको अध्ययन, अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्। रासस