शुक्रबार, साउन ८ गते २०८३    
शुक्रबार, साउन ८ २०८३

निर्यात बढाउन एडीबीसँग थप सहकार्य आवश्यक : अर्थमन्त्री 

शुक्रबार, फागुन ६ २०७८
निर्यात बढाउन एडीबीसँग थप सहकार्य आवश्यक : अर्थमन्त्री 

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापक रूपमा लैजान एसियाली विकास बैंक (एडीबी) सँग नेपालले थप साझेदारी गर्नुपर्ने बताएका छन्। शुक्रबार एडीबीका कार्यकारी निर्देशक डा. वान फारिसनसँग भुर्चुअल माध्यमबाट भएको छलफलमा उनले यस्तो बताएका हुन्। 

नेपालमा उत्पादित सामान थोरै मात्रामा मात्र निर्यात भइरहेको जानकारी गराउँदै मन्त्री शर्माले यस क्षेत्रमा एडीबीसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए। ‘नेपालको निकासी न्यून मात्रामा मात्रै भएको छ’, उनले भने, ‘उत्पादन गर्ने वस्तु वा क्षेत्रको छनोट र उत्पादित वस्तुको निकासी गरी विश्व बजार श्रृङ्खलामा पुर्‍याउन पनि एडीबीसँगको हाम्रो सहकार्य आवश्यक रहेको छ।’ अर्थतन्त्रको नकारात्मक पक्षहरूलाई न्यूनीकरण गर्ने कुराहरूमा पनि थप जोड दिन आवश्यक रहेको उनले औँल्याए। 

अर्थतन्त्र तथा व्यापारका सूचकांकलाई सुधार गर्न जरुरी रहेको मन्त्री शर्माको भनाइ छ। त्यसका लागि लगानीमैत्री वातावारण निर्माण तथा निजी क्षेत्रलाई प्रोत्साहन एवं उत्साहित बनाउनुपर्ने उनले बताए। 

छलफलमा उनले एडीबीले कोभिड महामारीलाई नियन्त्रण गर्न तथा नेपालको अर्थतन्त्रलाई सुधार गर्न पुर्‍याएको सहयोगप्रति बैंकलाई धन्यवाद समेत दिए। कोभिडपछि अर्थतन्त्रलाई उकास्न अझै धेरै काम गर्न बाँकी रहेको र त्यसमा थप सहकार्य नेपाललाई आवश्यक रहेको मन्त्री शर्माले बताए।


प्रकाशित : शुक्रबार, फागुन ६ २०७८११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend