कालीकोट- पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। साेमबार बिहानदेखि कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकअन्तर्गतको कालीकोटको गगने खोलादेखि हुल्म सडकखण्ड अवरुद्ध भएको हो।
आइतबार बेलुकीदेखिको वर्षाले गगने खोलादेखि हुल्मसम्म धेरै ठाउँमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको हो। रातिदेखि अत्यधिक वर्षा भएसँगै गगने खोलामा खसेको पहिरोले सडक अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले बताए।
‘गाडी चल्न सक्ने अवस्था छैन, कर्णाली करिडोर सुरु हुने खुलालु जिरो प्वान्टमा खसेका ढुंगा पन्छाएर जेसिभी गगने खोलाको पहिरो हटाउन पठाइएको छ’ उनले भने। पहिरो बगिरहेकाले काम गर्न पनि कठिन भएको प्रहरी नायव उपरीक्षक रावतले जानकारी दिए।
‘सडक डिभिजन जुम्लाले मेसिन पनि पठाएको छ’ उनी भन्छन्, ‘सानोतिनो पहिरो पन्छाउँदै मेसिन ठूलो पहिरो गएको ठाउँमा पुगिसकेकाले पानी रोकिए दिउँसोसम्म एकतर्फी सडक सञ्चालन हुन्छ।’ सडक अवरुद्ध हुँदा कालीकोट, जुम्ला मुगु, बाजुरा, हुम्लाबाट सुर्खेत जाने र त्यताबाट माथितिर आउने गाडी रोकिएको प्रहरीले जनाएको छ। रासस