नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कीबासस्थित विनयी खोलाको अस्थायी डाइभर्सनको विकल्पका रुपमा सञ्चालन हुँदै आएको वैकल्पिक सडक बाढीका कारण अवरुद्ध भएको छ।
आइतबार बिहानदेखि परेको वर्षाका कारण खोलामा बाढी आउँदा साना तथा यात्रुबाहक सवारीसाधनका लागि प्रयोग हुँदै आएको वैकल्पिक सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए।
होङ्सी गेट-सर्दी-ज्यामिरे हुँदै जाने वैकल्पिक सडकमा पर्ने खरंगे खोलामा आएको बाढीका कारण यातायात पूर्ण रुपमा अवरुद्ध भएको हाे।
ठूला सवारीसाधनलाई दुम्कीबास स्थित विनयी खोलामा निर्माण गरिएको डाइभर्सनबाट वारपार गराइँदै आएको थियो भने साना तथा यात्रुबाहक सवारी साधनलाई वैकल्पिक सडकमा सञ्चालन गरिएको थियो। बाढीका कारण डाइभर्सनसमेत बगाएको र वैकल्पिक बाटोको खोलामा बाढी आएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक नेपालकाे भनाइ छ।
खोलामा आएको बाढीका कारण यातायात अवरुद्ध भएसँगै सवारीसाधनलाई सुरक्षित स्थानमा ‘होल्ड’ गरिएको छ। दुम्कीबासस्थित विनयी खोलाको पुल भाँचिएपछि राजमार्ग डाइभर्सनका भरमा सञ्चालन हुँदै आएको छ।
पानी पर्दा डाइभर्सनमा क्षति हुने हुँदा प्रायःजसो राजमार्ग अवरुद्ध हुँदै आएको छ। भाँचिएको ठाउँमा नयाँ पुल निर्माण गरिँदैछ। उक्त पुल निर्माणको अन्तिम चरणमा पुगेको छ। पुल बनेपछि डाइभर्सनको दुःख अन्त्य हुनेछ। उता दाउन्ने खण्डमा निर्माणको काम नसकिँदा पानी पर्ने बित्तिकै सडक चिप्लो भएर यातायात अवरुद्ध हुने समस्या भने कायमै रहेको छ। रासस