आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

होमस्टेले गाउँमै बस्न सिकाउँदै

images
आइतबार, असार १५ २०८२
images
images
होमस्टेले गाउँमै बस्न सिकाउँदै

यहाँका महिलाले आफैँले उत्पादन गरेका खाद्यवस्तुकै माध्यमबाट पर्यटकलाई आकर्षण गर्न सकिन्छ भन्ने सोचेकै थिएनन्।

images
images

डुम्रे- घरधन्दा, मेलापात, बालबालिकाको हेरचाहमा मात्र व्यस्त हुने महिलाको दैनिकी फेरिएको छ। घरेलु कार्यमा व्यस्त रहने महिलाको जीवनशैलीमा परिवर्तन आएको छ। भानु नगरपालिका-९ चितीखोलाका महिला जीवनशैली परिवर्तनसँगै अहिले आयआर्जनतर्फ जोडिएका छन्।

images
images

नियमित गरिने कार्यसँगै पाहुना स्वागत गर्ने भएपछि अहिले उनीहरूको परिवर्तन भएको छ। विसं २०७६ मा स्थापना भएको ग्रीनहिल भिलेज सामुदायिक घरबास (होमस्टे) सञ्चालन गरेपछि घरधन्दासँगै काम परिवर्तन भएको छ। घरबासमार्फत यहाँका अधिकांश महिला आयआर्जनसँग जोडिएका छन्। यहाँका प्रत्येक घरलाई सिँगारेर घरबासमा परिणत भएपछि महिलाहरूको जीवनशैलीमात्र होइन, गाउँको पहिचानसमेत फेरिएको छ।

images
images

ग्रीनहिल भिलेज होमस्टे सञ्चालक समितिकी सचिव सुशीला पुलामी भन्छिन्, 'यहाँका महिलाको जीवनशैलीमा परिवर्तन आउनुका साथै परिवार छाडेर बालबालिका लिएर अन्त बसाइँ सर्ने कार्य रोकिएको छ।' घरबासले परिवारसँगै बसेर आयआर्जनसँग जोडेको उनको भनाइ छ। पुलामी भनिन्, 'हालसम्म हामीले यहाँका महिला बालबच्चासहित पठनपाठनका लागि भन्दै अन्यत्र गएको थाहा पाएका छैनौँ, गाउँमै बस्न सिकाएको छ।'

images
images
images

यहाँका महिलाले आफैँले उत्पादन गरेका खाद्यवस्तुकै माध्यमबाट पर्यटकलाई आकर्षण गर्न सकिन्छ भन्ने सोचेकै थिएनन्। उनी भन्छिन्, 'हामीले पहिलापहिला त गाउँमा पर्यटक आउने कल्पना पनि गरेका थिएनौँ, खेतबारी र घरायसी काममा सीमित रहेका हामी अहिले ती कामसँगै पाहुनाको स्वागत गर्न व्यस्त हुन्छौँ। होमस्टे सञ्चालनपछि हाम्रो दैनिकीमात्र होइन, गाउँको पहिचान नै फेरिएको छ।'

छ वर्ष अगाडि र अहिलेको गाउँको स्वरूप नै परिवर्तन भएको पुलामीको भनाइ छ। उनी भन्छिन्, 'होमस्टे भनेको के हो भन्नेसम्म पनि थाहा नभएका हामी अहिले यहीबाट आर्थिक रूपमा सबल बन्न सिकाएको छ।' चितीखोलाका २१ घरमा सञ्चालन गरिएको घरबासमा एकैपटकमा करिब ४२ जनालाई बासको व्यवस्था हुन्छ। घरबासले स्थानीयस्तरमै उत्पादित खानाका परिकार पाहुनालाई खुवाउने गर्छन्।

घरबास सञ्चालनका निम्ति क्षमता विकास, पाहुना सत्कार, विभिन्न खानाका परिकार बनाउनेलगायतका तालिम लिइसकेको र सहज भएको सदस्य सीता सारूले बताइन्। 'स्थानीय उत्पादन, गाउँघरमै पाइने जैविक, विषादीरहित र रैथाने परिकार पाहुनालाई खुवाउँछौँ। पहिले यही उत्पादन आफैँले मात्र खान धेरै भएर आफन्त र छरछिमेकमा बाँडिन्थ्यो, अहिले यही उत्पादन आम्दानीको स्रोत बनेको छ', उनले भनिन्। 

यस्तै होमस्टे सञ्चालक समितिकी अध्यक्ष धनाकुमारी सारू मगरले गाउँमा होमस्टे सञ्चालनपछि स्थानीय महिलाको जीवनशैलीमा धेरै परिवर्तन आउनुका साथै आर्थिक रूपमा सबल बन्दै गएको बताइन्। 'होमस्टे सञ्चालनपछि आर्थिक रूपमा मात्र होइन, यहाँका महिलालाई आत्मनिर्भर र नेतृत्वदायी भूमिकामा समेत अगाडि बढाएको छ', उनले भनिन्, 'गाउँमै उत्पादित खाद्यवस्तुको उपयोग गरी आयस्तर बढाउन पाएपछि यहीँबाट बसाइँसराइ जाने कुरा नै भएन।' यहीँ आम्दानी हुने भएपछि अन्यत्र जाने सोच यहाँका महिलामा आएको नपाएको उनको भनाइ छ। 

'ग्रीनहिल भिलेज होमस्टेले पाहुनालाई शान्त र प्राकृतिक वातावरणमा बस्ने अवसर दिएको छ, साथै यहाँका महिलालाई आर्थिक रूपमा आत्मनिर्भरतातर्फ सचेत गराएको छ', मगरले भनिन्, 'पाहुनाले पनि हाम्रो गाउँको मौलिकता र आतिथ्यताबारे राम्रो प्रतिक्रिया दिएका छन्। यसले हामीलाई थप ऊर्जा मिलेको छ, त्यसैले होमस्टेको सेवा थप मौलिक र आफ्नोपनको महसुस गर्नेगरी सेवा दिँदै आएका छौँ।'

होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन्। हालसम्म करिब दुई हजार ५०० पर्यटकलाई स्वागत गरेको घरबासका संस्थापक सदस्य गीता अधिकारी पाण्डेले बताइन्। 'पाहुना गाउँको रहनसहन, खाना र स्थानीय संस्कृतिबाट प्रभावित भएर फर्कनुहुन्छ', उनले भनिन्।

घरबासमा एक रात बास बसेएका सीएमसीमा अध्ययनरत छात्रा श्रेषा सुवेदीले यहाँको आथित्यताले अपनत्व महसुस हुने बताए। 'यहाँको चिसो हावा र रमणीय दृश्यले लोभ्याएको छ। यहाँको अधिकांश खानेकुरा नै अग्र्यानिक पायौँ', उनले भने, 'साँच्चै अग्र्यानिक खाना खान फेरि आउने धोको छ।'

घरबास सञ्चालनमा सहज बनाउने उद्देश्यले यहाँ आवश्यक पूर्वाधार पनि थपिँदै गएको छ। पाहुनालाई सञ्चालक समितिका सदस्यले पालैपालो गाउँ तथा वरपरका पर्यटकीय गन्तव्य घुमाउने, परम्परागत नाच देखाउने गर्छन्। गाउँमा पाहुना आउन थालेपछि गाउँ पनि सफा र चिटिक्क बन्दै गएको छ। यहाँ आउने पाहुनाले कृषि अवलोकन, प्राकृतिक सौन्दर्यको रूपमा रहेका जंगलमा विभिन्न चराचुरुंगीको आवाज सुन्न, सुन्दर सफा हावापानीमा रमाउन, चोककोट, गढीमाईसम्म हाइकिङ, चन्द्र झरना, शिवमन्दिर र चियाबारी पनि अवलोकन गर्न सक्छन्। 

यहाँबाट मनास्लु हिमालको सुन्दर दृश्य देख्न सकिन्छ। पृथ्वी राजमार्गअन्तर्गत पुरानो बजारका रूपमा रहेको डुम्रे बजारबाट डुम्रे-बेँसीसहर-चामे मोटर मार्गबाट करिब २० किलोमिटर यात्रा गरेपछि घरबासमा पुग्न सकिन्छ। रासस


प्रकाशित : आइतबार, असार १५ २०८२१०:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend