आइतबार, असार १५ गते २०८२    
आइतबार, असार १५ २०८२
images
images

आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउनेका परिवारले एक लाख डलर क्षतिपूर्ति पाउने विधेयकमा अर्थले दियो सहमति

images
आइतबार, असार १५ २०८२
images
images
आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउनेका परिवारले एक लाख डलर क्षतिपूर्ति पाउने विधेयकमा अर्थले दियो सहमति

संसदबाट पारित भएपछि कानून कार्यान्वयनमा आएसँगै आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउनेका परिवारले एक लाख डलर क्षतिपूर्ति पाउने छन्। अहिलेको कानूनअनुसार आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउनेका परिवारले २० हजार डलर क्षतिपूर्ति पाउने व्यवस्था छ।

images
images

काठमाडौं- आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउनेका परिवारले एक लाख डलर क्षतिपूर्ति पाउनेगरी बनेको विधेयकको मस्यौदामा अर्थ मन्त्रालयले सहमति दिएको छ।

images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मस्यौदामा रायसहित सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। मन्त्रालय स्रोतका अनुसार अर्थको रायसहितको सहमतिप्राप्त भएको र अबको साता नै रायका लागि कानून मन्त्रालय जाने छ। कानून मन्त्रालयको सहमतिपछि विधेयकको मस्यौदा मन्त्रिपरिषदमा जाने मन्त्रालय स्रोतको दाबी छ।

images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विधेयकको मस्यौदा तयार पारेको लामो समयमा भइसकेको छ। मन्त्रिपरिषदबाट अनुमोदन भएपछि विधेयक संसदमा दर्ता हुने छ।

images
images
images

संसदबाट पारित भएपछि कानून कार्यान्वयनमा आएसँगै आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउनेका परिवारले एक लाख डलर क्षतिपूर्ति पाउने छन्। अहिलेको कानूनअनुसार आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउनेका परिवारले २० हजार डलर क्षतिपूर्ति पाउने व्यवस्था छ।

क्षतिपूर्ति बढाउने गरी कानून निर्माणका लागि २०८० को फागुनमा मन्त्रिपरिषदले सैदान्तिक सहमति दिएको थियो। यती एयरको जहाज दुर्घटनापछि मन्त्रालयले तयार पारेको मस्यौदालाई मन्त्रिपरिषद्‍बाट पूर्वस्वीकृति लिने गरी प्रक्रिया अगाडि बढेको थियो। 

मन्त्रालयले तयार मस्यौदा राय सुझावका लागि यसअघि नै सार्वजनिक समेत गरिसकेको छ। आन्तरिक हवाई यात्रुलाई चोटपटक लागेमा, अंगभंग वा मृत्यु भएमा पाउने क्षतिपूर्तिको विषय मस्यौदामा उल्लेख छ।

यात्राको क्रममा बोर्डिङ चेक गरेपछि वायुयानभित्र जाने प्रक्रियाहरूमा वा यात्रा अवधिभर वायुयानभित्र रहँदा वा वायुयानबाट उत्रने क्रमका प्रक्रियाहरूमा कुनै दुर्घटना भइ चोटपटक लागेमा वा शारीरिक क्षति वा अंगभंग भएमा वा मृत्यु हुन गएमा सम्बन्धित वायुसेवा सञ्चालन संस्थाले क्षतिपूर्तिबापत एक लाख अमेरिकी डलर ब्यहोर्नुपर्ने गरी विधेयकको मस्यौदा बनेको छ।

मस्यौदामा वायुसेवा सञ्चालन संस्थाको यात्रु, ब्यागेज, तथा कार्गोसम्बन्धी दायित्व व्यवस्था गरिएको छ। हवाई यात्राको दौरान हुन सक्ने विलम्ब, यात्रा स्थगन, यात्रुलाई लाग्न सक्ने चोटपटक, अंगभंग वा मृत्यु तथा बायुयानबाट ओसारपसार गरिने मालसामानको ओसारपसारको क्रममा हुन सक्ने विलम्ब, मालसामान नष्ट हुने, हराउने वा बिग्रने अवस्था तथा तेस्राे पक्षमा क्षति पुग्न गएको अवस्थामा अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा मोन्ट्रियल महासन्धि १९९९, नेपालको संसदबाट अनुमोदन भइ कार्यान्वयनमा आइसकेको छ।

विश्वमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानमा संलग्न वायुसेवा संस्थाको दायित्वबीचको भिन्नता पनि साँघुरिँदै गइरहेको अवस्थामा सो महासन्धिसँग सामञ्जस्य हुने गरी आन्तरिक हवाई उडानहरूमा पनि क्रमबद्ध रुपमा लागु गर्न वाञ्छनीय भएकाले आन्तरिक वायुसेवाको दायित्व तथा बीमाको सम्बन्धमा उचित व्यवस्था गरी हवाई यात्रुको अधिकार सुनिश्चित हुने वातावरण तयार गर्दै हवाई सेवालाई भरपर्दो, विश्वसनीय, स्तरीय तथा जिम्मेवार बनाउन कानूनी व्यवस्था गर्न लागिएको विधेयकको मस्यौदामा उल्लेख छ।

मस्यौदामा वायु सेवा सञ्चालन संस्थाले वायुयानद्वारा यात्रा गर्ने प्रत्येक व्यक्तिको लागि टिकट जारी गर्नुपर्ने उल्लेख छ। यसैगरी विधेयकको मस्यौदामा हवाई भाडा उल्लेख गर्दा वायुसेवाले लिने रकम, विमानस्थल सेवा शुल्क तथा अन्य सरकारी निकायलाई बुझाउनुपर्ने रकम स्पष्ट उल्लेख गर्नुपर्ने पनि उल्लेख छ।

यसैगरी निर्धारित मिति र समयमा सुरक्षित यात्रा गराउनुपर्ने र उडान रद्द भएको अवस्थामा निर्धारित समयभन्दा कम्तीमा तीन घण्टा अगाडि सो उडानबाट यात्रा गर्न टिकट लिएका यात्रुलाई जानकारी गराउनुपर्ने विषय पनि समावेश गरिएको छ।

मस्यौदामा निर्धारित मिति र समयको उडानबाट यात्रा गराउन नसकेमा अर्को वायुसेवाको उडान उपलब्ध भएमा सो उडानबाट यात्रा गराउने वा यात्रुबाट कुनै थप रकम नलिई यात्रुलाई निजको गन्तव्य स्थानसम्म तत्काल यात्रा गराउन सकिने अन्य कुनै विकल्प भएमा सो अनुरुप यात्रा गराउने विषय पनि समावेश गरिएको छ।

यसैगरी विधेयकको मस्यौदामा यात्राको क्रममा यात्रुले आफैले साथमा लिएर जान पाउने गरी तोकिएका झोलाहरू बाहेक अन्य ब्यागेज यात्रुले विमानस्थलमा यात्राको लागि सम्बन्धित वायुसेवा सञ्चालन संस्थाको काउन्टरमा सम्पर्क गर्दाको अवस्थामा जाँचगरी वायुसेवा सञ्चालन संस्थाले आफ्नो जिम्मामा लिई सोको प्रमाणको लागि ब्यागेज ट्याग यात्रुलाई दिनुपर्ने विषय पनि उल्लेख छ।

गन्तव्य विमानस्थलमा पुगेपछि यात्रुलाई निजको ब्यागेज हस्तान्तरण विषय पनि मस्यौदामा समावेश गरिएको छ। यात्रु तथा सामान वायुयानभित्र रहेको अवस्थामा वा वायुयानभित्र प्रवेश गर्न वा स्थानान्तरण गर्दा वा वायुयानबाट बाहिर निस्कने वा स्थानान्तरण गर्दा वाहकको लापरबाहीको कारणले भएको प्रत्यक्ष हानीनोक्सानीको लागि मात्र वाहक जिम्मेवार हुने विषय समावेश गरिएको छ।

वायुसेवा सञ्चालन संस्थाले जिम्मा लिएको ब्यागेज हराएमा, नष्ट भएमा वा हानी नोक्सानी भएमा सो बापतको रकम त्यस्तो वायुसेवा सञ्चालन संस्थाले सम्बन्धित यात्रुलाई दिनुपर्ने विषय पनि मस्याैदामा उल्लेख छ। तर क्षतिपूर्ति माग गर्ने व्यक्तिको कारणबाट सामानमा नोक्सानी भएको प्रमाणित भएमा वाहकमाथि कुनै किसिमको दाबी नलाग्ने मस्यौदामा उल्लेख छ।

जाँच गरिएका सामानमा कुनै हानीनोक्सानी भएमा प्रति किलोग्राम अधिकतम २० अमेरिकी डलरको दरले कुल अमेरिकी डलर पाँच हजारको सीमा ननाघ्ने गरी सो बराबरको नेपाली रूपैयाँमा मात्र वाहकको दायित्व हुने मस्यौदामा उल्लेख छ।

विधेयकको मस्यौदामा उल्लेख गरिएका थप केही विषयहरू :

 - यात्रुले वायुयानभित्र आफूसँगै लगेको वा राखेको तर जाँच नगरिएको सामानमा कुनै हानीनोक्सानी भएमा अधिकतम अमेरिकी डलर चारसय बराबर हुने नेपाली रूपैयाँको हदसम्म मात्र  बाहकको दायित्व हुने।

 - वायुसेवा सञ्चालन संस्थाले प्रेषकबाट कार्गो बुझिलिँदा कार्गोको सामान्य प्रकृति, प्रमुख चिन्ह, पोका वा थानको संख्या, तौल वा परिमाण बुझी लिएको कार्गोसँग मेल खाने यस्तै व्यहोराको सम्बन्धमा कैफियत जनाई कार्गो लिने।

 - वायुसेवा सञ्चालन संस्थाले प्रेषकबाट ढुवानी करार बमोजिम कार्गो बुझिलिएपछि प्रापकलाई हस्तान्तरण नगरेसम्म त्यस्तो कार्गो उपरको सम्पूर्ण दायित्व वायुसेवा सञ्चालन संस्थाको हुने।

- कार्गो ढुवानीको सिलसिलामा वायुसेवा सञ्चालन संस्था वा निजको कर्मचारी वा निजको प्रतिनिधिबाट हुन गएको कुनै पनि कार्य प्रति वायुसेवा सञ्चालन संस्था स्वयं जवाफदेही हुने।

- वायुयानको दुर्घटना वा अन्य कुनै कारणबाट तेस्राे पक्षलाई हुन सक्ने हानीनोक्सानीको सम्बन्धमा वायुसेवा सञ्चालन संस्थाको दायित्वको न्यूनतम सीमा देहाय बमोजिम हुने मस्यौदामा उल्लेख छ।

क) १०००० केजी वा सो भन्दा कम तौल भएको वायुयानको हकमा २५ मिलियन अमेरिकी डलर बराबरको रकम।

ख) १०००१ केजी देखि ३५००० केजी सम्म तौल भएको वायुयानको हकमा ३५ मिलियन अमेरिकी डलर बराबरको रकम।

ग) ३५००१ केजी देखि माथि जतिसुकै तौल भएको वायुयानको हकमा ६० मिलियन अमेरिकी डलर बराबरको रकम।


प्रकाशित : आइतबार, असार १५ २०८२१०:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend