काठमाडौं- ग्लोबल आईएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल हाटबजारको २५औँ हप्ता मनाएको छ।
बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो।
बैंकले शुक्रबार अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा हाटबजार २५औँ हप्तामा प्रवेश गरेको अवसर पारेर आफ्नो हाटबजारमा विशेष मेला आयोजना गरेको थियो।
'उद्यमीको उत्पादन, ग्लोबल आईएमईको प्रोत्साहन' भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीहरुले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौँको कमलादी शाखामा हरेक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ।
अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा हाटबजारको २५औँ हप्ता प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले मुलुकको अर्थतन्त्रमा लघु, साना तथा मझौला व्यवसायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै हाटबजारले त्यस्ता उद्यम व्यवसायको प्रवर्द्धनमा विशेष योगदान पुर्याउने बताए।
उनले हाटबजारले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्याइरहेका लघु, साना तथा मझौला उद्यमहरुको बजारमा पहुँच विस्तार गर्न, कृषक र उपभोक्ताबिच प्रत्यक्ष सम्बन्ध बनाउन र कृषकलाई आफ्नो उत्पादनको उचित मूल्य प्रदान गर्न सहयोगी भूमिका खेलेको बताए।
साथै उनले हाटबजारले अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै बजारीकरण गर्न सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गरेको बताए।
हाटबजारमा विषादी रहित कृषि उपज, रैथाने बाली तथा सो अनुरुपका बालीका उत्पादन, स्थानीय स्रोतको उपयोग गरी उत्पादन गरिएका हस्तकला सामग्री, सजावटमा प्रयोग हुने बिरुवा लगायतका दुई दर्जन बढी कृषक तथा व्यवसायीहरुका उत्पादन सामग्रीहरु प्रदर्शन तथा बिक्रीका लागि राखिएको छ।
आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो। साथै ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ।
ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।