काठमाडौं- ‘सिटिजन्स सदाबहार योजना’ शुक्रबारदेखि बिक्रीमा आएको छ। सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित खुलामुखी योजनाको कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल र योजना व्यवस्थापक तथा डिपोजिटरी सिटिजन्स क्यापिटल रहेको छ।
योजनाको प्रतिइकाइ १० रुपैयाँका दरले पाँच करोड इकाइ बिक्रीमा आएको छ। कुल पाँच करोड इकाइमध्ये ७५ लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको कम्तीमा १५ प्रतिशत इकाइ सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी चार करोड २५ लाख इकाइ सार्वजनिक निष्कासनका लागि छुट्याएको छ।
लगानीकर्ताले न्यूनतम १०० र अधिकतम ५० लाख इकाइको माग गरी १३ असारसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्म सम्पूर्ण इकाइ बिक्री नभएमा २७ असारसम्म म्याद थप हुने जनाइएको छ।
खरिदकर्ताले मेरो सेयर खाता वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन् । साथै यस योजनाको प्रथम चरणमा निष्कासित इकाइ बाँडफाँटपश्चात् एसआइपीमार्फत थप इकाइ निष्कासन गरिने पनि बताइएको छ।
सिटिजन्स म्युचुअल फन्ड-१ को अवधिभरमा पुँजीगत लाभ तथा विगतका आर्थिक वर्षमा वितरण गरिएको प्रतिफलसमेत प्रतिइकाइ लगानीको औसत वार्षिक प्रतिफल १२ प्रतिशत रहेको छ।
भौतिक रुपमा इकाइ धारण गरी हालसम्म पनि अभौतिकीकरण नगराएका इकाइधनीहरुले रकम फिर्ता भुक्तानी (प्रतिफलसमेत) प्राप्त गर्नका लागि सिटिजन्स क्यापिटल लिमिटेडमा वास्तविक तीनपुस्ते विवरण तथा आफ्नो खाता रहेको बैंकको नाम, खाता नम्बर र हितग्राही खाता नम्बर स्पष्टसँग उल्लेख गरी निवेदन पेश गर्न अनुरोध गरिएको जनाइएको छ।
आफ्नो इकाइ धितोमा राखी कर्जा सुविधा उपभोग गरेका इकाइधनीहरुले सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट धितो राखेको इकाइको संख्यासमेत खुल्ने गरी फुकुवापत्र सिटिजन्स क्यापिटल लिमिटेडमा पेश गरेपश्चात इकाइधनीको हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिने जनाइएको छ।
साथै विगतका आर्थिक वर्षहरुमा वितरण गरेको प्रतिफलसमेत हालसम्म विभिन्न कारणबस प्राप्त गर्न नसकेका इकाइधनीहरुले आआफ्नो डिम्याट खातामा बैंक खाता नम्बरसमेत अद्यावधिक गराउन भनिएको छ।
सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ।
नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा विभिन्न उद्योगी व्यवसायीहरुको सहलगानी रहेको छ।
काठमाडौं बाहिरका लगानीकर्ताहरुले पुँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भइ लगानी गर्न समस्या रहेको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समूहबाट सेवा प्रदान गर्दै आएको जनाएको छ।