बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

पर्यटकलाई लोभ्याउँदै पोखराको ‘असारे रोपाइँ महोत्सव’

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार १२ २०८२
images
images
पर्यटकलाई लोभ्याउँदै पोखराको ‘असारे रोपाइँ महोत्सव’

'पोखराको पर्यटनमा अफ सिजनका रूपमा रहेको यो समयमा गर्ने गरिएको असारे रोपाइँ महोत्सवले केही दिनका लागि यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाइँ लम्ब्याउन सहयोग पुर्‍याएको छ।'

images
images

गण्डकी- विशेषतः जुन, जुलाई र अगस्टलाई पोखरामा पर्यटकको बेमौसम (अफ सिजन)का रूपमा लिने गरिएको छ। यो समयमा मनसुनजन्य गतिविधि बढ्ने भएकाले पर्यटकको आगमन कम हुने गर्दछ। 

images
images

यो यामलाई लक्षित गरी पोखरा आयोजना हुँदै आएको असारे रोपाइँ महोत्सव यतिखेर पर्यटकलाई आकर्षित गर्ने महत्त्वपूर्ण गतिविधि बनेको छ।

images
images

‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ प्रत्येक वर्षको असार १५ गते पोखरा पर्यटन परिषद्ले गर्दै आएको असारे रोपाइँ महोत्सव यस वर्षसम्म आइपुग्दा २०औँ संस्करणमा पुगिसकेको हो।

images
images
images

परिषद्ले विसं २०६१ देखि बर्सेनि असारे रोपाइँ महोत्सव गर्दै आएको हो। प्रत्येक वर्षको वार्षिक कार्यक्रममा समावेश गरेर पोखराका पर्यटनसम्बद्ध संस्थाको छाता सङ्गठन परिषद्ले गर्दै आएको यो महोत्सव पोखराको महत्त्वपूर्ण पहिचान बनिसकेको परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए।

'पोखराको पर्यटनमा अफ सिजनका रूपमा रहेको यो समयमा गर्ने गरिएको असारे रोपाइँ महोत्सवले केही दिनका लागि यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाइँ लम्ब्याउन सहयोग पुर्‍याएको छ', उनले भने।

पछिल्ला वर्षमा यही महोत्सवलाई लक्षित गरी आएका पर्यटकको बसाइँ बढ्नुका साथै यहाँ आउनेक्रम पनि बढ्दै जान थालेको यहाँका पर्यटन व्यवसायी बताउँछन्।

परिषद्ले हरेक वर्ष पोखरा क्षेत्रका विभिन्न ठाउँमा रोपाइँ महोत्सव गर्दै आएकामा यस वर्ष हुने २०औँ संस्करण पोखरा महानगरपालिका-२६ स्थित लेखनाथको गुँदेताल (तालबेँसी) क्षेत्रमा गरिने परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए। उनका अनुसार परिषद्को आयोजनामा हुने यस महोत्सवको स्थानीय संयोजन शान्तिप्रेमी आमा समूहले गरेको छ।

महोत्सवबाट पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा थप टेवा पुग्नुका साथै पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउने, नेपालको परम्परागत कृषि प्रणाली तथा उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने, गुँदेताल र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नेलगायत उद्देश्य राखिएको उनले बताए।

महासचिव सापकोटाका अनुसार महोत्सवमा हिले दौड, रोपाइँ प्रतियोगिता, हिलोमा माछा छोप्ने प्रतियोगितासँगै उत्कृष्ट कृषक सम्मानलगायत विभिन्न कार्यक्रम राखिएको छ। महोत्सवमा विभिन्न देशका करिब २५० जना विदेशी पर्यटकसँगै स्वदेशी पर्यटकको उल्लेख्य उपस्थिति रहने उनले जानकारी दिए।

'पर्यटनको बेमौसमका रूपमा रहेको यस समयमा गर्दै आइएको महोत्सवले केही न केही पर्यटकको आगमन बढाएको छ', उनले भने, 'यही रोपाइँ महोत्सवलाई लक्षित गरेर यहाँ बसिरहेका पर्यटकले आफ्नो बसाइँलाई केही दिन लम्ब्याउने गरेका पर्यटन व्यवसायीबाट जानकारी प्राप्त भएको छ।' असारे रोपाइँ महोत्सव पर्यटनको बेयामका समयमा पनि उपयोगी बन्दै गएको उनले बताए।

यस संस्करणको महोत्सवको प्रवर्द्धकका रूपमा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड रहेका छन् भने पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नं २६ को कार्यालय र लेखनाथ उद्योग वाणिज्य संघले सहकार्य गरेका छन्। 

महोत्सवले गुँदे तालसहित समग्र लेखनाथ क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको पोखरा-२६ का वडाध्यक्ष नरेन्द्र थापाले बताए। रासस 


प्रकाशित : बिहीबार , असार १२ २०८२१३:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend