काठमाडौं- पाँच दशकदेखि सञ्चालनमा आएको 'द मल्ल होटल'ले अन्तत: पाँचतारे प्रमाणपत्र नवीकरणका लागि वातावरणीय प्रभाव मूल्यांकन गरेको छ।
मल्ल होटललाई वन तथा वातावरण मन्त्रालयले २०८१ भदौमा वातावरणीय प्रभाव मूल्यांकन नगरेको भन्दै कारबाही गरेको थियो।
वातावरण संरक्षण ऐन २०७६ र वातावरण नियमावली २०७७ अनुसार होटलले वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने व्यवस्था छ। मल्ल होटलले २०८१ भदौसम्म वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार नगरेको भन्दै वन तथा वातावरण मन्त्रालयले जरिवाना गरेको थियो।
मन्त्रालयको कारबाहीका साथै अहिले पाँचतारे प्रमाणपत्रका लागि पनि वातावरणीय प्रभाव मूल्यांकन तयार गरेको मल्ल होटलले स्वीकार गरेको छ।
मल्ल होटलले तयार गरेको रिपोर्ट राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ। होटल २०३२ सालमा दर्ता भएको थियो। तत्कालीन समयमा रमाकुमारी मल्लले होटल दर्ता गराउँदै सञ्चालनमा ल्याएकी थिइन्।
स्थापना कालमा होटलले चारतारेको मान्यता पाएको थियो। होटललाई २०७६ भदौमै पाँचतारे प्रमाणपत्र दिइएको थियो। तर पछि वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य भएपछि होटलको पाँचतारे नवीकरण रोकिएको थियो।
होटल स्थापना कालमा ७५ कोठमा सञ्चालन भएको थियो। सन् १९९५ मा मर्मत र विस्तार हुँदा होटलमा १ सय १९ कोठा तथा १ सय ७५ बेड बनाइएको थियो।
मल्ल होटलमा बेन्क्वेट हल, कन्फेरेन्स हल, मिटिङ हल, ज्याकुजी, स्पा, स्टीम, साउना, मसाज, फिटनेस सेन्टर, स्विमिङ पुलको सुविधा छ।