काठमाडौं- इरान-इजरायलबीच चलिरहेको युद्धका कारण हवाई उडान असुरक्षित बनेको छ। आकाशमार्गमा ड्रोन तथा क्षेप्यास्त्र हमला भइरहँदा एयर स्पेस असुरक्षित बन्दै गएका कारण पाइलटहरू मानसिक तनावमा पर्न थालेका छन्।
नेपाल एयलाइन्सका वरिष्ठ पाइलट क्याप्टेन विजय लामा पनि आफ्नो ४० वर्षे उडान जीवनमा कहिल्यै नभोगेको परिस्थिति अहिले भोग्नु परेको सुनाउँछन्।
'खुला आकाश अहिले साँघुरिएको छ। हामीले चिनेको आकाश अब अनिश्चित दिशामा लागिरहेको छ। यस्तो समय मैले करिब ४० वर्षे उडान जीवनमा कहिल्यै भोगेको थिइनँ,' क्याप्टेन लामाले भने।
हाल इरान-इजरायलबीच चर्किएको युद्ध र त्यसमा अमेरिका, कतार, युएईजस्ता मुलुकहरू समेत तानिँदा एयर स्पेस नै असुरक्षित बन्दै गएको छ। कतिपय मुलुकले आफ्नो आकाशमार्ग पूर्णरूपमा बन्द गरेका छन्।
केही समययता जारी द्वन्द्व मंगलबारदेखि भने केही शान्त भएको आँकलन गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्ध स्थगित हुने संकेत गरिरहेका छन्। तर आगामी दिनमा के हुन्छ अझै यकिनसाथ भन्न सकिने अवस्था छैन।
यो द्वन्द्वको साक्षी बनेका क्याप्टेन लामा पनि यो परिस्थितमा विचलित देखिन्छन्। 'जताततै युद्ध छ, कता कहिले हवाइ मार्ग बन्द हुन्छ भन्ने यकिन छैन। हामीले जहिल्यै प्रयोग गर्ने आकाशमार्गहरू अचानक बन्द हुन्छन्, नयाँ रुटमार्फत घुमेर जानुपर्ने हुन्छ,' उनी भन्छन्, 'अनि मौसमसमेत खराब हुन थालेपछि पाइलटलाई मानसिकरूपमा असाध्यै सन्तुलित रहनुपर्ने अवस्था आएको छ।'
पछिल्लोपटक इजरायलले सिरियाको दमास्कसस्थित इरानी कन्सुलेट भवनमाथि हवाई हमला गर्यो। जसमा इरानका वरिष्ठ सैन्य अधिकारीहरू मारिए। त्यसपछि इरान युद्धमा होमियो।
इरानले त्यसको जवाफस्वरूप इजरायलमाथि ड्रोन र क्षेप्यास्त्रहरू प्रहार गर्यो। तीमध्ये धेरै रोक्न सफल भए पनि तनावले युद्धको रूप लियो। सोमबार राति इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि मिसाइल प्रहार गर्दा युएई र कतारले आफ्नो सम्पूर्ण हवाई क्षेत्र बन्द गरिदिए। त्यतिबेलैदेखि विश्वभरका हवाई उडान प्रभावित भए। जसको प्रत्यक्ष असर हवाई यात्रु र पाइलटमा पनि पर्यो।
'यस्तो बेला यात्रुहरू सोच्न सक्छन्, पाइलटहरू आतंकित त भएका छैनन्? तर हामी यस्तो परिस्थितिमा तालिमप्राप्त छौँ' उनले भनेका छन्।
विमान चालकको पेसा आफैमा जोखिमपूर्ण हुन्छ तर त्यो जोखिम सामना गर्न सक्ने मानसिक, प्राविधिक र निर्णयात्मक क्षमता आफूहरूमा हुने लामा बताउँछन्।
'कहिलेकाहीँ एकछिनमै निर्णायक निर्णय लिनुपर्ने हुन्छ, त्यस्ता थुप्रै अवसरहरू आएका छन्। भगवानको कृपा, हाम्रो नलेज र टिमवर्ककै कारण अहिलेसम्म सबै निर्णय ठीक गरेका छौँ,' उनले भने।
क्याप्टेन विजय लामा, जसले सन् १९८५ मा पाइलट पेसा सुरु गरे। सन् १९८८ देखि नेपाल एयरलाइन्समार्फत अन्तर्राष्ट्रिय सेवा दिइरहेका छन्। अहिलेको अवस्था आफ्नो करिअरकै सबैभन्दा जोखिमपूर्ण भएको उनी बताउँछन्।
अहिले नेपालमा ठूलो जहाज एयरबस ३३० जहाज उडाउन सक्ने चारजना पाइलटमध्ये एक क्याप्टेन लामा हुन्। उनले हङकङ, अस्ट्रेलिया, जापान, बेलायत, सिंगापुर, अफ्रिका, जर्मनी, इजरायललगायत २० भन्दा बढी देशहरूमा विमान उडाएका छन्।
'आजको संसारमा युद्ध एकै ठाउँमा सीमित हुँदैन। त्यो आकाश हुँदै सारा संसारमा असर पुर्याउँछ। अहिले हामीले आकाशमाथिको युद्धको असर प्रत्यक्ष भोगिरहेका छौँ,' क्याप्टेन लामाले भने, 'तर हाम्रो सेवा अनवरत रूपमा जारी छ। हामी तालिमप्राप्त छौँ, सतर्क छौँ र यात्रुहरूको सुरक्षालाई केन्द्रमा राखेर हरेक निर्णय गरिरहेका छौँ।'